0
गोल्डेन न्यूज संवाददाता
प्रहरीले बढी भाडा अशुल्ने र मिटरमा चल्न नमाल्ने ट्याक्सी बिरुद्ध उजुरी दिन सूचना जारी गरेकै दिन चार वटा कार्वाहीमा परेका छन् । बढी भाडा अशुलको आरोपमा पक्राउ परेका ट्याक्सीलाई आवश्यक कार्वाहीका लागि यातायात ब्यवस्था कार्यालय गण्डकी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक शिब थापाका अनुसार यात्रुको गुनासोका आधारमा नियन्त्रणमा लिएका चार वटा ट्याक्सीमाथि कार्वाहीका लागि सिफारिस गरिएको हो । कार्वाहीमा पर्नेमा ग१ज २०५२, ग१ज ४६९८, ग१ज ४२२५ र ग१ज ४१७६ रहेका छन् । बढी भाडा अशुलेकाले यी ट्याक्सी उपर यातायात ब्यवस्था ऐनको दफा १६० ‘ख’ अनुसार कार्वाही सिफारिस गरिएको हो । सो ऐन अनुसार यातायात ब्यवस्था कार्यालयले एक हजारदेखि पाँच हजार सम्म जरिवाना तिराउन सक्ने प्राबधान छ । यसअघि बुधवार मात्रै बढी भाडा अशुल्ने ग १ ख ५२९० नम्बरको पोखरा नगर क्षेत्रमा चल्ने माईक्रो कार्वाहीमा परेको थियो । सो माइक्रो ३१ सय जरिवाना तिरेर मुक्त भएको छ । पोखरा सहित कास्की जिल्लामा सञ्चालित ट्याक्सीले मनपरी भाडा अशुल्दै यात्रु ठगेको गुनासो ब्यापक भएपछि प्रहरीले विहिवार प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्ता ट्याक्सी उपर उजुरी दिन यात्रुलाई आग्रह गरेको हो । मंगलबार मात्र पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले सार्वजनिक कार्यक्रममै कास्की प्रशासनलाई जनताले महसूस गर्ने गरी काम गर्न निर्देशन दिएका थिए । त्यस लगत्तै विहीबार यातायात व्यवस्था कार्यालयका प्रमुख भरत पौडेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, कास्की प्रहरी प्रमुख घनश्याम अर्याललाई पुनःनिर्देशन दिएका थिए । उनले जिल्ला प्रहरी कार्यालयको १००, ट्राफिक प्रहरी कार्यालयको १०३ र हेल्लो सरकारको ११११मा फोनमार्फत नै उजुरी दिन नागरिकलाई आग्रह समेत गरेका थिए । यसअघि पोखरा चल्ने माइक्रो बसले तोकिएको भाडा भन्दा बढ्ता लिएको गुनासो बढ्दा समेत क्षेत्रीय प्रशासक कोइरालाले त्यसलाई नियन्त्रण गराउन अग्रसरता लिएका थिए । पछिल्ला दिनमा माइक्रोका यात्रुले दुई रुपैयाँ बढ्ता भाडा लिए भनेर धेरै नै उजुरी पर्ने गरेका र कारबाहीका लागि यातायात कार्यालय पठाउने गरेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक थापा बताउछन् । यसरी यातायात कार्यालय पठाइएका माइक्रो बसले ३१ सय जरिवाना तिर्ने गरेका छन् । यसैबीच  पोखरामा ट्याक्सीले मनपरी भाडा अशुलेको गुनासो बढिरहेका बेला प्रहरीले मिटरमा नचल्नेमाथि कारवाही गर्ने चेतावनी दिएको छ । ट्याक्सी मिटरमा चल्न नमानेमा खबर गर्न प्रहरीले यात्रुलाई आग्रह समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरी मिटरमा चल्न नमाने वा बढी भाडा लिएमा प्रहरी कन्ट्रोल रुममा खबर गर्न भनेको हो । बिहीवार जारी विज्ञप्तिमा भनिएको छ,–‘कास्की जिल्ला भित्र चल्ने भाडाका ट्याक्सीहरुले मिटरमा चलाउन नामानेमा, बढी भाडा लिएमा वा यात्रुले भनेको स्थानमा जान नमानेमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न हुन अथवा १०० वा १०३ नम्बरमा फोन गर्न हार्दिक अनुरोध गरिन्छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री सिपी मैनालीको उपस्थितिमा क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई ट्याक्सीमाथि कडाई गर्न आग्रह गरेका थिए । सोहि कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक शंकर कोईरालाले ट्याक्सीको ठगी अन्त्य गर्ने प्रतिद्धता जनाएका थिए । उनले प्रतिबद्धता जनाएको दुई दिनपछि प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै मिटरमा चल्न नमान्ने ट्याक्सीमाथि कार्वाही गर्ने चेतावनी दिएको हो । तर ब्यवसायीले भने तत्काल मिटरमा चलाउन सकिने कुनैपनि संभावना नरहेको जिकिर गरेको छ । ट्याक्सी ब्यवसायी समिति कास्कीका अध्यक्ष गान्धीराज गिरीले विना पूर्वाधार एकतर्फी ढंगले प्रशासनले निर्णय गरेको भन्दै यसको प्रतिवाद गरे। उनले भने–‘ब्यवसायीसँग समन्वयन नगरी सूचना जारी गरिएको छ । अहिले संभव छैन ।’ पोखरा र आसपासको क्षेत्रमा ३५ सय ट्याक्सी सञ्चालनमा छन् । गिरीले पोखरा नगर क्षेत्रका केहि स्थानमा वाहेक अन्यत्र मिटरमा चलाउन सक्ने अबस्था पनि नरहेको दावि गरे । उनले पूर्वाधार तयारीको लागि समयपनि नदिई गरिएको निर्णय कार्यान्वयनमा आउन नसक्ने समेत बताए ।







Post a Comment

 
Top