0
मुख्य कुरा डा. बाबुराम भट्टराई एकजना दूरदृष्टि भएको नेतृत्व हुनुहुन्छ । देशमा ७० वर्षसम्म जुन राजनीतिक अवस्था नियाल्दा दलहरुले लोकतन्त्र र गणतन्त्रको लागि संघर्ष गर्नुभयो, यसको लागि हामी आभारी हुनैपर्छ तर राजनीतिक क्रान्ति गर्ने जुन योग्यता उहाँहरुले देखाउनुभयो तर देशलाई समृद्ध र विकास गर्ने योग्यता उहाँहरुले देखाउन सक्नुभएन, सक्ने सम्भावना पनि देखिएन । तर डा. भट्टराईमा हामीले त्यो योग्यता र क्षमता देखेका छौं । केही समय अर्थमन्त्री हुँदा उहाँले राष्ट्रको लागि सबैभन्दा बढी राजस्व उठाउनुभयो । राष्ट्रमा विद्यमान युवाहरुको बेरोजगारीको समस्या समाधान गर्न युवा स्वरोजगार कार्यक्रम ल्याउनुभयो । प्रधानमन्त्री हुँदा मानिसहरुले असम्भव नै भनेका सडक बिस्तार उहाँ दृढताका साथ लागेर नतिजा देखाउन सफल हुनुभयो । त्यसको पछि निरन्तरता पनि भयो । यसबाट म धेरै प्रभावित भएँ । मैले विश्वका धेरै संघसंस्थाहरुमा काम गरेँ । आफ्नै राष्ट्र बनाउन अलि सशक्त ढंगबाट सक्रिय हुनको लागि राजनीतिक शक्ति नै आवश्यक हुँदो रहेछ भन्ने मैले बुझेँ । म राजनीतिमा डा.बाबुराम भट्टराईले नै नेतृत्व गरेर वैकल्पिक राजनीतिक अभियान सुरु गर्नुभएकोले सहभागी भएको हुँ । यदि अरु कसैले यो अभियान सुरु गरेको थियो भने म राजनीतिमा लाग्ने थिइन । अहिलेसम्मको यात्रा मलाई राजनीतिप्रति रुचि त पहिलेदेखि नै थियो । विभिन्न राजनीतिक नेतृत्वहरुलाई भेट्ने अवसर पनि मिलेको थियो । म उत्साहित छु किनकी मैले एकजना सबल र सक्षम नेतृत्व पाएको छु । बितेका ३० वर्षमा स्वदेश तथा विदेशका विभिन्न तहका राजनीतिक नेताहरुसँग भेटेँ । विभिन्न नियोगका नेतृत्वसँग भेट्ने अवसर पाएको छु । तर डा. भट्टराई एकदम प्रतिभाशाली र देशको लागि केही गर्छु भन्ने भावना सशक्त रुपमा भएको नेतृत्व हुनुहुन्छ । उहाँ निर्णय क्षमता भएको र नयाँ कुरा तत्काल ग्रहण गर्न सक्ने नेता हुनुहुन्छ । मैले नयाँ शक्तिमा केही (दुई तीनवटा) कार्यक्रम सुरु गर्न लागेको छु । स्वरोजगार र सहकारी विभागको प्रमुख रहेर काम गरिरहेको छु । मैले नयाँ शक्तिमा आउने मानिसहरुको लहर देखिरहेको छु । म दैनिक कार्यक्रममा सहभागी भइरहेको छैन । यो किनकी मेरो मुख्य काम मैले तीस वर्षसम्म ग्रहण गरेको विशेषज्ञतालाई अझै अध्ययन अनुसन्धान गरेर नयाँ अवधारणा पेश गर्नु मैले आफ्नो कर्तव्य सम्झिएको छु । ४० लाख भन्दा बढी युवा बेरोजगार छन् ।
साधन स्रोतमा धनी, पहिचान र परिचालनमा गरीब
डा. भट्टराईले नै युवाहरुलाई कसरी उत्पादनसँग जोडेर स्वरोजगार बनाउने भन्ने बारेमा अवधारणा बनाउन अनुरोध गर्नुभयो । मैले उहाँलाई र अन्य विज्ञ मित्रहरुलाई पनि यो अवधारणा प्रस्तुत गर्ने मौका पाएँ । एकदम राम्रो प्रतिक्रिया पाएको छु । यसलाई अन्तिम आकार दिँदै छु । हामी सुरुवात मात्रै गर्दैछौं । हाम्रो देशमा अथाह साधन स्रोत छ । यसको पहिचान र परिचालन समुचितरुपमा अहिलेसम्म भएको छैन ।
