0
गोल्डेन न्यूज संवाददाता
गत वैशाखमा पोखरामा सम्पन्न लायन्सको महाधिवेशनबाट आयोजकले कति कमायो होला ? धेरै ले अनुमान गरेका थिए–‘१० देखि २० लाख आम्दानी ।’ तर त्यो सोचाई गलत सावित भयो । लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालको गत वैशाख ४ गते पोखरामा सम्पन्न महाधिवेशन बाट आर्थिक रुपमा घाटा भएको छ। महाधिवेशन आयोजक दुई संस्था लायन्स क्लव अफ पोखरा सेती गण्डकी र गोल्डेन चौतारीले महाधिवेशन सम्पन्न भएको ५६ दिनपछि आइतबार आय–व्यय सार्वजनिक एवं समीक्षा गर्दै महाधिवेशनबाट आर्थिक घाटा भएको उल्लेख गरेको छ । महाधिवेशनका लागि ८५ लाख ८३ हजार ५०० आम्दानी गरेको आयोजकले ८३ लाख ७७ हजार १४५ रुपैयाँ खर्च गरेको छ । महाधिवेशनबाट २ लाख ६ हजार ३५५ रुपैयाँमात्र आम्दानी गरेको जनाएको छ । उक्त आम्दानी पनि अनुमानित हो । किनकि आम्दानी रकम मध्ये ४ लाख ६५ हजार रुपैयाँ उठ्न बाँकी छ भने २ लाख ८५ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ । उठ्न बाँकी रकम शतप्रतिशत् उठेमात्र २ लाख ६ हजार रुपैयाँ आम्दानी हुनेछ, रकम पूरै उठ्ने सम्भावना ज्यादै न्यून छ । महाधिवेशनका लागि मूल आयोजक समितिका संंयोजक दिनबन्धु पौडेल आफैले ५ लाख रुपैयाँ दिएर पनि महाधिवेशनबाट घाटा भएपछि अग्रज लायन्सहरु आश्चर्यमा पर्नुका साथै आशंका गरेका छन् । महाधिवेशनमा ८५ लाख बढी आम्दानी हुँदा समेत घाटा हुनु विडम्वना भएको अग्रज लायन्स ध्रुव श्रेष्ठ बताउँछन् । उनी भन्छन्–‘महाधिवेशनको व्यवस्थापनमा खासै खोट लगाउने ठाउँ छैन तर यति ठूलो रकम संकलन हुँदा समेत घाटा देखिनुले आशंका गर्ने ठाउँ छ ।’ ‘हामीले १० देखि २० लाख रुपैयाँसम्म आम्दानी होला भन्ने अनुमान गरेका थियौं तर संयोजक आफैले ५ लाख रुपैयाँ हालेर पनि घाटा देखाइएको छ, यसले पक्कै पनि सन्तुष्ट हुने ठाउँ छैन ।’ आय–व्यव सार्वजनिक गर्दाको विवरण पनि त्रुटिपूर्ण रहेको उनले बताए । यस्तै डिष्ट्रिक्ट एड्भाइजर राम बसेलले पनि महाधिवेशनबाट आर्थिक घाटा देखिनु चिन्ताको विषय भएको भन्दै आगामी दिनमा यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बताउँछन् । उनी भन्छन्–‘यति ठूलो रकम खर्च हुँदा समेत घाटा देखिनु विडम्वना हो र अबका दिनमा मितव्ययी हुन आवश्यक छ ।’ अबका दिनमा कार्यक्रम गर्दा मितव्ययी अपनाउनुपर्ने र कार्यक्रमको समयावधि पनि घटाउनुपर्ने उनको सुझाव छ । पिएमसिसि प्रेम बहादुर श्रेष्ठले संयोजकले नै ५ लाख रुपैयाँ खर्च गरेकोमा आपत्ति प्रकट गरे । उनले भने–‘संयोजकले नै यति ठूलो रकम खर्च गर्नु भविष्यका लागि नराम्रो नजिर हुन्छ, भविष्यमा संयोजक बन्नेका लागि समस्या हुन सक्छ ।’ आर्थिक घाटा जे जस्तो भएपनि महाधिवेशनको व्यवस्थापन प्रशंसायोग्य भएको उनले स्पष्ट पारे । डिष्ट्रिक्टका सेकेण्ड भिडिजि धनराज आचार्यले आयोजक किमिटी प्रति तीव्र असन्तुष्टि जनाए । उनले आर्थिक सम्बन्धित विषयमा केही नबोले पनि समीक्षा बैठक ढिलो राखेकोमा नै तीव्र असन्तुष्टि जाहेर गरे । उनले भने–‘१ हप्तामा राखिनुपर्ने समीक्षा बैठक ५६ दिनपछि राखिएको छ, सबै कुरा बिर्सिसक्यो, अब महाधिवेशनको समीक्षा कसरी गर्ने ?’ उनले महाधिवेशन आयोजना गर्दा २ वटा होइन एउटामात्र संस्थालाई जिम्मेवारी दिनुपर्ने सुझाव दिए । डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले आर्थिक पाटो जे जस्तो भएपनि महाधिवेशन सफल र भव्य रुपमा सम्पन्न भएको दावी गरे । उनले भने–‘महाधिवेशनले आम्दानी गर्न नसकेपनि लायन्सको जून गुणस्तर हो त्यो गुणस्तरलाई धेरै माथि पु¥याएको छ । यसैका कारणले त लायन्सका लिडरहरु पोखरा आएक छन् ।’ उनले महाधिवेशनको बारेमा अनावश्यक टिप्पणी गर्नु भन्दा सकारात्मक सोंचका साथ अघि बढ्नुपर्नेमा उनको जोड छ । कार्यक्रममा कार्यक्रम संयोजक दिनवन्धु पौडेल, डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्य, पिएमसिसि दीपक श्रेष्ठ, अग्रज लायन्स तीर्थलाल श्रेष्ठ, विष्णु श्रेष्ठ, लियो बुद्ध गुरुङ, महाधिवेशनकी कोषाध्यक्ष प्रीति श्रेष्ठ, सचिव किशोर बराल लगायतले महाधिवेशनको समीक्षा गरेका थिए । लायन्सको महाधिवेशनका लागि सदस्य दर्ता शुल्कबाट सबै भन्दा धेरै आम्दानी भएको छ । सदस्यता दर्ता शुल्कबाट ४२ लाख २५ हजार ५०० रुपैयाँ आम्दानी भएको छ भने लियो प्रतिनिधि सदस्यता दर्ता शुल्कबाट १ लाख ६८ हजार ७५० रुपैयाँ आम्दानी गर्न सफल भएको आयोजक समितिले जनाएको छ । यसैगरी स्मारिका प्रकाशनबाट १० लाख ३० हजार ७५० रुपैयाँ आम्दानी भएको छ । महाधिवेशनका लागि मूल संयोजक दिनवन्धु पौडेलले ५ लाख, फष्ट भिडिजी बालकृष्ण बुर्लाकोटी र सेकेण्ड भिडिजि धनराज आचार्य र डिष्ट्रिक्ट एड्भाइजर अशोकुमार श्रेष्ठले जनही ३÷३ लाख, डिष्ट्रिक्टले १ लाख र सह–संयोजक सुचित्रा थापाले पनि १ लाख रुपैयाँ सहयोग गरेको बताइन्छ । खर्चतर्फ सबै भन्दा बढी व्यवस्थापनमा २५ लाख रुपैयाँ खर्च भएको छ भने १५ लाख रुपैयाँ खानामा भएको आयोजकले जनाएको छ । यस्तै स्मारिका प्रकाशनका लागि ९ लाख ५० हजार, किट व्यागका लागि ४ लाख ४२ हजार, फ्लेक्ट प्रिन्टमा ३ लाख ६६ हजार, विविध खर्चमा १ लाख ५२ हजार रुपैयाँ र समीक्षा बैठका लागि २ लाख ५० हजार रुपैयाँ र पत्रपत्रिकाका लागि ७१ हजार ५०० रुपैयाँ खर्च भएको आयोजक समितिले जनाएको छ ।

Post a Comment

 
Top