0
विश्वकर्मा अध्ययन तथा ज्ञान प्रचार मण्डलद्वारा आयोजना गरिदै आएको धर्मिक कार्यक्रमको तेस्रो श्रृंखला श्रीमद् भागवत तथा विश्वकर्मा पुराण वाचन कार्यक्रम दिग्दर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाले वाचन गर्दै विश्वकर्मा मन्दिरमा सम्पन्न भएको छ । श्रीमद्भागवत गीतामा उल्लेख भएका सिद्धान्त संहिताहरु मानव जीवनमा लागू गर्न सके मात्र जीवन अतिउत्तम हुन्छ । पुराणमा भनिएका कुराहरु हामीले सकल जीवनमा उतार्न सकिरहेका छैनौं र दुःख पाइरहेका छौं । आज मानवको जीवन रित्तिई खोक्रो भइरहेको छ । सत्य त्रेता र द्वापर युगमा भगवान विश्वकर्माले सृष्टिमा रहेका देवी देवता, ब्राह्मण, राजामहाराजा सबैको लागि उनीहरुको आवश्यकता अनुसारका आवास, भवन, वास्तुशास्त्र अनुसार निर्माण सम्पन्न गरी वास्तुविद्का रुपमा कार्य गरेका थिए । देवी देवताहरुलाई दिव्य गरगहना, क्षेत्रीयहरुलाई हातहतियार निर्माण गरी त्यतिबेलाका यातायातका साधन वायुवाट चल्ने पुष्पक विमान निर्माण गरी शिल्पाचार्य वैज्ञानिक देवशिल्पी कहलाएका थिए । धेरै युगसम्म उनका निर्माण कार्यहरुको हामीले हेक्का राखेनौं र बल्ल अहिले विस्तारै वास्तुशास्त्र र अन्य शास्त्रहरुको खोजी भइरहेको छ । पक्कै पनि त्यस्ता विश्वकर्माको खोजविन र उनको दिव्य सत्कर्मको हामीले अनुशारण गरिरहनु पर्दछ । धर्ममा वा धार्मिक वेद पुराणमा कहिँ कतै जातीय भेदभाव नभएको र यो भेदभाव मानव निर्मित भएकोले मानवले नै सुधार गर्नुपर्ने त्यसका लागि वैदिक आचरण सबैले पालना गर्नुपर्ने बताए । मातृशक्ति ज्ञानको कलश, ज्ञानको खानी भएको हुँदा अगाडि बढी संस्कृति संरक्षणमा लाग्नुपर्ने कुरा लयबद्ध तरिकाले बताए। श्रीमद्भागवत वाचन कार्यक्रममा सभाध्यक्ष बमबहादुर विश्वकर्माले संस्थाको उद्देश्य, धार्मिक, आध्यात्मिक र सामाजिक रुपमा पछाडि रहेका व्यक्तिहरुलाई शास्त्रीय ज्ञानको कमी रहेको र ज्ञान विना जीवन सफल हुन सक्दैन भनि यस्ता कार्यक्रम संचालन गरिरहेको बताए । कार्यक्रममा उपस्थित अतिथिगण एवं भक्तजनहरुलाई स्वागत गर्दै भागवतको नाम नजपी कोही सफल नहुने भन्दै असल संस्कार सिक्नु र सिकाउनुपर्ने उपाध्यक्ष पूर्ण बहादुर विश्वकर्माले बताए। मण्डलका सचिव चन्द्रकिशोर गौतमले समाज विकासका लागि शास्त्रीय ज्ञानको महत्वपूर्ण पाटो रहेको हुँदा त्यस्ता ज्ञाको खोजी गरी प्रचार–प्रसार गर्ने मण्डलको आवश्यकता रहेको र यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन हुने जानकारी दिए । उनले आगामी असार १८ गते शनिवार श्रीमद्भागवत वाचन हुने भन्दै श्रावण महिनामा पनि विशेष धार्मिक कार्यक्रम संचालन गरिने बताए। कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष ऋषिराम विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

Post a Comment

 
Top