अहिलेसम्मका नेताहरुले राजनीतिक अधिकार प्राप्तिको लागि संघर्ष गरे पनि उहाँहरुको चिन्तन सामन्ती छ । कसरी युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ भन्ने बारेमा उहाँहरुले सोच्नुभएको छैन । उहाँहरु पावर गेममा दक्ष भए तर डेभलपमेन्ट गेममा एकदम कमजोर छन् । नयाँ शक्तिको राम्रो पक्ष भनेको यसमा धेरै विज्ञहरु आउनुभएको छ । विभिन्न राष्ट्र र क्षेत्रमा काम गरेका विज्ञहरु आउनुभएको छ जसले समृद्धिको अभियानमा ठूलो योगदान गर्न सक्नुहुन्छ । योगदान पनि गरिराख्नुभएको छ । काम पनि भइरहेको छ । यो पाँच÷छ महिना हामीले बृहत छलफल ग¥यौं । यसले पक्कै पनि समृद्ध नेपाल निर्माणको अभियानको नेतृत्व गर्न योगदान दिनेछ । मलाई डा. भट्टराईको नेतृत्वप्रति विश्वास छ । उहाँ सरकारको नेतृत्वमा आउन सक्नुभयो भने १० वर्ष्भित्र गरिबी र बेरोजगारबाट देशलाई मुक्त बनाउन सकिन्छ, २० वर्ष्भित्र देशलाई मध्यम स्तरको विकास भएको राष्ट्रमा विकास गर्न सकिन्छ र २५ देखि ३० वर्षभित्र देशलाई अति विकसित राष्ट्रको रुपमा विकास गर्न सकिन्छ । हामीमा त्यो क्षमता छ । साधन स्रोत, जनशक्ति यति धेरै छ कि यसलाई हाम्रो उपयोग गर्न सकेकै छैनौं । साधन स्रोत नभएकै देशहरु जापान, सिंगापुरजस्ता देशहरुले त यति धेरै विकास गरे ।
मैले देखेको छु, २०–२५ वर्ष अगाडिको भन्दा अहिलेको संसार धेरै बदलिइसकेको छ । पहिला एक दिन लाग्ने काम अहिले एक घन्टामा गर्न सक्छौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको पूर्वाधार बनाउन टेक्नोलोजी, आइटीलगायतका कारण धेरै सजिलो छ । हामीसँग राजनीतिक नेतृत्व हुनुप¥यो, भ्रष्ट हुनुभएन, डिटरमिनेशन हुनुप¥यो । राष्ट्रलाई केही गर्नुपर्छ भन्ने विचारबाट उत्प्रेरित भएर अगाडि बढ्नुप¥यो । राष्ट्रबाट फाइदा लिन मात्र लाग्नुभएन । सज्जन भएर दृढताका साथ अगाडि बढियो भने हाम्रो देशमा युवा स्वरोजगारको समस्या केही होइन ।
समृद्धिको लागि कस्तो योग्यता ?
अहिलेको समस्या भनेको हाम्रो नेतृत्वमा त्यो क्षमता र दक्षता हुनुप¥यो । उहाँहरुको सानो गाउँमा स्कूलमा पढाएर, राजनीतिक संघर्ष गरेर, जेलनेल परेर आउनुभएका नेताहरु छन् । अब त्यो जेलनेल समृद्धि राष्ट्र बनाउने योग्यता होइन । यसको लागि त साँच्चिकै विशेषज्ञ हुनुपर्छ । अहिले संसार किन यति धेरै विकसित भयो ? के ती देशहरु १० वर्ष, १५ वर्ष जेल परेको योग्यता भएका नेताले नेतृत्व गरेर समृद्ध भएका हुन् त ? अमेरिकामा हार्वाड एलबाट पढेका मानिसहरु प्रेसिडेन्ट हुन्छन्, मन्त्रीहरु पनि उच्च शिक्षा लिएका छन् । बेलायत जानुभयो भने अक्सफोर्डबाट पढेका हुन्छन् । त्यस्तै लण्डन स्कूल अफ इकोनोमिक्सबाट हुन्छन् । सिंगारपुर नै हेर्नुस् न । जहाँ हेरे पनि पढेलेखेका मानिसहरुले राष्ट्रलाई विकास गर्ने अभियानको नेतृत्व गर्न सकेका छन् । हाम्रो देशमा त्यस्तो ट्रण्ड आएको छैन । जनतालाई देशलाई सक्षम र सबल नेतृत्वको आवश्यकता छ भन्ने कुरा बुझाउन पनि गाह्रो भइरहेको छ । गल्ती होइन, गल्ती त सामन्ती शासन व्यवस्थाको हो । किनकी हाम्रा नेताहरु त्यही व्यवस्था विरुद्ध लड्नुभयो, जेलनेल खानुभयो तर उहाँहरु शक्तिमा हुँदा समाजले दिएको सामन्ती सोचाई छ । उहाँहरुले अझै राष्ट्रलाई कसरी समृद्ध बनाउने भन्दा पनि जनतालाई कसरी आफ्नो अण्डरमा राखेर ज्यूहजुर गर्ने बनाउने वा सामन्ती परम्परा बसाल्न तत्पर देखिएको पाएको छ । किनकी उहाँहरुको राष्ट्रलाई केही गर्नुपर्छ भन्ने स्वच्छ हृदय भएको भए यस्तो हुन्थ्यो ?
