0
प्रसस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसय बनाउँला, छोराछोरीको पठनपाठन र लालनपालन गरौला भन्ने सुनौलो सपना बोकेर विदेशिएको मात्र ११ दिन पुगेको थियो । ‘हुने हार दैव नटार’ भनेझै केवल त्यो सपना र त्यो परिवारको खुसी लामो समय टिक्न सकेन पर्वतका दुई युवाको परिवारमा ।  बाबु घरबाट जान दिन फर्केर आउने बेला छोराछोरीले राखेका माग पनि आशमै हराए, श्रीमतीको सिउँदो पुछियो, घरपरिवार, आफन्त र सिङ्गो गाउँलाई नै शोकाकुल बनाएर संसारबाट बिदा भए दुई प्रवासी युवा । प्रसङ्ग हो काबुल घटनाको । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी पर्वतका दुई जनाको ज्यान गयो । ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका–२ स्थायी घर भई परिवारसहित काठमाडौँ गोङ्गबु बस्दै आएका विदुरबहादुर सुवेदी क्षेत्री र पर्वतकै कार्कीनेटा गाविस–६ का नवीनबहादुर क्षेत्रीको परिवार र गाउँ अहिले शोकमा डुबेको छ । कुश्मा नगरपालिका–२ पाङका विदुर परिवारसहित काठमाडौँमा बस्दै आएका थिए । गत महिना छुट्टिमा आएका सुवेदी क्षेत्री ११ दिन अघिमात्रै २८ जेठको उडानमा त्यहाँ पुगेका थिए । परिवारका चार भाइमध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकाश प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानिस्तान पुगेका हुन् । स्थानीय छिमेकी चित्रबहादुर क्षेत्रीका अनुसार उनका दुई छोरा र श्रीमती काठमाडौँको गोङ्गबुमा बस्दै आएका छन् । उनको जन्म गाउँ पर्वतको कुश्मा नगरपालिका–२ पाङको गाउँ भने उनको मृत्युको खबरले शोकमा डुबेको छ । आक्रमणमा परि १२ जनाको मृत्यु भएको थियो ।    यता नवीन क्षेत्रीको मृत्युको खबरले पनि कार्कीनेटा शोकमा डुबेको छ । सशस्त्र प्रहरी बलमा कार्यरत रहेर अवकाश प्राप्त भएपछि २०६५ सालदेखि अफगानमा सेक्युरेटी गार्डमा रोजगारीका लागि गएका थिए । उनी बेलाबखत घरमा आउने जाने क्रममा जेठ २८ गतेकै दिन अफगान प्रस्थान गरेका थिए ।  कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुन् । उनका बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन् । उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको क्षेत्रीका दाइ (मामा छोरा) कमल खत्रीले जानकारी दिए ।  लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि मनग्गे आम्दानी नभएपछि घरपरिवार, छोरीको विवाहदान राम्रोसँग गरौला भन्ने सपना बोकेर उनी विदेशिएका थिए । उनको मृत्युपछि घरपरिवार भावविह्वल बनेको छ । उनी गत जेठ ८ मा गाउँमै आएर पूजा लगाएर अब एकपटक अफगानिस्तान जाने त्यसपछि नजाने बताएका थिए । अफगानिस्तान असुरक्षित छ कति बेला के हुन्छ थाहा छैन त्यसैले धेरै समय त्यहाँ बस्नु उचित छैन भनेको स्थानीयवासी विश्वराज शर्माले स्मरण गर्दै भने–“अब ऊ कहिल्यै नफर्किने भयो ।”  समाजमा निकै सरल, मिठो बोली भएका उनी परिवारका माइला छोरा हुन् । उनका बाबुको विगत दुई वर्षअघि मात्रै निधन भएको थियो ।  अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै आएकी छिन् । अहिले उनका चार दाजुभाइ र परिवार उनको शवको प्रतिक्षामा राजधानीमा गएका छन् ।रासस



Post a Comment

 
Top