0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम कुँवरले सेवाग्राहीका काम सम्पादन गरेर मात्रै कार्यालय बाहिर निस्कने प्रतिबद्धता गरेका छन् । कार्यालय परिसरमा सेवाग्राही बसेर दुःख पाउने कार्यालय प्रमुख बाहिर रिबट काट्न नजाने उनको प्रष्टिकरण थियो । कार्यालय प्रमुखले अधिकांश समय कार्यालय परिसरबाहिर नै रिबन काट्ने र उदघाटन समारोहमा जाने गुनासो बढेपछि नवआगन्तुक कार्यकारी अधिकृत कुँवरले सेवाग्राहीलाई सेवा नै आफनो पहिलो कर्तव्य भएको उल्लेख गरे । दुई साता अघिमात्र कार्यालयको कार्यकारी अधिकृत रुपमा सरुवा भई आएका कुँवरले पोखरामा पत्रकार भेटघाट एवं परिचयात्मक कार्यक्रममा त्यस्तो बताएका हुन् । यसअघि नगरपालिकामा सरुवा भै आउने कार्यकारी अधिकृतहरुले विभिन्न योजना सार्वजनिक गर्ने गरे पनि प्रतिबद्धता अनुरुप काम हुन सकेका छैनन् तर म भने कुनै योजना नभै १९ औ नगर परिषद एवं आगामी २० औ नगर परिषद्बाट स्वीकृत हुने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता पत्रकार माझ गरे । उनले पोखरा नगरलाई महानगरपालिका बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ ध्यान दिने बताए । पोखराका सम्पदा फेवाताल जोगाउन फिर्के–बुलौदी खोला सरसफाइ अभियान विस्तार गर्दै जाने उनले बताए । कार्यकारी अधिकृत कुँवरले पोखरा नगरलाई उज्यालो बनाउन सौर्य सडक बत्ती विस्तार गर्ने र प्लाष्टिकका झोला गिलास निषेधित अभियानसँगै बालमैत्री वातावरण, बालमैत्री सहरको रुपमा अघि बढाउने जनाए । कार्यक्रममा पत्रकारहरुले पोखरा नगरलाई स्वच्छतर्फ सुझाव दिँदै काम कारबाही पारदर्शी हुनुपर्ने सुझाव दिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कार्यालयका कर्मचारीहरु लाई तेरो, मेरो र हाम्रो नभनी स्वच्छरुपमा काम गर्न सुझाव दिए । नगरलाई बालमैत्री सहरको रुपमा विभिन्न ठाउँमा होर्डिङ बोर्ड राखिए पनि पार्किङ शुल्क उठाउने ठाउँमा बालबालिकाको प्रयोग भएकोमा ध्यान नगएको बताए । नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अनन्तप्रसाद कोइराला, प्रमुख इन्जिनियर शारदामोहन काफ्ले नगरपालिकाका गति विधिबारेमा जानकारी गराएका थिए ।


Post a Comment

 
Top