0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१७ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम शुक्रवार सम्पन्न भयो । समीक्षामा सन् २०१६ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा भएका मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाहरुका बारेमा सरोकारवाला निकायहरुसंग छलफल गरिएको थियो । जिल्लामा पछिल्लो छ महिनाको अवधिमा २९ जना महिला र ४ जना पुरुष गरी ३३ जना नागरिक मानवअधिकार उल्लंङ्घन र ज्यादतिबाट पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । घटनामध्ये यस अवधिमा एक बालिका र एक महिला गरी दुई जनाको परिवारबाटै हत्या भयो । उनका अनुसार कास्कीमा बाल अधिकार अन्तर्गत बालविवाहबाट १ बालिका, बलात्कारबाट ६ बालिका र यौनदुव्र्यवहारबाट ४ बालिका र २ बालक गरी १३ जना पीडित भए । महिला अधिकार अन्तर्गत घरेलु हिंसाबाट १, बहुविवाहबाट ४ जना, बलात्कार तथा बलात्कार प्रयासबाट २ जना, यौनदुव्र्यवहारबाट २ जना र मानव वेचविखनबाट ६ जना गरी १५ जना महिला पीडित भए भने जातिय भेदभावबाट २ पुरुष र १ महिला गरी ३ जना पीडित भए । कार्यक्रममा सहभागी सरोकार वालाहरुले पछिल्लो समय समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । इन्सेकले हरेक वर्ष प्रकाशित वर्षपुस्तकलाई पीडितहरुले घटनाको प्रमाण तथा सूचनाको स्रोतका रुपमा प्रयोग गर्ने गरेको, अधिकांश  महिला हिंसाका घटनामा मिलापत्र हुने गरेको तथा ग्रामिण क्षेत्रमा भएका मानव अधिकार हनन्का घटनाको अभिलेखिकरण हुन नसकेको बताए । साथै सहभागीहरुले नागरिकको आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकारलाई समेत अभिलेखिकरण गर्नुपर्ने सुझाव दिए । इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्सेक पोखराका प्रलेख अधिकृत टंक खनालले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजी बराल, नेकपा एमाले जिल्ला सदस्य राधिका शाही, मासमका अध्यक्ष कमल अर्याल, मानव अधिकार एलायन्सका जिल्ला अध्यक्ष रामचन्द्र पौडेल,कारागार प्रमुख हरि गौतम, शान्तिका लागि नागरिक समाजको सञ्जालकी सरलाकुमारी पाण्डे, महिला विकास अधिकृत विन्दु भण्डारी, पिपुल्स फोरमकी भुवन पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।






Post a Comment

 
Top