उहाँहरु कर्मचारीको दोष भन्नुहुन्छ, कसैले गुण्डाको दोष भन्छन् कसैले निजी क्षेत्रको भन्छ । तर शक्तिमा पुगेका मानिसले त गर्न सक्नुप¥यो नि । जस्तो कि केपी ओलीले राष्ट्रको विकास निर्माणको काम तिव्र गतिबाट अगाडि बढाउन चाहेको भए किन नसक्ने ? कर्मचारीलाई किन दोष दिने ? उनीहरु आफू असक्षम भएर, भ्रष्ट भएर कर्मचारीलाई दोष दिने । आफू सक्षम र निष्पक्ष र सदाचारी हुनुप¥यो, कर्मचारीलाई राम्रोसँग तह लगाउन सकिन्छ । कर्मचारीलाई काम लगाउनुहोस्, नगरे जागिरबाट निकाल्न नसकेपनि रिजर्भ फोर्समा राखेर तलब दिनुस् । उनीहरु आफैं तह लाग्छन् किनकी कोही पनि निष्क्रिय र प्यारालाइज्ड भएर बस्न चाहँदैन नि । नचाहिने कुरामा शक्तिको अभ्यास गर्ने चाहिने कुरामा नगरेर हुन्छ ? राष्ट्रलाई समृद्ध बनाउने छुट्टै तरिका र रणनीति हुन्छन् । त्यसको लागि अहिलेका ठूला नेता र पार्टीहरुमा ज्ञान छैन । कुहिरोका कागहरु बनिरहेका छन्, घुमिरहेका छन् । तर नयाँ शक्तिसँग गरिबीबाट राष्ट्रलाई मुक्त गर्न सकिन्छ, धनी बनाउन सकिन्छ भनेर काम गर्न सक्ने विज्ञहरु छन् । एप्रोचेस र स्ट्राटेजी छन् । हामी शक्तिमा आएपछि त्यसलाई लागू गरेर राष्ट्रलाई समृद्ध बनाउन सक्छौं त्यो पनि तोकिएको समयमा । हामी विदेशिनुपर्ने बाध्यतामा रहेका युवाहरुलाई स्वदेश फिर्ता गर्न सक्छौं । १५ वर्षमा मध्यम वर्गको आम्दानीको राष्ट्र बनाउन सक्छौं ।
रातारात कसरी सम्भव छ यो ?
