0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १३, पाटनवेसीका किसानहरु छाडा चौपायका कारण हैरान भएका छन् । छाडा चौपाय त्यहाँका स्थानीयको होइन अन्यत्रको हो । पोखराको टाढा–टाढाबाट हुलका हुल आउने छाडा चौपायले आफूहरुको खेतीवाली नष्ट गर्ने गरेको स्थानीयहरु बताउँछन् । छाडा चौपायले दुःख दिएपछि स्थानीयहरुले  पटक–पटक नगरपालिकाको कार्यालयमा खबर गरेका थिए । तर नगरपालिकाको ती छाडा चौपाय राख्ने ठाउँ नभएकाले समस्याको समाधान हुन नसकेको बताइन्छ । छाडा चौपाय राख्ने नगरपालिकाको कान्जी हाउस अहिले पुरै भरिएको छ । समस्या लिएर आउँदा उल्टै नगरपालिका कार्यालयले आफ्नो समस्या देखाएपछि आफूहरु निराश भएको एक स्थानीय बताउँछन् । ती स्थानीयले गोल्डेन न्यूज दैनिकसंग भने–‘छाडा चौपायले दिनुसम्म दुःख दिएको छ। समस्या लिएर नगरपालिकामा पुग्दा उल्टो समस्या बोकेर आउनुपर्छ । यो समस्याको समाधान कसले गरिदिन्छ ? उनका अनुसार छाडा चौपायका कारण तरकारी तथा खाद्य बाली जोगाउन मुस्किल परेको छ । छाडा चौपाय धपाउन जाँदा रिसाहा साढेहरु उल्टो आक्रमण गर्न आउने हुनाले हेरेर बस्नुको विकल्प नरहेको उनको दुःखेसो छ । कान्जी हाउसको समस्या देखाएर नगपालिकाले आफूहरुको समस्यालाई वेवास्ता गर्नु नगरपालिकाको लाचारीपन र हेलचक्र्याइँपन भएको स्थानीय बताउँछन् । यसैबीच पोखराको विभिन्न विभिन्न सडक तथा चोकहरुमा छाडा चौपायकै कारण पैदल यात्रु र सवारीले चालकहरु र ट्राफिक हैरानी खेप्दै आएका छन् । सडकको पेटी तथा बीच भागमा बसेर छाडा चौपायले पैदलयात्रुलाई आक्रमण गरि घाइते बनाउने र पटक–पटक सडक दुर्घटना गराउने गरेका छन् । यो समस्या समाधानमा पोखरा उप–महानगरपालिका कार्यालयले खासै चासो नदिएको गुनासो बढ्दै गएको छ ।

Post a Comment

 
Top