0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तु चोरी शिकारी तथा अवैध व्यापार नियन्त्रण कार्यशाला गोष्ठी याम्दी हेम्जामा सम्पन्न भयो ।  गोष्ठीमा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक मोहन बहादुर खाँणको नेतृत्वमा सहायक प्रहरी निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवान गरी २२ जना प्रहरी कर्मचारीहरू धम्पुस, भुर्जुङ खोला, घाचोक, बिरेठाँटीमा कार्यरत कार्यालयहरूबाट सहभागी भएका थिए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत सबिना लामिछानेले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका बारेमा जानकारी दिए । वन्यजन्तु चोरी शिकारी तथा अवैध व्यापार नियन्त्रणका सम्बन्धमा मानव वन्यजन्तु द्वन्द्व, वन्यजन्तु अवैध चोरी शिकारी, अन्नपूर्ण संरक्षण क्षेत्रभित्र प्रवेश र निकासी मुख्य मार्गहरू, वन पैदावार अनुमति, एन्टी पोचिङ संगठनात्मक संरचना, गस्ती परिचालित प्रहरीको सेवा सुविधा साथै नेपालका संरक्षित जनावर, पंक्षी, उभयचर र संरक्षित वनस्पतिका विस्तृत जानकारी संरक्षण अधिकृत ऋषि बरालले दिए । कार्यक्रमको अन्तमा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक मोहन बहादुर खाँणले यस गोष्ठीबाट आफूहरूलाई वन्यजन्तु र वनस्पतिका बारेमा धेरै ज्ञान भएको र यस गोष्ठीले प्रहरीहरूमा निकै प्रभाव पार्ने हुँदा र प्रहरी कर्मचारीहरू प्रत्येक वर्ष फेरबदल हुने हुँदा यस्तो कार्यक्रम प्रत्येक वर्ष भै दिएमा वन्यजन्तु चोरी शिकारी तथा अवैध व्यापार नियन्त्रण गर्न सजिलो हुने थियो भन्ने कुरामा जोड दिएका थिए । वन्यजन्तु चोरी शिकारी तथा अवैध व्यापार नियन्त्रण गोष्ठी पोखराको रामबजारमा राम बजार वडा प्रहरी कार्यालय अन्तर्गत डाँडाको नाक, हस्पिटल चोक, टुटुङ्गा, कसेरी आदिमा पर्ने सम्पूर्ण प्रहरी कर्मचारीका लागि असार २ गते बिहान र लमजुङको बेसींसहरमा बेसीं सहर वडा प्रहरी कार्यालय अन्तर्गतका खुदी, थोंचे आदि ठाउँमा असार ३ गते गर्ने तय गरिएको छ ।


Post a Comment

 
Top