दशकौंदेखि जरा गाडेर बसेका पावर गेमका खेलाडीलाई डेभलपमेन्ट गेमरहरुले कसरी विस्थापित गर्न सक्छन् भन्ने कुरा पनि आउँछ । सबभन्दा ठूलो कुरा जनता नै हुन् । यो सबै जनताको हातमा छ । हामी जति सक्छौं जनतालाई बुझाउन चाहन्छौं, हामी सक्छौं भनेर । हामी उत्पादनसँग जोडिएको युवा स्वरोजगारको कार्यक्रम चलाउँछौं । अब प्रशिक्षण पहिलाको जस्तो होइन, अब त समृद्ध राष्ट्र बनाउने भन्ने राजनीतिक प्रशिक्षक हुन्छ, त्यो भनेको आर्थिक प्रशिक्षण हो ।
अहिलेसम्मको कमिकमजोरी भनेकै ज्ञानको कमी हो र आत्मविश्वासको कमी पनि हो । हामीले युवाहरुमा म सक्छु म गर्छु भन्ने युवा व्यवसाय गोष्ठी चलाउँछौं अधिराज्यभरी । ताकि उनीहरुमा त्यो आत्मबल आओस् । कतिपय युवाहरुमा केही गर्नुपर्छ भन्ने छ तर सरकार वा नेताबाट केही दिशानिर्देश छैन । पावर गेम खेल्न जान्नेहरुले सत्तरी बर्षसम्म यस्तो केही सिकाएनन् । नयाँ शक्तिबाट यो आउँदैछ । उनीहरुलाई आत्मविश्वासी बनाउन सक्नुपर्छ ।
नसक्नेहरुलाई नयाँ शक्तिको हरेक पार्टी कार्यालयमा फ्यासिलिलेटर राख्छौं उत्पादन र स्वरोजगार र समृद्धि । उनीहरुले दिशानिर्देश गर्दछौं । किनकी हाम्रो देशमा न ज्ञानको कमी हो न साधन स्रोतको । केवल त्यसलाई कसरी परिचालन गर्ने भन्ने कुराको ज्ञानको मात्रै कमी हो । अब हामीले तिनीहरुलाई ज्ञान र सीप दिन सक्यौं भने उनीहरु आफैं रोजगार हुनसक्छन् । प्रत्येक जिल्ला, गाउँ र प्रदेशमा ज्ञान कसरी लैजाने, कसरी उत्पादनमा लगाउने, कसरी फाइदा हुन्छ उनीहरुलाई ? योजना र टुल्स दिने, बजार व्यवस्थापनमा सहजीकरण गरिदिने, पैसाको पेमेन्टको लागि सहजीकरण गरिदिने । यसरी गर्न सकियो भने हामीले थुप्रै स्वरोजगारहरु उत्पादन गर्न सकिन्छ । डा. बाबुराम भट्टराईले युवा स्वरोजगारको कार्यक्रम सञ्चालन गर्नुभयो । हुन त अहिले यसको पर्फम्यान्स एकदम कमजोर छ । अहिले तथ्यांक हेर्दा गत आठ वर्षमा जम्मा २४ हजार युवालाई मात्र पैसा दिएको रहेछ । झण्डै १ खर्ब नेपाल राष्ट्र बैंकमा निष्क्रिय भएर बसिरहेको छ । युवालाई पैसा दिएर प्रोत्साहन दिएर अघि बढ्न सकेको छैन । नसकेको होइन उनीहरुमा विशेषज्ञता पनि छैन, केही गर्छु भन्ने चाहना पनि छैन । अहिलेको राजनीतिक यथास्थिति छ, ७० वर्षदेखिको जरा गाडेकाहरुलाई आउट गर्ने भन्ने छ । जे पनि हुनसक्छ । माहौलको कुरा हो । हामीले माहौल सिर्जना गरेर जनतालाई बुझाउन सकियो भने माहौल सिर्जना हुन्छ । बर्खाको भेलजस्तै उनीहरुलाई बगाउन पनि सक्छन् । जनता अहिले निरुत्साहित छन् ।
गफ गरेर देश बन्दैन, काम गरौं
जलस्रोतको धनी देश भन्छ अन्धकारमा बसिरहेको छ । काठमाडौंमा त खानेपानी पनि छैन । जलको धनी देश, हाम्रो प्रधानमन्त्री चाहिने नचाहिने गफ लगाउँछन्, खानेपानी र बत्ती छैन तर चाइनामा बत्ती बेच्छु रे । तेल र पानी जहाजका कुरा । सपना हुनुपर्छ तर त्यस्तो नचाहिने र अपत्यारिलो सपना बेचेर पनि देश विकास हुन्छ ? पत्याउने कुरा गर्नु पर्यो नि ? अपत्यारिलो र हुनै नसक्ने कुरा गरेर अशिक्षित जनता झुक्याउने चाल रचेर हुन्छ ? अहो साँच्चै गर्छ कि भन्ने पारेर त्यस्तो गर्नु सिधै राष्ट्रलाई धोका हो नि । आफू सधैं पावरमा बस्ने रणनीति हो, देशलाई धोका हो । तर नयाँ शक्तिले नसक्ने केही कुरा गर्दैन । शक्तिमा आउन सकियो भने अगाडि बढ्छौं ।
अहिले चुनाव आउन झण्डै डेढ वर्ष बाँकी छ, त्यसमा हामी सशक्तरुपमा अगाडि बढ्छांै । यो च्यालेन्जिङ छ तर हामीलाई जनताप्रति विश्वास छ । ७० वर्षको स्थिति हेरेर विरक्तिएका जनताले विकल्प खोज्छन् भन्नेमा हामी विश्वस्त छौं । आगामी निर्वाचनबाट देशको प्रमुख राजनीतिक दलमा स्थापित हुने सम्भावना मैले देखेको छु । यसको लागि हामी एकदमै मेहनत गर्न आवश्यक छ ।
भनेर मात्र नयाँ भइन्छ र ? के छन् गर्ने आधार ?
