0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंमा वागमती सफाई अभियानले चर्चा पाईरहेका बेला पोखरा नगर क्षेत्र भएर बग्ने दुई वटा खोलामा पनि वृहत सरसफाई अभियान सञ्चालन गरिने भएको छ । मानववस्तीको बीचबाट बग्ने खोला फोहोर र प्रदुषित भएपछि नागरिक समाजको अगुवाईमा सरसफाई अभियान सञ्चालन गर्न लागिएको हो ।
वषौदेखि पोखराको पहिचान एंव गौरवसंग जोडिएका सम्पदाहरु अतिक्रमण तथा प्रदुर्षणको चपेटामा पर्दा समेत स्थानीय निकाय मौन बसेकोप्रति पोखरावासीहरुले गुनासो गर्दै आएका थिए । नेपालकै राष्ट्रिय सम्पदाको रुपमा स्थापित फेवातालमा मिसिने फिर्के र बुलौदी खोला प्रदुषित भएपछि तालको अस्तित्व जोगाउन पनि खोला सरसफाई अभियान सञ्चालन गर्न लागिएको हो । बिहीवार पोखरामा पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार जेठ २२ देखि सुरु हुने वृहत सरसफाई अभियान अन्तर्गत अब प्रत्येक शनिवार सबै क्षेत्रको सहभागितामा खोला सफा गरिनेछ ।
फिर्के–बुलौदी खोलाबाट बगाएर लगेको प्लाष्टिकजन्य फोहोरमैलाका कारण फेवातालको ड्यामसाइडस्थित गाईघाटमा करिब १० रोपनी पानीको भूभाग टापुमा परिणत भएको छ । यहि क्रममा ताल पुरिंदै गए र रोकथामको उपाय नअपनाए अबको पाँच बर्षमा त्यस क्षेत्रमा पानीको भाग पुरिएर गल्छीमा परिणत हुने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए । पौडेलका अनुसार मानवीय अतिक्रमणका साथै प्लाष्टिकजन्य फोहोरका कारण पोखराको गौरवका रुपमा रहेका फिर्के र बुलौदी दिनानुदिन प्रदषित हँुदै गैरहेका छन् ।
पोखरा उप–महानगरपालिकाको वडा नम्बर २६ अँधेरीकुनाबाट सुरु हुने फिर्केखोला झण्डै ८ किलोमिटर लम्वाईको छ भने सोहि वडाको धारापानीबाट सुरु भएको बुलौदी खोलाको लम्वाई झण्डै तीन किलोमिटर छ । यी दुई खोला आसपास घरहरु थपिदै जानु र खोलालाई फोहोर फाल्ने स्थानको रुपमा प्रयोग गर्दा खोलासँगै त्यसको अन्तिम विन्दु फेवाताल समेत प्रदुषित हुन पुगेको हो ।  नागरिक समाजका संयोजक रामबहादुर पौडेलको अगुवाईमा सरोकारवाला सबै संघ–संस्थाका प्रमुखसहित संलग्न भई पछिल्लो समय गठन भएको फिर्के– बुलौदीखोला नागरिक सरोकार समितिले बृहत् सरसफाई अभियान सञ्चालन गर्न लागेको हो । विभिन्न ६५ वटा संघ–संस्था आबद्ध समितिमा १५ सदस्यीय सचिवालय गठन गरिएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर सुरु गर्न लागिएको बृहत् सरसफाई अभियानममा वागमती सफाई महाअभियानका अभियन्ता तथा पूर्व मुख्य सचिव लिलामणि पौडेल नेतृत्वको टोली, सरकारी निकायका उच्चपदस्थ अधिकारी, स्थानिय निकाय, सुरक्षा निकाय तथा नागरिक समाजको ब्यापक सहभागिता रहने बताइएको छ । पहिलो दिन जेठ २२ गते शनिवार फिर्के खोलाको मुहान अँधेरीकुनाबाट सरसफाई अभियानको सुरुवात गरिएको सरोकार समितिले जनाएको छ । समितिकी सचिवालय सदस्य माया अधिकारीले फिर्के र बुलौदी जस्ता प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा  संरक्षणका साथै सफाईका लागि नागरिक एकतामा आवश्यक रहेको बताइन । समितिका सचिवालय सदस्य उज्वल खत्रीले सम्पदाको संरक्षणका लागि स्थानीय सरकारको रुपमा रहेको नगरपालिकालाई बारम्बार आग्रह गरे पनि ठोष कार्य योजनाका साथ अगाडि बढ्न नसकेको गुनासो गरे ।
पृथ्वी राजमार्ग बस संचालक समिति पोखराका महासचिव योगेन्द्र के.सीले सम्पदाको संरक्षण गर्दै वातावरणीय स्वच्छताका लागि हातेमालो गर्न प्रतिवद्ध रहेको बताए । फिर्के बिलौदी सरोकार समितिका कार्यबाहक अध्यक्ष इन्द्रमाया बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले स्वागत, पत्रकार प्रल्हाद चन्द्र घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।






Post a Comment

 
Top