0
गोल्डेन न्यूज संवाददाता
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परिक्षाफल बिहीबार प्रकाशित गरेको छ । यसै वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । प्रकाशित नतिजा अनुसार एसएलसी परीक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १६ हजार ४ सय ५४ जना प्राप्त गरेका छन् । यस्तै, ३.२ भन्दा माथि देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जनाले ल्याएका छन् । २.८ भन्दा माथिदेखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ भन्दा माथिदेखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथिदेखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथिदेखि २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जनाले पाएका छन् । एसएलसी परीक्षामा सामेल भएकामध्ये ३ सय ८३ जनाको परीक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परीक्षा रद्ध गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परीक्षार्थीले बढीमा दुई विषयमा पुनः परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धिका लागि पुनः परीक्षा साउन २० र २१ गतेदेखि हुनेछ । यसमा नियमिततर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् भने पुरक परीक्षा साउन १४ देखि हुनेछ । यस्तै परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्राविधिक तर्फको नतिजा एक हप्तापछि सार्वजनिक गरिने छ । यसैबीच  यस वर्षको एसएलसी परीक्षामा सबैभन्दा उत्कृष्ट ’ए प्लस’ र कमजोर ‘ई’ ग्रेड ल्याउनेहरुको ठूलो संख्या अनिवार्य गणित विषय भएको छ । ९० अंकभन्दा माथि ‘ए प्लस’ ग्रेड ल्याउनेको बढी संख्या गणितमै छ भने २० भन्दा कम अंक ‘ई’ ग्रेड ल्याउनेहरुको संख्यालेपनि सोही विषयमा सबैलाई उछिनेको छ ।  ‘ए प्लस’ ग्रेड २३ हजार ३ सय ३४ जनाले ल्याएका छन् भने १ लाख ४६ हजार ९ सय ३५ जनाले ’ई’ ग्रेड प्राप्त गरेका छन् । यस्तै, अनिवार्य अगे्रंजी विषयमा १२ हजार ५ सय ५२ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छने भने अनिवार्य नेपालीमा जम्मा ६३ जनाले ९० अंक कटाउन सफल भएका छन् ।  गणितपछि सबैभन्दा धेरै विद्यार्थीले विज्ञान विषयमा ’ई’ ग्रेड ल्याएका छन् । १ लाख १० हजार २ सय ७४ विद्यार्थीले २० भन्दा कम अंक विज्ञानमा ल्याएका हुन् । अंग्रेजीमा ७१ हजार १ सय २४, सामाजिक शिक्षामा ४६ हजार ९ सय २८, अनिवार्य नेपालीमा २३ हजार ४६ जना परीक्षार्थीले ‘ई’ ग्रेड ल्याएका छन् । त्यस्तै ३० भन्दा कम अंक ल्याएर ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या पनि क्रमशः अंग्रेजी, विज्ञान , सामाजिक शिक्षा, गणित र नेपाली विषयमा बढी छ । डी र ई ग्रेड ल्याउनेले ग्रेड सुधार गर्न कुनै दुई विषयमा पुनः परीक्षा दिन पाउने छन् । अघिल्ला वर्षहरुमा ३२ अंक ल्याउने विद्यार्थी सम्बन्धित विषयमा उत्तीर्ण भएको मानिन्थ्यो ।



Post a Comment

 
Top