सबभन्दा ठूलो कुरा पहिले नेताहरु नै ठिक हुनुपर्छ । आचरण राम्रो हुनुपर्छ । आफू ठिक भए अरु ठिक हुन्छन् । समस्या सबैको छ । हाम्रो पार्टीमा लाग्ने सबै भित्रै मनबाट राष्ट्रलाई केही दिन्छु भन्ने हिसाबबाट आउनुपर्छ, केही पाउँछु भनेर । यसकारण नेताहरु सज्जन छन्, नचाहिने काम, भ्रष्टाचार गर्दैन, लोभ छैन भने स्वतः कार्यकर्ताहरु पनि त्यही अनुसार लाग्छ । नेताहरु नै गुण्डागर्दी गर्ने खाल, भ्रष्ट छन् भने स्वतः कार्यकर्ताले त्यसलाई कपी गर्दछ । पुराना दलहरुमा भएको त्यही हो । नेताहरुले मनपरी गर्छन् भने कार्यकर्ता किन चुप लाग्छन् त ? यसकारणले नयाँ शक्तिका जति पनि नेताहरु छन् मलाई विश्वास छ, उनीहरु ठिक छन्, सक्षम छन्, बदमास छैनन् । हो, हाम्रा कार्यकर्तालाई दुःख होला, आर्थिक समस्या होला । तर हामी कतैबाट चोरेर दिँदैनौं । ठिक छ, बरु एक दिन भोकै बसौंला, बस्नुपनि पर्छ । यदि राष्ट्रलाई केही दिनुछ भने । तर नेताले कार्यकर्तालाई खुसी बनाउने निहुँमा चोरेर ठगेर दिन थाल्यो भने के को नयाँ ? पुरानै बन्छ नि । यसकारण हामीले अहिलेदेखि नै प्रष्ट हुनुपर्छ ।
मलाई पनि कतिले भेट्छन्, म भन्छु मैले दिनसक्ने भनेको ज्ञान हो । मेरो अनुभव बाँढ्ने हो । त्यो ज्ञान लिनुहोस् र तर एकपैसाको आसा मबाट नगर । राम्रो काम गर्न सूचना दिन तयार छु । नयाँ शक्तिले गर्ने यस्तै काम हो । सूचना दिने, ज्ञान दिने जसले व्यवसाय गर्न सजिलो होस्, नाफामुलक होस्, व्यापामुलक बनोस् । यसर्थ, मलाई के लाग्छ भने हाम्रा कार्यकर्ता उनीहरुका भन्दा फरक हुन्छन् । उनीहरुले काम गर्नेछन्, दुःख गर्नेछन् । कांग्रेस र एमालेका जस्ता होटेलमा जाँड रक्सी खाने नगर्लान् । मासुभात नखाए पनि सागभाग र पानी खाएर पनि बाँच्लान् । यसकारण हाम्रा कार्यकर्ता नै फरक हुन्छन् ।
लाखौं युवालाई कसरी फर्काउने स्वदेश ?
