0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं. २ स्थित कल्याण प्रावि नजिकैको बगाले भीरबाट खसेर घाइते भएका कास्की हंसपुर वडा नं. ६ का नोकबहादुर गुरुङको मृत्यु भएको छ । उनी यहि असार ५ गते दिउसोको ४ बजे उक्त भीरबाट खसेका थिए । उनका आफन्तले दिएको जानकारी अनुसार गुरुङको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ६ गते निधन भएको हो । परिवारले ढिलोगरि शुक्रबार मात्र घटनाको जानकारी गराएको हो । गुरुङ नेपाल आर्मीबाट अवकाश पाइ हाल लेखनाथको तालचोकस्थित गण्डकी आयलमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । स्थानीयको सूचनाको आधारमा गुरुङलाई घाइते अवस्थामा बगाले भीरको कुनामा प्रहरीले फेला पारेको थियो । उनको दाहिने छाती नजिक ठूलो दाग रहेको र पेट फुटेको अवस्थामा प्रहरीले फेला पारेको थियो । यसैबीच गुरुङकी श्रीमती शान्ति गुरुङ तथा आफन्तजनले गुरुङको मृत्यु लडेर नभइ हत्या प्रयासबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् । कास्की प्रहरीले गुरुङको हत्या प्रयासमा संलग्न भएको भन्दै २ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की हंसपुर वडा नं. ५ का ३७ वर्षीय दुर्गा बहादुर क्षेत्री र लेखनाथ नगरपालिका वडा नं. ७ का १८ वर्षका मनिष गुरुङ रहेका छन् । पक्राउ परेका क्षेत्री र गुरुङले नै नोकबहादुर भीरबाट खसेको जानकारी प्रहरीलाई गराएका थिए । मृतकका आफन्तजनले उनीहरुले गुरुङलाई हत्या गर्ने योजनाका साथ भिरबाट धकेलेको भएपनि गुरुङको तत्काल निधन नभइ अस्पतालमा निधन भएको आशंका गरेका छन्। पीडित गुरुङका आफन्तजनले घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कडा कानूनी कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् । जाहेरीमा हत्यामा संलग्न भएको आशंका गर्दै अन्य दुई जनाको नाम पनि उल्लेख छ । आफन्तजनले दवाव समूह नै बनाएर प्रहरी तथा सम्बन्धित निकायमा दवाव दिएका छन् । दवाव समूहको संयोजकमा मृतक गुरुङकी श्रीमती शान्ति गुरुङ र सह–संयोजकमा खेमबहादुर गुरुङ रहेका छन् । यसैबीच घटनाको सत्यतथ्य छानविन र दोषी उपर कडा कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिवद्धता जनाएपछि आफन्तले गुरुङको शव बुझ्ने भएका छन् ।  गुरुङको अन्त्येष्टि शनिबार गरिने बताइन्छ । आफन्तजनले घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै शव नबुझि प्रहरीलाई दवाव दिंदै आइरहेका थिए ।




Post a Comment

 
Top