0
गोल्डेन न्यूज संवाददाता
नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा. परमेश्वर पोखरेलले नयाँ थपिएको शाखा हेम्जावासीको घरघरमा धारा वितरणको तयारी भएको बताएका छन् । शुक्रबार कार्यालयमा स्थानीय राजनीतिक दल, नगरपालिका प्रतिनिधि, वडा नागरिक मञ्चका अगुवाबीच भएको अन्तरक्रिया कार्यक्रममा एक घर एक धारा दिन संस्थान तयार रहेको बताएका हुन् । हेम्जा शाखाका कार्यालय प्रमुख राकेश गाइतको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पोखरेलले आफू पनि पोखरा नगरवासी भएको भन्दै हेम्जाको खानेपानीमा आफ्नो विशेष चासो रहेको बताए । कार्यक्रममा नेकपा एमालेका मिनबहादुर थापा, नेपाली काँग्रेसका मधुसुदन त्रिपाठी, राप्रपाका विशाल जंग कुँवर, एमाओवादीका मानबहादुर केसी, पोउमनपा वडा नं २७का सचिव कविन्द्र कुँवर, वडा नं. २९ का सचिव चक्रपाणि बाँस्तोला, खानेपानी उपभोक्ता समितिका भक्तबहादुर थापा, वडा नागरिक मञ्चका उपसंयोजक ऋषिराम पौडेल, सदस्य वासु श्रेष्ठ, नागरिक मञ्चकै दयाराम बाँस्तोला, हरियो वन कार्यक्रमबाट रमा त्रिपाठी लगायतको सहभागितामा विभिन्न जिज्ञासा राखिएको थियो । हेम्जा शाखाका कर्मचारी समिर पण्डितको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थानले भौगोलिक वनावटलाई ध्यान दिनुपर्ने, धारामा आउने धमिलोपानीको अन्त्य गर्नु पर्ने, नयाँ घर र पुरानाघरबीच कागजी प्रक्रियामा सहयोग गर्नुपर्ने, हिउँदमा पर्ने पानीको समस्यालाई बेलैमा सोच्नुपर्ने लगायत जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष पोखरेलले हेम्जाको बढ्दो सहरीकरणलाई ध्यान दिँदै संस्थान अगाडि बढ्ने विश्वास दिलाए । उनले पानीको मुहान व्यवस्थित गरिने भन्दै फोहोर पानी वितरण संस्थान मै नभएको स्पस्ट पारे । इन्जिनियर समेत रहेका अध्यक्ष पोखरेलले पानीको आवस्यकतालाई प्राथमिकता दिने भन्दै पानीको शुद्धतामा कुनै सम्झौता नहुने धारणा व्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा हेम्जावासी खानेपानी संस्थानबाट पानीको धारा जोडन आतुर रहेको सहभागीहरुले बताएका थिए । सहभागी अगुवाहरुले संस्थान धारा जडानमा तल्लिन भएर नलागेको आरोप लगाउँदै डोको वोकेर पानी खोज्ने समस्या हलगर्नु पहिलो प्राथमिकता भएको बताएका थिए ।


Post a Comment

 
Top