0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा पछिल्लो एक महिनामा ६ हजार भन्दा बढी सवारी कार्वाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न प्रकृतिका ६ हजार दुई सय सवारी माथि कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । जेठ १ गतेदेखि जरीवाना रकममा भएको बृद्धिसँगै नयाँ ट्राफिक नियम लागू भएपनि सवारी नियम उल्लङ्घन गर्नेको संख्या भने घटेको छैन । कास्कीमा अघिल्लो महिनाको तुलनामा एक सय बढी सवारीमाथि कारवाही गरिएको छ । बैशाख महिनामा जम्मा ६१ सय सवारी कार्वाहीमा परेका थिए । जेठ महिनामा ४ सय ८५ ट्रक, एक हजार ३८ बस, १२ सय १८ काररजिप, दुई सय ८५ ट्याक्टर र दुई हजार ८ सय २५ मोटरसाईकल कारबाहीमा परेका छन् । यी सवारी कारवाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै ४० लाख २६ हजार ९ सय रुपैया राजश्व संकलन गरेको छ ।बैंशाख महिनामा ६१ सय सवारी कारवाहीबाट २२ लाख ७३ हजार ९ सय रुपैयाँ राजश्व उठेको थियो । ट्राफिक जरीवाना रकममा बृद्धि भएकाले जेठ महिनामा राजश्व अशुलीको दर पनि बढेको छ । चालु आर्थिक बर्षको ११ महिनामा कास्कीमा ४४ हजार ६ सय ५० सवारी कार्वाहीबाट एक करोड ७१ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने २६८ वटा सवारी चालक अनुमति पत्रमा प्वाल परेका छन् । जेठ महिनामा मापसे कार्वाहीबाट दुई लाख ६८ हजार रुपैया राजश्व संकलन भएको छ । अघिल्ला महिनाको तुलनामा जेठ महिनामा मापसे कारवाहीको दर दोब्बर बढेको छ । बैशाख महिनामा १५६ वटा मापसे कार्वाहीबाट ट्राफिक प्रहरीले एक लाख ५६ हजार राजस्व संकलन गरेको थियो । नयाँ ट्राफिक नियम लागू भएपछि जेठमा १८ वटा बस, २८ काररजिप, १६ ट्याक्टर र २०६ मोटरसाईकल मापसे कारवाहीमा परेका छन् । चालु आर्थिक बर्ष बितेको ११ महिनामा कास्की जिल्लाभर मापसे गरी सवारी चलाएका एक हजार एक सय ७२ वटा सवारी चालक अनुमति पत्र प्याल परेका छन् । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले नियम विपरित संचालित सवारीमाथि कारवाहीसँगै सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरणको लागि चालक सचेतना कार्यक्रमलाई प्रथामिकता दिएको उनले बताए । उनका अनुसार ट्राफिक प्रहरीले यातायात ब्यवसायी र अन्य सरोकारवालासँग को समन्वयमा कास्कीका विभिन्न ६ स्थानमा चालक परामर्श कार्यक्रम सञ्चालन गरेको थियो । ‘सवारी कारवाही र राजश्व असुली मात्रै हाम्रो लक्ष्य होईन,’ उनले  भने ,‘चालक, यात्रु र स्वमं ट्राफिक प्रहरीलाई पनि सचेतना दिएका छौं ।’ पोखराको ट्राफिक ब्यवस्थापनको लागि पछिल्लो समय ब्यस्त चोकमा लेन ब्यवस्थापनदेखि पार्किङ ब्यवस्थापन र सचेतना कक्षाहरुमा जोड दिइएको छ । ‘पोखराको ट्राफिक ब्यवस्थापन चुस्त बनाउन कार्वाही, नियमन र सचेतनालाई पनि साथ साथै अघि बढाएका छौं’ प्रहरी निरीक्षक अधिकारीले भने । प्रहरी नायब निरीक्षक शिब थापाले पोखरामा ब्यवस्थित बसपार्क र पार्किङ स्थल भएमात्रै पनि अहिले कायम ५० प्रतिशत ट्रफिक समस्या समाधान हुने बताए । पार्किङको उचित ब्यवस्थापन नहुनु र ब्यवस्थित बसपार्क नहँुदा सवारी ब्यवस्थापनमा पनि ट्राफिक प्रहरीलाई चुनौति थपिएको उनले बताए ।

Post a Comment

 
Top