0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानमा यतिबेला जिल्लाहरुको चुनावको माहोल छ । कास्कीमा आगामी असार ५ गते आईबार निर्वाचन हुँदैछ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर अधिवेशनको तयारी पुरा भएको जनाएको छ। तर जिल्लाबाट अधिवेशनमा सहभागी हुने सदस्य र प्रतिनिधिको संख्या कति भन्ने स्पष्ट हुन सकेन। यद्यपि निर्वाचनका लागि आन्तरिक तयारी पुरा भएको जनाईएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । प्रतिष्ठानका प्रमूख संरक्षक प्रजापति पराजुलीले सकेसम्म सर्वसम्मत गराउने तयारी भएको बताएका छन्। तर बजारमा अहिले २ जनाको नाम चर्चामा छ ।कास्कीको नेतृत्वको लागि अहिलेका अध्यक्ष रहेका शिवहरि ढुङ्गाना र संस्थापक सदस्य प्रेमराज अधिकारीको नाम चर्चामा छ । केहि समय पहिला कास्कीको अध्यक्षको लागि रामजी पौडेलको नाम पनि चर्चामा आएको थियो । तर अहिले उनी अध्यक्ष बन्ने मनस्थितिमा नरहेको बुझिएको छ ।
प्रेमराजको सम्भावना बलियो
खासगरी यो अधिवेशनमा प्रेमराज अधिकारी अध्यक्ष बन्ने लगभग पक्का जस्तै भएको बुझिएको छ । दोहोरीको क्षेत्रमा गीत संगीतमा पोख्त व्यक्ति भएपनि नेतृत्व गर्न सक्ने मानिस नभएको गुनासो आईरहेका बेला त्यसको विकल्प प्रेमराज हुन सक्ने बताइएको छ ।
प्रेमराज आँफै शैक्षिक क्षेत्रमा लामो समय देखि आवद्ध छन् भने दोहोरीको क्षेत्रमा उनी निरन्तर सक्रिय रहेका छन् । उनी कास्कीका संस्थापक सदस्य समेत हुन् । यसर्थ पुराना कलाकारको समर्थन उनलाई रहेको छ भने शैक्षिक क्षेत्रमा अहिलेसम्म राम्रो दक्षता देखाईरहेका प्रेमराजले प्रतिष्ठानको सफल नेतृत्व गर्न सक्ने अनुमान केहि नयाँ कलाकारहरुले पनि गरेका छन् । संस्थापक सदस्य भएपनि प्रेमराजको अहिलेसम्म एउटा पनि एल्बम नभएकाले उनीको आलोचना हुने पक्का रहेको छ ।
शिवहरि संकटमा
प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुङ्गानाले एक कार्यकाल करिब सन्तोषजनक तरिकाले पुरा गरेका छन् तर यो बीचमा उनले एउटै गीतले कार्यकाल पुरा गरेको आरोप छ । स्टेजमा राम्रो प्रस्तुति दिन सक्ने ढुङ्गानाको अन्य एल्बमहरु बजारमा नआउँदा दर्शक र श्रोताबाट उनी आलोचित छन् । दोश्रो पटक शिवहरि कास्कीको अध्यक्षमा आकांक्षी देखिएका छन् । शिवहरिको यो आकांक्षालाई कतिपयले स्वभाविक भनेका छन् । खासगरी उनी कास्कीको अध्यक्ष दोहोरी चाहानुको कारण अञ्चलको नेतृत्व रहेको बुझिएको छ।
अञ्चलमा रहेको अहिलेको कार्यसमितिमा अत्यन्तै प्रतिष्पर्धा रहेको र अञ्चलमा आफू जाने सम्भावना नरहेकोले ढुङ्गाना जिल्लाकै नेतृत्व दोहो¥याउन चाहन्छन् । उनले यो कार्यकाल दोहो¥याउन अग्रजदेखि नयाँ कलाकार सबैलाई व्यवस्थापन गर्नु जरुरी देखिन्छ । प्रेमराज अधिकारी अघिल्लो कार्यकालमा नै अध्यक्षमा आकांक्षी थिए तर उनलाई बाईपास गरेर ढुङ्गाना अध्यक्ष बनेको कलाकारहरुको भनाईलाई आधार मान्दा अहिलेको नेतृत्व दोहो¥याउन ढुङ्गानालाई गाह्रो छ । अग्रजकै दवावमा उनले अन्तिम तिर प्रेमराजलाई नै समर्थन पनि गर्ने सम्भावना छ ।
दोहोरीमा आशिर्वादको महत्व
दोहोरीको क्षेत्रमा सुन्न सकिने एउटा चर्चित शब्द हो ‘आशिर्वाद’ । नयाँ कलाकारले पुरानालाई गर्नुपर्ने जयजयकारबाट केहि पुराना र अधिकांश नयाँ कलाकार असन्तुष्ट छन् । खासगरि यो क्षेत्रमा अत्याधिक मेला महोत्सव हुने गर्दछन् । र त्यहाँ पुग्ने कलाकारहरु क्षमताको आधारमा भन्दा पनि आशिर्वादको आधारमा पुग्ने गर्दछन् । भनौँ जसले रिझाउन सक्छ उसले स्टेज पाउछ । एक कलाकारले भने–‘कामै नभए पनि अग्रजलाई फकाउन र रिझाउन राति सपनामा देखेको भन्दै बिहानै फोन घुमाउने गर्छन् ।’ यसले पनि के देखाउछ भने यो क्षेत्रमा अघि बढ्न समिति व्यक्तिको आशिर्वाद अनिवार्य छ भन्ने सोच्दछन् । उनिहरुले जे भन्यो त्यहि मान्ने गर्दछन् । यसले पनि यो निर्वाचनलाई असर पर्नेछ । अग्रजको आशिर्वाद कस्लाई रहन्छ भन्ने कुराले दोहोरी प्रतिष्ठानको आगामी नेतृत्वलाई असर गर्दछ ।
नयाँ कलाकारको असन्तुष्टि
यो क्षेत्रमा भर्खर प्रवेश गरेका कलाकार पुराना कलाकारको शैलि प्रति चरम असन्तुष्ट देखिन्छन् । पछिल्लो समय कलाकारको राम्रो आम्दानी हुने क्षेत्र मेला र महोत्सब भएकाले पनि त्यहाँ जान आशिर्वाद आवश्यक पर्ने भएकाले क्षमता भएका कलाकारहरु असन्तुष्ट छन् । उनीहरुले अहिलेको नेतृत्वले यो प्रवृत्ति चिर्न सक्नुपर्ने बताएका छन् । तर यो सम्भावना भने न्यून देखिन्छ ।

Post a Comment

 
Top