0
गोल्डेन न्यूज संवाददाता
हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा अवस्थित लोमान्थाङ दरबार भूकम्पका कारण क्षतिग्रस्त बने पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । सो दरबार पन्ूौँ शताब्दीमा तत्कालीन मुस्ताङ्गी राजा आमेपालले स्थानीय बासिन्दाको सहयोगमा काँचो माटोबाट बनाएका थियो । मुस्ताङ्गी राजाको निजी सम्पत्तिका रुपमा रहे पनि ऐतिहासिक एवम् पुरातात्विक सम्पदा भएका कारण यसको पुनःनिर्माणका लागि पुरातत्व विभागले चासो दिइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । कुँवरका अनुसार लोमान्थाङ दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने अवस्थामा पुगेको छ । “भूकम्पपश्चात् पुरातत्व विभागको टोलीले दरबारमा भएको क्षतिबारे स्थलगत अवलोकन गरिसकेको छ”, उनले भने–“यसको पुनः निर्माणका सम्बन्धमा स्थानीयवासी सँग अन्तक्र्रिया पनि गरेका छौँ ।” यस दरबारमा वर्तमान मुस्ताङ्गी राजा जिग्मे परवल विष्ट बस्दै आएकामा हाल उनी बिरामी भएका कारण काठमाडौँमा उपचार गराइरहेका छन्। ऐतिहासिक एवम् पुरातात्विक यो दरबारको संरक्षणका लागि राज्यस्तरबाट खासै चासो नदिइएको मुस्ताङ्गी राजाका सहयोगी इन्द्रधारा विष्टले बताए ।दरबार हेर्नका लागि धेरै स्वदेशी एवम् विदेशी पर्यटक लोमान्थाङ आउने गरेको बताउँदै उनले यसको पुनःनिर्माण यथाशक्य चाँडो गर्नुपर्ने धारणा राखे ।
त्यस्तै उपल्लो मुस्ताङमा रहेका सङ्घसंस्थाले समेत क्षतिग्रस्त दरबारको चाँडो पुनःनिर्माण हुनुपर्ने बताउँदै आएका छन् । नौ वटा कुना भएको पाँच तले यो दरबारमा १०८ कोठा रहेको मुखिया झवाङ विष्टले जानकारी दिए । पाँच तलामध्ये भुइँ तला बदमासी गर्नेहरूलाई थुन्नका लागि बनाइएको हो भने माथिल्ला चार वटा तला राजाको विभिन्न प्रयोजनका लागि बनाइएको हो । दरबारको चारैतर्फको बरन्डामा कालो रङले पोतिएको छ । लोमन्थाङस्थित ठूलो पर्खालभित्र दरबारसहित गुम्बा र ठूलो समुदायको बस्ती नै रहेको छ । पर्खालभित्र दरबारसहित, तीन वटा गुम्बा र एक सय ४४ वटा घर रहेको विष्टले जानकारी दिए । पर्खालभित्रका घर पहिचान गर्न प्राचीनकालमा गरिएको व्यवस्था पनि यहाँको छुट्टै विशिष्टता हो । लोमान्थाङ परखालभित्र सबै कुनामा कालो रङ लगाएको घर दरबार हो । घरको अगाडि मात्र रङ लगाएका घर राज परिवारसँग सम्बन्धित विष्टहरूको घर हो । त्यस्तै दुई तले तर रङ नलगाइएको घर अन्य सर्वसाधारणको हो भने एक तले घर दलितहरूको हो । ऐतिहासिक दरबार भित्रका विभिन्न भागमा भूकम्पले क्षतिग्रस्त बनाएको मुखिया विष्टले जानकारी दिए । “दरबार हेर्न आउने पर्यटकलाई दृष्टिगत गरी क्षतिग्रस्त संरचनाको तत्काल पुनःनिर्माण गर्नुपर्ने देखिन्छ”, उनले भने–“अति प्राचीन संरचना भएका कारण पनि यो स्वदेशी एवम् विदेशी पर्यटकका लागि निकै आकर्षणको केन्द्र बन्दै गएको छ ।” लोमान्थाङ दरबार आफैँमा महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको स्थल भएको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा दरबार हेर्नका लागि आउने पर्यटकका लागि पनि विद्यमान क्षतिग्रस्त संरचना खतर्नाक हुन सक्नेतर्फ सम्बद्ध निकाय गम्भीर बन्नुपर्ने बताउछन्।



Post a Comment

 
Top