0
गोल्डेन न्यूज संवाददाता
पोखरेली दर्शकको मायाले उत्साहित बनेको फिल्म कर्म क्याँ (कर्मको बाटो) को प्रदर्शन आगामी असार ४ गते लमजुङमा हुने भएको छ । लमजुङ बेसीशहरमा रहेको अन्नपूर्ण चलचित्र मन्दिर विहान ८ बजे, मध्यान्न १२ बजे र दिउँसो ३ बजे गरी तीन सो हुने निर्माणपक्षले जानकारी दिएको छ ।  जसु गुरुङ निर्देशित यो फिल्मको प्रर्दशन पोखरामा जेठ १५ गते भएको थियो ।  पोखरामा दर्शकको अपार मायाले उत्साहित बनेको टीम लमजुङमा दर्शकको सर्पोट झनै मिल्नेमा आशावादी छ । फिल्म लमजुङकै गाँउमा छायांकन गरिएको हो ।  लमजुङमा छायाकंन गरिएको र त्यहाँका स्थानिय कलाकारको अभिनय समेत रहेकोले दर्शकको उपस्थिति उल्लेख्य हुने टिमको विश्वास छ ।  देखेको होइन कर्ममा लेखेको नै हुन्छ भन्ने सन्देश फिल्ममा दिन खोजिएको निर्देशक जसु गुरुङ बताउँछिन् । करिब २५ वर्ष पुरानो लमजुङको गुरुङ गाउँको परिवेशको कथालाइ फिल्मको माध्यमबाट दर्शकमाझ पस्केकोले यसलाई नयाँ तथा पुराना दुवै पुस्ताले महत्वका साथ हेरेकोले उनी उत्साहित भएकी छन् ।  ‘पुरानो कला, संस्कृति र रहनसहनलाई मैले फिल्ममा समेट्ने कोशिष गरेकी छु’ जसुले भनिन् । फिल्मका निर्मातामा लोकबहादुर गुरुङ र धर्ममाया गुरुङ, सह–निर्देशकमा गजेन्द्र गुरुङ, छायांकन भेषबहादुर गुरुङ, कथा शंकर गुरुङ (बतासे)को रहेको छ । यस अघि भाग्य र आगे ठागुमा अभिनय गरिसकेका सुजित गुरुङ फिल्ममा नायकको रुपमा देखिएका छन् । मनाङे नानी र मेलामा अभिनय गरिसकेकी रिया गुरुङले नायिकाको भूमिका निभाएकी छन् । फिल्ममा गजेन्द्र गुरुङ, रसिला गुरुङ, बालकलाकार मञ्जु गुरुङका साथमा लमजुङकै विष््णु गुरुङ, लक्ष्मी गुरुङ तथा स्थानीय कलाकारको अभिनय गरेको उनले बताइन् । फिल्ममा संगीत धन बहादुर गुरुङले भरेका छन्् ।  गुरुङ फिल्म नास मु ह्रैगो, जुनीजुनी, च्हचमी, सुराग, गेटपास, फिस्री (युवा), लगायतका आधा दर्जन गुरुङ फिल्ममा सह–निर्देशनको जिम्मा लिई आफ्नो क्षमता प्रर्दशन गरिसकेकी जसुले यस फिल्म कर्म क्याँ (कर्मको बाटो) बाट निर्देशनमा हात हालेकी हुन् ।  दुइ घण्टा लामो यो फिल्मले दर्शकलाई  कुनै बेला हसाउँछ त कुनै बेला रुवाउँछ । विभिन्न उतार–चढावले दर्शकलाई फिल्मको मजा दिलाउन खोज्छ । १४ लाख भन्दा बढीको  लगानीमा फिल्मको निर्माण गरिएको हो ।  फिल्ममा तीन वटा गीत रहेका छन् ।  यी गीतले फिल्मको कथा र विषयवस्तुलाई थप मलजल गर्ने काम गरेको छ । फिल्मको भिआपी शो जेठ १३ गते पोखरामा भएको थियो ।







Post a Comment

 
Top