0
गोल्डेन न्यूज संवाददाता
पोखराको लेकसाईड स्थित फेवाताल किनारमा रहेको हिमागृह भाडा प्रक्रियाबाट पछि हट्न यति एयरलाई पोखरलीले चेतावनी दिएका छन् । राष्ट्रिय सम्पदाको रुपमा रहेको हिमागृह ठेक्का प्रक्रियामा यति एयरको नाम आएपछि पोखरेलीले बुधबार पोखरा स्थित कार्यालय घेराउ गर्दै उडान ठप्प पार्नेसम्मको चेतावनी दिए । नेपाल ट्रष्टले गत बैशाख १८ गते हिमागृहलाई भाडामा दिने प्रयोजनले १५ दिने सूचना प्रकाशित गरेको थियो । यति एयरलायन्सका प्रबन्धक आङछिरिङ शेर्पा समूहले बार्षिक एक करोड पाँच लाख रुपैयाँ दिने गरी भाडामा लिएको सूचना सार्वजनिक भएपछि हिमागृह भाडा प्रक्रियाबाट बाहिरिन नागरिक समाज पोखराले चेतावनी दिएको हो । ठेक्का प्रक्रियाबाट पछि नहटे यति एयरका सबै पोखरा उडान ठप्प पार्ने पोखरेलीले चेतावनी दिएका हुन् । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पोखरामा रहेका राष्ट्रिय सम्पदा संरक्षणको लागि जस्तोसुकै आन्दोलन पनि गर्न तयार रहेको बताए । नागरिक समाज पोखराको संयोजकत्वमा बुधवार पोखरेली पर्यटन ब्यवसायी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा यति एयरको पोखरा कार्यालय र हिमा गृह अगाडि खबरदारी सहितको ब्यानर टासिएको छ । पर्यटन ब्यवसायी अग्नी कंडेलले हिमा गृह प्रयोग गरेर देखाउन यति एयरलाई चुनौती दिए । विभिन्न वाहानामा पोखराको सम्पदामाथि हस्तक्षेप भैरहेको भन्दै उनले हिमागृहलाई ब्यवसायिक प्रयोजनमा लगाउन नदिने चेतावनी दिए । नेपाल सरकारले निर्णय गरेपनि यो पोखरेलीको हितमा नरहेकाले पोखरेलीको बलमा उल्टाउन सकिने बताए । हिमा गृहलाई आधार बनाएर अन्य सम्पदामाथि पनि हस्तक्षेप हुन सक्ने तर्फ उनले सचेत गराए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले हिमागृह बचाउ आन्दोलनमा पूर्ण समर्थन जनाए । नेपाल विद्यार्थी संघका नेता सरोज केसीले नागरिक समाजले थालेको सम्पदा बचाँउ आन्दोलनमा विद्यार्थीले पूर्ण साथ दिने बताए । सरकारले राष्ट्रिय सम्पदाको संरक्षण गर्नुपर्नेमा निजी क्षेत्रलाई ब्यवसायिक प्रयोजनमा दिनु गलत भएको उनको ठम्याई छ । सार्वजनिक सम्पत्ति बचाउ आन्दोलन नाम दिएर सुरु भएको बिरोध अन्तर्गत एतिहासिक सम्पदा माथि भैरहेको ठेक्का प्रक्रिया खारेज गर्न, सार्वजनिक सम्पत्ती सार्वजनिक हितकै लागि प्रयोग गर्न र रत्न मन्दिर सहित हिमागृह सर्वसाधारणको लागि खुल्ला गर्न माग गरिएको छ । रत्न मन्दिर असार दोस्रो सातादेखि सर्बसाधारणलाई खुल्ला गर्ने तयारी छ । तर हिमा गृह ब्यवसायिक प्रयोजनको लागि भाडामा दिएपछि पोखरेलीले बिरोध गरेका हुन् । नेपाल ट्रष्टले राजसंस्था कायम रहेका बेला राज परिवार पोखरा आउँदा विश्राम स्थलको रुपमा रहेको ताल किनारको १० रोपनी ४ आना क्षेत्रफलको हिमा गृह ५ बर्षको लागि भाडामा दिने निर्णय गरेको हो । सो स्थानमा शेर्पा समूहले पाँच तारे होटल सञ्चालन गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।



Post a Comment

 
Top