0
यसपटक पनि विगत वर्षहरुमा जस्तै एसएलसीको परीक्षा परिणाम सार्वजनिक हुनासाथ विद्यार्थीहरु आफ्नो भविष्यको लक्ष्य र सपना साकार पार्न अनुकूलका विषयहरु रोजेर राम्रा र गुणस्तर दिन सक्ने कलेजको छनौट गर्दैछन् । विद्यार्थी जीवनमा धेरै ठूला महत्वाकांक्षाहरु पाल्ने गर्दछन् विद्यार्थीहरु र यसपटक पनि डाक्टर, इन्जिनियर बन्न चाहनेहरु आफ्नो ग्रेडिङअनुसार विषय छनौट गरेर पढ्न अभिभावक र शिक्षकहरुसँग परामर्श लिनेक्रम पनि जारी रहेको छ। लामो समयदेखि नेपाली समाजको मध्यम वर्ग र सम्भ्रान्त वर्गले पनि डाक्टर वा इन्जिनियर बनाउने सोच बनाएका हुन सक्छन् । तर कसैले पनि आफ्ना सन्तानलाई शिक्षक, प्राध्यापक, भूगोलविद्, दार्शनिक र समाजशास्त्री बनाउँछु भनेको सुन्न पाइएको छैन । यस्तै कुशल राष्ट्रसेवक, कानुनविद् र पत्रकार बनाउँछु भन्नेहरुको संख्या अत्यन्त न्यून छ । अब के प्रश्न उठ्नु स्वाभाविक हुन्छ भने डाक्टर र इन्जिनियर नै यो समाजका ठूला मानिस हुन् कि होइनन् ? भन्ने । हामीलाई लाग्छ, उनीहरुलाई ठूला मानिसको गरूंगो भारी बोकाउन मिल्दैन । राम्रो शिक्षा पाएर असल नागरिक बन्नसक्ने कुरामा भने कसैको पनि दुईमत हुनेछैन । यो यौटा प्रश्नमा समाज स्पष्ट हुनु जरूरी हुन्छ कि हामी आफ्ना लागि बाँच्ने र लाखौँ कमाउनेतर्फ जीवनलाई धकेल्ने कि समाज र राष्ट्रको असल नागरिक बनेर आफ्नोभन्दा पनि अरुका लागि बाँचेर अधिकतम आफ्नो जीवनलाई सेवामुखी बनाउने ? बोराभरि नोटको बिटा सिरानी हालेर सुत्ने व्यापारीहरु त्यो नोटको बोरा हराउला भन्ने ठूलो चिन्ताले रातभरि सुत्न पाउँदैनन् । अर्कोतर्फ, समाज र राष्ट्रका लागि जीवन समर्पित गर्ने महान् व्यक्तिहरु आफ्नो जीवनकालमा मात्र नभएर हजारौँ वर्षसम्म चिरस्मरणीय रहने गरेका छन् । महामानव गौतम बुद्धदेखि लिएर महात्मा गान्धी र नेल्सन मण्डेलाजस्ता व्यक्तिहरु अन्तर्रा्ष्ट्रियस्तरमा अहिलेसम्म चर्चित हुँदै आएका छन् । नेपालमै पनि आदिकवि भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि लिएर राजनीतिको माध्यमबाट देशको सेवा गर्ने बीपी कोइराला, पुष्पलाल आदिको नाम लामो समयसम्म पनि नेपाली मन–मस्तिष्कमा ताजै रहेको छ । विद्यार्थी जीवनमा आफ्नो रूचि र दक्षताअनुसारको विषय लिएर अध्ययन गर्ने र डिग्री प्राप्त गरेपछि आफ्नो आधारभूत आवश्यकता पूरा गर्दै समाजका विपन्न, अपाङ्ग, असहाय र अनाथ बालबालिकाका लागि बाँकी जीवन लगानी गर्नु अत्युत्तम ठहरिने छ । समाजमा आफ्ना लागिमात्र बाँच्ने त करोडौँ छन्, तर उनीहरु चर्चामा आउँदैनन् र इतिहास निर्माणका हकदार पनि बन्न सक्तैनन् । डाक्टर र इन्जिनियरहरुमध्ये नेपालमा अत्यन्त कम व्यक्तिले मात्र नाम कमाएका छन् । दाममात्र कमाउनेहरु धेरै हुन सक्छन्, तर तिनलाई समाजले श्रद्धा र सम्मान व्यक्त गर्न कर लाग्दैन । महान् व्यक्तिहरुको भनाइ पनि यही छ कि ठूलो मानिस होइन, तिमी असल मानिस बन्नुपर्छ । शिक्षाले नैतिकताको सन्देश व्यक्तिको अन्तरहृदयसम्म पुग्ने गरी प्रवाहित गर्न सक्नुपर्छ । अनिमात्र, त्यस्तो शिक्षालाई सफल भएको मान्न सकिन्छ । अन्यथा, दिनरात क्लिनिकमा बिरामीको नारी समातेर पैसा बटुल्ने चिकित्सक र ठूला–ठूला योजनाहरुको प्राविधिक मूल्याङ्कन गर्दा लाखौँ रकम घूस खाने इन्जिनियरहरु अब हाम्रो देशलाई चाहिएको छैन । तसर्थ, कलेजमा जुन विषय लिएर पढे पनि नैतिकता, अनुशासन, सदाचार, समाजसेवा र राष्ट्रप्रेम गर्नसक्ने भावी कर्णधारहरु मात्र नेपाल आमाले देख्न चाहिरहेकी छिन् भन्ने कुरा अहिले कलेजमा जान लागेका विद्यार्थीहरुले कदापि बिर्सनु हुँदैन ।







Post a Comment

 
Top