0
गोल्डेन न्यूज संवाददाता
निर्माणको चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङको भविष्य के होला ? भन्ने अन्योलता अझै कायम छ । पोखराको सराङकोटमा उडान भर्दै गरेका २० र तोरीपानीमा उडान भर्ने अनुमति पाएका ४२ गरी ६२ कम्पनीको भविष्य अन्योलमा छ । पोखरामा शनिवार आयोजित ‘प्याराग्लाइडिङ ब्यवसाय समस्या, चुनौती र समाधान’ बिषयक अन्तरक्रियामा व्यवसायी र पाइलटले यसको भविष्यमाथि चिन्ता ब्यक्त गरिरहँदा नेपाल नागरिक उडड्यन प्राधिकरण र पर्यटक मन्त्रालयका जिम्मेवार पदाधिकारीले पनि स्पष्ट जवाफ दिन सकेनन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत हवाई विभागका सहसचिव बुद्धिसागर लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीले डिपिआर तयार गरेपछि मात्रै यसबारे भन्न सकिने बताए । उनले भने–‘ब्यक्तिगत रुपमा पोखराबाट प्याराग्लाइडिङ नहटोस् भन्ने मेरो कामना हो तर प्राविधिक रुपमा नमिल्ने भएमा त्यसका लागि नजिकको विकल्प खोजौं ।’ उनले विकल्पको पनि खोजी गर्न ब्यवसायीलाई आग्रह समेत गरे । लामिछानेले व्यवसायीलाई पोखराका सराङकोट, तोरीपानी बाहेक अन्य क्षेत्रमा पनि विकल्पका रुपमा खोजी गर्न सुझाब दिए । उनले प्याराग्लाइडिङ्गलाई व्यवस्थापान गर्दै अगाडि बढ्नु पर्ने बताए । ‘प्याराग्लाइडिङ्गमा सकारात्मक र नकारात्मक दुबै कुरा छन्,’ उनले भने–‘नकारात्मकलाई सुधार गरेर अगाडि बढ्नु पर्दछ । नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले विमानस्थल सञ्चालनमा आएपनि अहिलेको प्याराग्लाइडिङको भविष्य के होला भन्ने वारे यसै भन्न नसकिने स्पष्ट पारे । उनले भने,–‘अन्तर्राष्ट्रिय विमानस्थलको एयर स्पेसको स्टक्चर कसरी हुन्छ, उडान अवतरणको प्रकृति लगायतलाई आधार मानेर मात्रै यसबारे थाहा हुने हो ।’ निर्माण कम्पनीका प्राबिधिकहरुसँगको सल्लाहपछि मात्रै यसबारे टुङ्गो लाग्न सक्ने उनले उल्लेख गरे । तर उनले अहिल्यै आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताए । नागरिक उडड्यन विभागका फोकल पर्सन देबेन्द्र पाण्डेले अन्तर्राष्ट्रिय विमानको उडान क्षेत्र बाहिरमात्रै प्याराग्लाइडिङ उडान हुन सक्ने बताए । उनले पोखराको आकाशमा उडान भर्नेगरी प्याराग्लाइडिङ कम्पनी दर्ता प्रक्रिया रोकिएकाले अन्य क्षेत्र रोज्नुपर्ने समेत बताए । पोखरा बाहिर देशका अन्य स्थानमा उडानको लागि भने सरकार खुल्ला रहेको उनले बताए । उनले भने–‘ देशका अन्य स्थानमा उडान भर्न चाहनेलाई सरकारले सहुलियमत दिएर प्रबद्र्धन समेत गर्छ । साहसिक खेलको माध्यमबाट पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने प्याराग्लाइडिङ ब्यवसायमा पछिल्लो समय चुनौतिको चाङ देखापरेको छ । ब्यवसाय ब्यवस्थापनदेखि अनुमति पत्र बितरण, उडान अवतरण क्षेत्र निर्धारण, उडान सामाग्री खरिद , पूर्वाधार विकास तथा पाइलटको आधिकारिता, नीतिगत अस्पष्टता लगायतका थुप्रै समस्या यो क्षेत्रमा देखिएको छ । २० वर्ष अघि सनराईज प्याराग्लाइडिङबाट सुरु भएको पोखराको प्याराग्लाइडिङ अहिले ब्यवसायिक