0
गोल्डेन न्यूज संवाददाता
निजामती कर्मचारीको बुधबार भएको आधिकारिक टे«ड युनियनको निर्वाचन देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले प्रारम्भिक विवरणअनुसार ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदान भाग लिएका थिए । निर्वाचन अधिकृत तिमिल्सिनाले २४ स्थानको मतगणना सकिएको र अन्य स्थानको पनि रातभर मतगणना हुने जानकारी दिनुभयो । भोलिसम्ममा मत परिणाम आउने अपेक्षा गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका छन् । निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ । यसैबीच, पाँचथरमा मतपत्रमा अर्धकट्टीको नम्बर भेटिएपछि विवाद भएको छ । विवादका कारण रोकिएको मतदान अपराह्न ५ बजे मात्रै सुरु भएको छ । ढिला गरी मतदान सुरु भएका कारण साँझ ६ बजेसम्म मतदान गर्न दिने व्यवस्था गरिएको थियो । यसैगरी निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको चुनावमा कास्कीमा १ हजार २ सय ३५ भोट खसेको छ । पहिलोपटक भएको चुनावमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र त्यो भन्दा तल्लो तहका १ हजार ३ सय ५ जना निजामती कर्मचारी रहेका छन् । कास्कीमा विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।  कास्कीमा चार संगठनले चुनावी मैदानमा छन् । समानुपातिक पद्धतिका आधारमा भएको चुनावमा प्राप्त मतका आधारमा जिल्लाको हकमा पहिलो हुनेले अध्यक्ष, दोस्रोले उपाध्यक्ष, तेस्रोले सचिव र चौथोले सहसचिवको जिम्मेवारी पाउने छन् । मतअनुसार नै सदस्य संख्या बाँडिने तर १० प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व पाउने छैन । यसैबीच पाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ५३, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको ३१, नेपाल मधेशी निजामती कर्मचारी मञ्चका १७ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले २ मत प्राप्त गरेको छ । २ मत भने बदर भएको थियो । कुल खसेको मतको १० प्रतिशत ल्याउन नसकेको ४ समुह बाहिरीने भएपछि एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ मात्र समितिमा रहने भएका छन् ।
काभ्रे ः कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा काभ्रेमा नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ) विजयी भएको छ । युनियन (संघ) ले २ सय ५१, एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले २ सय ३२ पाएर दोस्रो र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले ४० ल्याएर तेस्रो भयो । विधान अनुसार, पहिलो हुनेले अध्यक्ष, दोस्रो हुनेले सचिव, तेस्रो हुनेले कोषाध्यक्ष पाउने व्यवस्था छ । मतपरिणामका अनुसार सदस्य विभाजन गरिन्छ । काभ्रेमा कुल ५ सय ९१ मतदाता थिए ।
खोटाङ( यहाँ नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ । बुधबार सम्पन्न चुनावमा उसले एक सय ६७ मत ल्याएर पहिलो भएको हो । नेपाल कर्मचारी युनियन संघले एक सय ११, नेपाल राष्ट्रिय कर्मचारी संगठनले ४९ र  नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आठ मत ल्याएको छ । कुल मतदाता तीन सय ७३ मध्ये तीन सय ५३ मत खसेको थियो । यसमा १८ मत रद्द भएको हो ।
बैतडी ः एमाले निकटको नेपाल निजामती कर्मचारी संगठन १ सय ३६ मत ल्याएर पहिलो भएको छ । कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन (संघ) १ सय ३३ मत ल्याई दोस्रो स्थानमा रहेको छ ।  नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन  (निजामती) ले ७७ मत ल्याएको छ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ३ मत पाएको छ । निर्वाचनमा ४ सय ७७ मत मध्ये ३ सय ६४ मत खसेको थियो । १९ मत बदर भएको निर्वाचन अधिकृत धर्मराज जोशीले बताए । 
गुलरिया ः यहाँ नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन विजयी भएको छ । निर्वाचनमा नेपाल निजामति कर्मचारी युनियन
(संघ)लाई १७ मत अन्तरले कर्मचारी संगठन विजयी भएको हो  । एमाले निकट संगठनले २ सय ९ मत ल्याएको थियो भने कांग्रेस निकट संघले १ सय ९२ मत प्राप्त गरेको थियो । निर्वाचनमा कुल ५ सय ७३ मतदाता मध्ये ५ सय २९ जनाले मतदान गरेका थिए । यसैगरि नेपाल राष्ट्रिय  कर्मचारी संगठन निजामतिले  ६६ र मधेशी निकट मन्चले ५६ र राकसले १ मत प्राप्त गरेको निर्वाचन कार्यालयका अधिकृत पवन शाहीले जानकारी गराए । उनका अनुसार खसेका मत मध्ये  ५ मत बदर थियो । गुल्मी ः कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा गुल्मीमा नेपाल निजामती कर्मचारी युनियन (संघ) पहिलो भएको छ । ४ सय ९२ कर्मचारी मध्ये ४ सय ७८ जना मतदानमा सहभागी भएका थिए ।


Post a Comment

 
Top