0
गोल्डेन न्यूज संवाददाता
प्रत्येक तीन महिनामा शरीरले नयाँ रगत उत्पादन गर्ने भएकाले स्वास्थ व्यक्तिले नियमित रुपमा रक्तदान गनुपर्नेमा जोड दिइएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सोमवार पोखरामा आयोजना गरेको रक्तदाता उत्प्रेरणा कार्यक्रममा बोल्ने वक्ताहरुले शरीरमा भएको रगत दान गर्नाले विरामीले नयाँ जीवन प्राप्त गर्ने बताए । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले विरामी तथा घाइते मानिसको ज्यान बचाउन रगत बाहेक अरु विकल्प नभएकाले रक्तदाताको संख्या वृद्धि गर्न जनचेतना जगाउनुपर्नेमा जोड दिए । रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाले स्वयमसेवी रक्तदाताको सहयोगले नै कास्कीमा रगतको अभाव नभएको बताउँदै आगामी दिनमा नियमित रुपमा रक्तदान गर्न आग्रह गरे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका वरिष्ठ प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले ७२ जिल्लामा रक्तसञ्चार सेवा उपलब्ध रहेको जानकारी दिए । नेपालमा प्रत्येक दिन १ हजार २ सय युनिट रगतको माग छ । दैनिक ५० युनिट रगत पूर्ति हुने गरेको छ । यहाँ नियमित २ सय ५० संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । विश्वमा ९० प्रतिशत कम्पोनेन्ट रगतको प्रयोग हुने गरेको छ भने नेपालमा कम्पोनेन्ट रगतको प्रयोग करिव ५० प्रतिशत प्रयोग भएको पाइएको छ । पोखरामा प्लेटलेट रिच प्लाज्मा, प्लाज्मा, प्याक सेल र होल ब्लड गरि कम्पोनेन्ट रगत तयार गरिन्छ । चिकित्सकको सिफारिसमा विरामीको  आवश्यकता अनुासर रक्त तत्व मात्रै प्रदान गर्नाले बाँकी रगत अरु विरामीको लागि उपयोग गर्न सकिन्छ । क्षेत्रीय रक्तसञ्चारमा रगतको तत्व छुट्याउने प्रविधिकासाथै  इलाइजा प्रविधिबाट रक्त परिक्षण लगायतका सेवा प्रदान गरिने रेडक्रस कास्कीका कोषाध्यक्ष एवम् स्वास्थ्य समितिका संयोजक धर्मराज अधिकारीले जानकारी दिए ।
१८ वर्ष पुरा भएका स्वस्थ पुरुषले तीन तीन महिनाको फरकमा र स्वस्थ महिलाले चार चार महिनाको फरकमा रक्तदान गर्नसक्नेछन् । गर्भवती महिला, दुर्घटनामा परेका घाइते, शल्यक्रिया, डाइलोसीस गरिरहेका र हेमोफेलियाका विरामीहरुलाई रगत अति आवश्यक पर्दछ । कार्यक्रममा पोखराका विभिन्न संघसंस्था तथा स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो । उनीहरुले सो अवसरमा रक्तदान सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । हाल पोखरामा सरकारी र निजी गरि १८ वटा अस्पताल सञ्चालित छ । यसमध्ये २ वटा मेडिकल कलेज छन् । पोखरामा विस २०३५ शालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको पहलमा स्थापना भएको क्षेत्रीय रक्तसञ्चार सेवा  पोखराले हाल कास्कीमा वार्षिकरुपमा झण्डै १५ हजार युनिट रगत संकलन गर्ने गर्दछ । यस क्षेत्रमा महिला रक्तदाताको संख्या १३ प्रतिशत रहेको छ ।  शान्तिदिप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटले आकस्मिक वा ताजा रगत आवश्यकप पर्ने विरामीको लागि तत्काल रगत उपलब्ध गराउँदै आएको युनिट व्यवस्थापक हरिश्चन्द्र शर्माले जानकारी दिए । यस क्षेत्रमा संकलन गरिएको रगत काठमाडौ, चितवन, बुटवल लगायतका क्षेत्रमा पनि पठाइने गरिएको रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति वामदेव ढुङ्गानाले जानकारी दिनुभयो । बढ्दो जनचेतनासँगै रक्तदान गर्नेको सङख्या पनि बढ्दै गएको छ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका वरिष्ठ प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले राष्ट्रिय रक्त कार्यक्रम,  प्राध्यापक डा. विष्णुराज तिवारीले रगत र दिपेन्द्र श्रेष्ठले रक्तदाता उत्प्रेरणा सम्बन्धी सहजिकरण गरेका थिए ।  रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखाका उपनिर्देशक खेमराज सापकोटाले गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र क्षेत्रीय रक्तसञ्चार सेवा पोखराको सहयोगमा सो कार्यक्रम भएको हो ।



Post a Comment

 
Top