0
गोल्डेन न्यूज संवाददाता
नेपाल युवा उद्यमी मञ्च र चीनको छङछिङ योङ इन्टरप्रेनर एशोसिएसनबीच आपसी सहकार्य गर्ने सम्झौता (एमओयु)मा हस्ताक्षर भएको छ । मञ्चका अध्यक्ष मंगेशलाल श्रेष्ठ नेतृत्वमा १० दिने चीन भ्रमण गएको टोलीले हालै उक्त सम्झौता गरेको हो । सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्ने, नेटवर्क बिस्तार गर्ने, उद्यमशीलताका अनुभव आदान–प्रदान गर्ने लगायतका बुँदा एमओयुमा समेटिएको भ्रमण टोलीका सदस्य एवं मञ्चका केन्द्रीय सदस्य प्रकाशदेव पालिखेले जानकारी दिए । ‘दुई देशबीचको व्यापार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता भएको छ,’ पालिखेले भने,–‘युवा उद्यमी मञ्चका लागि यो सम्झौता निकै महत्वपूर्ण छ । जुन १२ देखि १७ सम्म चीनको कुन्मिङमा भएको ‘चौथो चाइना साउथ एसिया एक्स्पो’ र ‘चौविसौं चाइना कुन्मिङ इम्पोर्ट एण्ड एक्स्पर्ट फेयर’को पनि टोलीले अवलोकन गरेको छ । दक्षिण एसियाली राष्ट्रहरुलाई लक्षित गरी चीनले आयोजना गरेको उक्त फेयरबाट औद्योगिक क्षेत्रमा भएका प्रगतिको बारेमा धेरै ज्ञान प्राप्त भएको भ्रमण टोलीका सदस्य एवं मञ्च कास्की शाखाका प्रोग्राम चेयर सन्तोष घिमिरेले बताए । फेयरमा नेपाली उत्पादनका मात्र करिब २ सय वटा स्टल राखिएको घिमिरेले जानकारी दिए । सोही अवसरमा कुन्मिङका युवा उद्यमीहरुसँग छलफल तथा अन्तरक्रियामा सहभागी भएको घिमिरेले जानकारी दिए । १० दिने भ्रमणका क्रममा चाइना साउथ एसिया बिजनेस फोरम लगायत कुन्मिङ, छङछिङका विभिन्न कार्यक्रममा मञ्चको टोली सहभागी भएको थियो । टोलीले चीनका विभिन्न उद्योगहरुको अवलोकन गरेको छ ।













Post a Comment

 
Top