0
धेरैलाई अनौठो लाग्नसक्छ, चिकित्सक पनि नक्कली हुँदारहेछन् भनेर । अहिले त्यस्तै अनौठो घटना सार्वजनिक भएको छ । नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका आरोपमा प्रहरीले देशभरिबाट ३६ जना नक्कली चिकित्सक पक्राउ गरेको छ । यसलाई संचारमाध्यमले पनि प्रमुखताका साथ प्रशारण र प्रकाशन ग¥यो । उनीहरुले एमबिबिएस अध्ययनका लागि नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीको अभियोग छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलको सहयोगमा नक्कली प्रमाणपत्र छानबिन अप्रेसन शुरु गरेपछि यस्तो रहस्य खुलेको हो । काठमाडौंका अस्पतालबाट मात्रै १३ जना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ परेका अधिकांशको आइएस्सीको प्रमाणपत्र नै नक्कली भेटिएको प्रहरीको दाबी छ । एक सय बढी चिकित्सक पक्राउ गर्ने गरी अप्रेशन शुरु गरे पनि सूचना चुहिएकाले बाँकी फरार रहेको प्रहरीको दाबी छ । त्यसो त मेडिकल काउन्सिलले लिने परीक्षा उत्तीर्ण नगरी सेवा शुरु गरेका नक्कली चिकित्सक पनि पक्राउ परेका छन् । कतिपयको त एसएलसी नै नक्कली देखिएको प्रहरीको दाबी छ । यो घटना न्यायलयसम्म पुगेकाले थप छानबिन हुने नै छ । यो घटनाक्रमले के देखाएको छ भने चिकित्सा क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा पनि निकै ठूलो खेलवाड हुँदोरहेछ । नक्कली चिकित्सक पक्राउ प्रकरणले तीनवटा यथार्थ एकैसाथ उजागर गरेको छ । पहिलो सवाल त, जनताको जीवनसंग जोडिएको चिकित्सा क्षेत्रमा पनि कति खेलवाड हुँदोरहेछ भन्ने यसले देखाएको छ । हुन त कुनै पनि क्षेत्रमा बिकृति हुनुहुँदैन, त्यसमा पनि अझ अन्य क्षेत्रमा नक्कली फेला पर्नु र स्वास्थ्य क्षेत्रमा नक्कली फेला पर्नुमा ठूलो अन्तर छ । चिकित्सा यस्तो जिम्मेवार र संवेदनशील पेशा हो, जहाा जनताको जीवन जोडिएको छ । कल्पना गरौं कुनै नक्कली चिकित्सकले शल्यक्रिया ग¥यो भने त्यो बिरामीको अवस्था के होला ? त्यसो त चिकित्सकको लापर्वाहीले कैयौं बिरामीको ज्यान गएका घटना पनि सार्वजनिक नभएका होइनन् । यो घटनाले सार्वजनिक गरेको अर्को यथार्थ हो चिकित्सा अध्ययन क्षेत्रमा रहेको बेथिति । एसएलसी वा आइएस्सी नै नगरेका विद्यार्थीलाई मेडिकल कलेजहरुले कुन आधारमा भर्ना लिए ? यो निकै गम्भीर प्रश्न हो । एमबीबीएस अध्ययनका लागि निकै ठूलो परिश्रम चाहिन्छ । सामान्य वा औसत विद्यार्थीले एमबीबीएस पढ्न सक्दैन । निकै लामो तयारीपछि यसको प्रवेश परीक्षा उत्तीर्ण गर्न सकिने प्रावधान छ । यहाँनेर गम्भीर प्रश्न उठ्छ त्यति धेरै मेहनत गरेर प्रवेश गर्नुपर्ने यो क्षेत्रमा एसएलसी वा आइएस्सी नै नगरेका विद्यार्थीले कसरी प्रवेश पाए ? यसको सोझो अर्थ हुन्छ ठूलो मात्रामा पैसा लिएर मेडिकल कलेजहरुले योग्यता नपुगेका विद्यार्थीलाई पनि भर्ना लिंदारहेछन् । यो घटनाले अर्को यथार्थ पनि उजागर गरेको छ, चिकित्साजस्तो संवेदनशील क्षेत्रमा पनि यति ठूलो विकृति रहेछ भने अन्य कुन क्षेत्र विकृतिरहित छ होला ? यहाँनेर नेपालको प्रहरीको प्रशंसा गर्नैपर्छ, उसले सके जति विकृतिमाथि प्रहार गरिरहेको छ । केही समयअघि म्याच फिक्सिङको डरलाग्दो घटना बाहिर ल्यायो । यो वास्तवमा ठूलो रहस्योद्घाटन थियो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने फूटबल खेलाडीले प्रतिष्पर्धी देशबाट ठूलो रकम लिएर उनीहरुलाई जिताउन भूमिका खेल्ने डरलाग्दो रहस्य खुलेपछि ती खेलाडी पक्राउ मात्र परेनन्, नेपाली फूटबल क्षेत्र धेरै अगाडि बढेको छ । अहिले नक्कली चिकित्सक पक्राउ प्रकरणले पनि चिकित्सा क्षेत्र सुधारमा ठूलो बल मिल्ने छ । चिकित्सा शिक्षालाई लिएर ठूलो बहस चलिरहेको छ । खासगरी डा.गोविन्द केसीको एकल आन्दोलनपछि सरकारले यसमा सुधार ल्याउन लागेको छ । चिकित्सा क्षेत्रमा भइरहेको चरम ब्यापारीकरण अन्त्य हुनुपर्छ, च्याउ उम्रेजस्तै मेडिकल कलेज खोल्ने क्रम बन्द हुनुपर्छ । पैसा तिरेपछि जति कमजोर व्यक्ति पनि चिकित्सक बन्न पाउने र पैसा तिर्न नसक्ने गरिबका छोराछोरी जति अब्बल भए पनि यो क्षेत्रमा प्रवेश गर्न नसक्ने स्थिति रोकिनुपर्छ भन्ने मागको यो घटनाबाट फेरि औचित्य पुष्टि भएको छ । प्रहरीले विभिन्न क्षेत्रको विकृति अन्त्यका लागि थालेको अभियानलाई सबैले सहयोग गर्नुपर्छ । हरेक हिसाबले जनताको जीवनमाथि गरिने खेलवाडलाई अन्त्य नै गर्न नसके पनि न्यून गर्दै लैजानुपर्छ ।





Post a Comment

 
Top