रुपमा फष्टाउँदै जाँदा ६२ वटामा पुगेका छन् । २० वर्षको बीचमा ६२ कम्पनी दर्ता भएर सञ्चालनमा आएपनि सिमित उडान क्षेत्र, पाईलटको अभव तथा अडान सामाग्री आयात लगायतको समस्या पनि बढ्दै गएको छ । हाल सराङकोटमा २०, तोरीपानीमा ४२ गरी पोखराको आकाशमा ६२ कम्पनीले उडान गरिरहेका छन् । सराङकोटको आकाश साघुरिदै जाँदा बैकल्पिक स्थानका रुपमा नयाँ थपिएका कम्पनीलाई तोकिएको तोरीपानी क्षेत्र पनि अब साघुरिन थालेको छ । पछिल्लो समय पोखराको विकल्पको रुपमा काठमाडौंमा चार, बन्दीपुरमा चार, धरानमा दुई तथा पाल्पा, सुर्खेत र स्याङजामा एक÷एक कम्पनीले उडान अनुमति लिएका छन् ।
पोखरा सहित देशका विभिन्न स्थानमा उडान भर्ने गरी हाल सम्म ७५ कम्पनी सञ्चालनमा आएका छन् । यी कम्पनीबाट ब्यवसायिक उडान भर्नको लागि जम्मा एक सय सात पाइलट छन् । पाइलटको अभाबका कारण केहि नयाँ कम्पनीले अनुमति लिएको एक बर्ष सम्म पनि उडान भर्न सकेनन् । प्याराग्लाइडिङ कम्पनी थपिएसँगै बढ्दै गएको यो क्षेत्रको लगानी पछिल्लो समय जोखिममा पर्ने समेत चिन्ता सुरु भएको छ । पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाको प्याराग्लाइडिङ विस्थापित हुने चिन्ताले ब्यवसायीलाई सताएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव वसन्तराज दवाडीले प्याराग्लाइडिङमा सामाग्री खरिदमा उच्च लागत, अस्पष्ट नीति, अडान अनुमति, चालक अनुमतिपत्र प्रदान, तालिम, पाइलटको आधिकारिता, पूर्वाधार विकास लगायतका चुनौति देखिएको बताए । उनले भने–‘हामीलाई सरकारले दिएको सुविधा खुल्ला आकाश मात्रै छ अरु केहि छैन ।’ दवाडीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङको भविश्य के हुने भन्ने अन्योलताले ब्यवसायीहरु त्रसित रहेको समेत बताए । कार्यक्रममा बोल्ने पाइलटहरुले पटके उडान शुल्क खारेज हुनुपर्ने, स्थायी अनुमति पत्रको ब्यवस्था गर्नुपर्ने तथा विमाको ब्यवस्था हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासु त्रिपाठीले प्याराग्लाइडिङका लागि मनपरी शुल्क लिने गरेको भन्दै आपत्ति जनाए । उनले शुल्कमा एकरुपता हुनुपर्नेमा जोड दिए । ब्यवसायलाई दिगो, विश्वासिलो र भरपर्दो बनाउने जिम्मेवारी ब्यवसायीको पनि भएको उनले बताए ।
पोखरामा प्याराग्लाइडिङ गर्न २० देखि ३० मिनेटका लागि नेपालीलाई ६ हजार ५ सय र विदेशीलाई १० हजार रुपैया शुल्क निर्धारण गरिएको छ । तर ब्यवसायीहरुले आफूखुसी कसैलाई बढी र कसैलाई कम शुल्क लिने गरेका छन् । पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणले पनि यसबारे संस्थागत रुपमा नियमन गर्न नेपाल हवाई खेलकुद संस्थालाई आग्रह गरेको छ ।
पाइलटको स्थायी लाइसेन्सको लागि स्याङ्जामा खुलेको र बन्दीपुरमा खुल्न लागेको प्याराग्लाइडिङ स्कुलबाट प्रमाणपत्र प्राप्त गरेपछि मात्रै त्यसैको आधारमा प्रादन गर्न सकिने नागरिक उडड्यन कार्यालयले जनाएको छ । त्यस्तै पटके उडान शुल्कको विषयमा अब संसोधन भएर आउने हवाई खेलकुद नियमावलीले हटाउने विश्वास ब्यक्त गरिएको छ ।






Post a Comment

 
Top