अहिले हामीले तीनवटा कार्यक्रम तत्काल सञ्चालन ल्याउँछौं शक्तिमा नआउँदा पनि । उत्पादन र युवा स्वरोजगार केन्द्र, दोस्रो स्मार्ट बिजिनेस सहकारी व्यवस्थापनको विकास, तेस्रो कार्यक्रम म सक्छु, म गर्छु युवा व्यावसाय । यसबाट हामीले अधिराज्यभरमा रहेका युवाहरुलाई कसरी स्वरोजगार गर्न सक्छौं । त्यसमार्फत ज्ञान, ऋण, प्रोत्साहन दिन सकिन्छ । सहुलियतपूर्ण ऋण, कच्चा पदार्थ आवश्यक पर्छ । यसले बनाएको उत्पादनलाई गुणस्तरीय बनाउने, बजारीकरण र स्मार्ट बिजीनेस कोअपरेटिभबाट गर्न सक्छौं । व्यवस्थापनमा सहयोग गर्छौं । कुनै व्यावसाय गर्न प्रोत्साहित गर्दछौं । यो पार्टी सत्तामा नजाँदै पनि लाखौंलाई स्वरोजगार गराउने रणनीति हो । कहाँ कसरी कस्तो व्यावसाय गर्दा बढी नाफा हुन्छ भन्ने बारे अध्ययन पनि गर्दछौं । सबै गाविसमा अहिले भर्खरैं यो काम गर्न सक्दैनौं । हामी विज्ञहरु छौं तर साधन स्रोत छैन । अहिले केही जिल्लामा नमूना परियोजनाको रुपमा सुरु गर्दछौं । तर हामी सत्तामा आइसकेपछि हामी धेरै काम गर्दछौं । जस्तो कि हामीले भर्खरै ल्याएको अबधारणामा कुन क्षेत्रमा कति रोजगार सिर्जना गर्न सकिन्छ भन्ने स्टिमेट गरेको छु । जस्तो कि पूर्वाधार निर्माण जस्तो बाटोघाटो, रेलमार्ग, सडक बनाउन १० लाख रोजगारी सिर्जन ागर्न सक्छौं । त्यस्तै हाइड्रो सोलार र वाइन्ड इनर्जीमा पाँच लाख, पर्यटनमा ७ लाख, उद्योगमा ५ लाख, कृषि र पशुपालनमा ८ लाख, स्वास्थ्य र शिक्षामा तीन लाख, प्राकृतिक सेत साधन व्यवस्थानमा २ लाख र सेवा क्षेत्रमा १० लाख गरेर करिब ५० लाख भन्दा बढी १० वर्षमा रोजगार सिर्जना गर्ने योजना बन्दैछ ।
कसरी बन्छ भन्ने कुरा हामी विस्तृतरुपमा गृहकार्य गरिरहेका छौं । ५० मा १० लाख केही वर्षमा स्वरोजगार गराउन सकिन्छ । यो अनुमानित अंक हो यो । यसको लागि हाम्रो लगानी चाहियो ठूलो मात्रा । त्यो कसरी आउँछ, कहाँबाट आउँछ, व्यवस्थापन कसरी गर्न सकिन्छ, यसलाई कसरी कसरी लागू गर्न सकिन्छ ? यसको लागि कस्तो एप्रोचेज र रणनीति विकास गर्छौं । अहिलेजस्तोले हुँदैन । जस्तो कि १० किलोमिटर बनाउन १० वर्ष लाग्छ चाइनामा ६ मिहना एक वर्षमा बन्छ । १० मेगावाट विद्युत निकाल्न १५ वर्ष लाग्छ हाम्रोमा तर चाइनामा २ वर्षमै निकाल्छ । हामीले त्यस्तो किसिमको रणनीतिहरु तयार गर्छौ जसले गर्दा यी लक्ष्यहरु सजिलै प्राप्त गर्न सकिन्छ । यस्तो मार्ग्चित्र र रणनीति स्पष्ट रुपमा तयार गर्दैछौं । दुई महिनाभित्र हामी यो सार्वजनिक गर्दछौं ।
३० गतेको सन्देश
युवाहरु नयाँ शक्ति नेपाल नयाँ पार्टी बनेकोमा खुसी हुनुपर्छ । यो युवाहरुको लागि, भविष्यको लागि राम्रो पार्टी हो । यसले मात्रै युवाहरुको भविष्य उज्ज्वल बनाउन सक्छ । यो पार्टी नबन्ने हो र पुरानै सामन्ती ढाँचाको ठूला–ठूला पार्टीहरुले अर्को १० वर्ष राज्य गर्ने हो भने यो देश कहिल्यै उँभो लाग्न सक्दैन । युवाहरुले धेरै दुःख पाउनेछन् । उनीहरुले जहिले पनि दुःख पाउनेछन् । यो देशको भविष्य हुँदैन । युवाको भविष्य हुने कुरा भएन । यसैले नयाँ शक्ति एकदम सही समयमा आएको छ । यसलाई युवाले एकदमै स्वस्फूर्त तरिकाले साथ दिनुपर्छ । नयाँ शक्ति अर्को निर्वाचनमा पहिलो पार्टीको रुपमा आउनुपर्छ । यसले युवाहरुको भविष्य उज्वल बनाउँछ, बनाउनैपर्छ ।
लेखक नयाँ शक्तिका नेता हुन् ।

Post a Comment

 
Top