0
गोल्डेन न्यूज संवाददाता
सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माणका लागि स्थानीयस्तरबाट काम थालिएको छ । बृहत् पोखराको अवधारणा अनुसार लेखनाथ नगरपालिका–११, १२, र १४ स्थित पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखाना निर्माणको कार्य अघि बढाइएको हो । युनाइटेड क्लब पोखराको विशेष पहल एवम् स्थानीयवासीको सक्रियतामा १३४ हेक्टर क्षेत्रफलमा चिडियाखाना निर्माण गर्नका लागि स्थानीय तहबाट काम सुरु गरिएको क्लबका अध्यक्ष एवम् पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए । पर्यटकीय नगरी पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिडियाखाना स्थापना गर्न क्लबले २०६७ यता बर्सेनि पोखरा महोत्सव गर्दै आएको तथा सो महोत्सवबाट हुने आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ । उक्त रकम र नगरपालिकाको सहयोगमा स्थानीयस्तरबाट निर्माण कार्यअघि बढाइएको हो । अध्यक्ष बख्रेलका अनुसार सुरुमा चिडियाखाना प्रवेशको मूल मार्ग, कार्यालय र सभाकक्ष निर्माण गरिने छ । चिडियाखाना प्रवेशका लागि निर्माणाधिन करिब १०० मिटर लम्बाइको बाटो रु आठ लाखको लागतमा निर्माण हुने र कार्यालय, सभाकक्ष, प्रवेशद्वार निर्माण गर्न करिब रु ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । निर्माणाधिन चिडियाखानामा अवलोकन गर्न जालीको डोम निर्माण गरी जनावर र पक्षीलाई खुल्ला छाडिने योजना छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावरको कक्ष बनाउने लक्ष्य छ । सामुदायिक वनमा भएका जनावरको अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तु प्रदर्शनी कक्षसमेत निर्माण गरिने छ । वन्यजन्तुको लालनपालन र तिनीहरूको स्वास्थ्यलाई ख्याल राख्न वन्यजन्तु संरक्षण केन्द्र स्थापना गरिने अध्यक्ष बख्रेलको भनाइ छ । नेपालकै पहिलो खोरमुक्त आधुनिक चिडियाखानामा बाल उद्यान, बल्छी हान्ने पोखरी, डुङ्गाशयरका लागि ताल, जङ्गल सफारीलगायत अतिरिक्त क्रियाकलापलाई समेट्ने लक्ष्य राखिएको छ । हिमाली दृश्यावलोकन सहित तालको अवलोकनमा रमाउन चाहने पर्यटकले एकसाथ चिडियाखानामा वन्यजन्तु एवम् चराचुरुङ्गी हेर्ने अवसर पाउने पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर घिमिरेले बताए । यस क्षेत्रमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी तथा बाघ, मृग, अजिङ्गर जस्ता जनावर पाइन्छन् । एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइने यो क्षेत्रलाई विश्वकै नमुना प्राकृतिक चिडियाखानका रुपमा विकास गर्न सकिने घिमिरेको भनाइ छ । “चिडियाखानाका रुपमा विकास गर्दा रुपातालको समेत संरक्षण हुने छ,” उनले भने। निर्माणबारे जानकारी लिन आएको नेपाल प्राकृति संरक्षण कोषको टोलीले स्थानीयवासीलाई चिडियाखाना निर्माणका लागि जङ्गललाई राष्ट्रियकरण गर्न सुझाव दिएको अध्यक्ष घिमिरेले बताए। “चिडियाखाना निर्माणका लागि करिब १०० हेक्टर जङ्गल राष्ट्रियकरण गर्नुपर्ने सुझाव आएको छ,” उनले भने । पोखरासहित लेखनाथको पर्यटकीय विकासका लागि निर्माणाधिन चिडियाखाना अत्यन्त उपयोगी हुने पत्रकार विष्णुहरि पौडेलको धारणा छ । उनले भने–“चिडियाखाना निर्माणसँगै पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ।”







Post a Comment

 
Top