0
गोल्डेन न्यूज संवाददाता
गोरखाको मनकामना गाविसका स्थानीयले मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न गाविसलाई सुझाव दिएका छन् । बुधबार गाउँ विकास समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले भूकम्पपछि आफुँखुशी स्थानीयले मापदण्ड ख्यालै नगरी संरचना बनाउन थालेकाले त्यसमा सचेत हुन गाविस सचिवलाई अनुरोध गरेका हुन् । सरकारले संरचना निर्माणमा कडाइ गरेपनि मनकामनामा भने मापदण्डको कार्यान्वयन हुन सकेको छैन । मापदण्ड विपरीत संरचना बन्न नदिने दायित्व गाविसको हो, स्थानीय दिनेश जोशीले भने–तर गाविसले यसमा कुनै चासो दिएको छैन, नियम मिचेर धमाधम संरचना बनिरहेका छन् । गाविसका सरोकारवालासँग छलफल गरेर मापदण्ड तोक्ने र नक्सापासको नियम अहिलेदेखि नै लागू गरिनुपर्ने उनको सुझाव छ । गाविस सचिव नारायण प्रसाद सापकोटाले जनप्रतिनिधि विहिन अहिलेको अवस्थामा कर्मचारीले मात्रै यसलाई रोक्न नसक्ने बताए । स्थानीय निकायमा जनप्रतिनिधि छैनन्, राजनीतिक दल पनि निर्णायक भूमिकामा छैनन्, उनले भने–सबैको सहयोग पाए मापदण्डमा कडाई गर्नेछौं । अहिलेको अवस्थामा मापदण्ड मिचेर बनेका संरचनामा डोजर लाउन नसक्ने उनको भनाई छ । गाविसले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमका सहभागीहरुले योजना छनौटमा राजनीतिक प्रभाव हावी हुने गरेको, फोहोर मैला ब्यवस्थापनमा दीर्घकालीन योजना ल्याउन नसकेको, आन्तरीक आम्दानी वृद्धितर्फ ध्यान नदिएको जस्ता गुनासो गरे । गुनासोको सुनुवाई गर्दै गाविस सचिव सापकोटाले योजना छनौट र कार्यान्वयनमा राजनीतिक प्रभाव नभएको दावी गरे । यस्तै फोहोरमैला ब्यवस्थापनका लागि पनि योजना बनाउने काम भैरहेको भन्दै उनले फोहोरको बर्गिकरण गरेर सकेसम्म प्रयोग गर्ने तथा प्रयोगविहिन फोहोरलाई उचित ठाउँमा बिसर्जन गर्ने प्रतिबद्धता जनाए । आन्तरिक आम्दानी बृद्धिका लागि पनि राजनीति परामर्श समिति र सरोकारवालासँग छलफल भैरहेको भन्दै तत्काल होटल कर अनिबार्य गर्ने प्रक्रियामा आफुँहरु रहेको उनले जनकारी दिए ।
नेपाली काँग्रेसका गाउँ सभापति दिनार श्रेष्ठले गाविसले सञ्चालन गरेको खसी बोका सफा गर्ने ठाउँलाई टेण्डरमा लगेर आम्दानीको श्रोत बृद्धि गर्ने बताए । हामी एकसाता भित्रै टेण्डरमा जाने निर्णय गर्नेछौं र प्रकृयाअनुसार टेण्डर गर्नेछौं, उनले भने–यसबाहेक पर्यटक प्रबेश शुल्क लिने बिषयमा पनि गहन छलफल गरेर जतिसक्दो छिटो सुरु गर्नेछौं । नेकपा एमालेका अध्यक्ष मनोकुमार जोशी, नेकपा माओबादी केन्द्रका अध्यक्ष कृष्णबाबु श्रेष्ठ लगायतले पनि आन्तरिक आम्दानी बृद्धी गर्नका लागि सकारात्मक पहल सुरु गर्ने प्रतिबद्धता जनाए । पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा सहभागी सेवाग्राही नागरिकहरुले कृषिमा कम बजेट छुट्याएको, बर्खे योजनामा बढी केन्द्रित भएको, भूकम्पपीडितको नामावली प्रकाशनमा लापर्बाही भएको जस्ता गुनासो गरे ।
गाविस सचिव नारायण प्रसाद सापकोटाले कृषिमा बस्ती स्तरबाटै माग कम भएकाले बजेट विनियोजन हुन नसकेको, गाविसले बर्खे योजनालाई निरुत्साहित गर्ने, भूकम्पपीडितको नामावलीमा हेरफेर गर्न सम्बन्धित निकायलाई जानकारी गराउने प्रतिबद्धता जनाए । कार्यक्रममा राजनीतिक दलका प्रमुख प्रतिनिधी, सहयोगी संस्था एडवान नेपाल, वडा नागरिक मञ्च, सुरक्षा निकाय, उद्योगी ब्यवसायी, उपभोक्ता समिति, गाउँ स्तरीय लक्षित सञ्जालहरु, क्लव तथा समूहहरु सर्वसाधारणको सहभागिता थियो ।











Post a Comment

 
Top