0
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परिक्षाफल प्रकाशित गरेको छ । यसै वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । यो वर्ष ग्रेड प्वाइन्ट एभरेज (जीपीए) अनुसार नतिजा सार्वजनिक गरिएको छ । जसअनुसार ३.६ भन्दा माथि देखि ४ ग्रेड प्वाइन्टमा १६ हजार चार सय ५४, ३.२ भन्दा माथिदेखि ३.६ जीपीएमा ४१ हजार पााच सय ७७, २.८ भन्दा माथिदेखि ३.२ जीपीएमा ४८ हजार छ सय ११ जना, २.४ भन्दा माथिदेखि २.८ जीपीएमा ६३ हजार एक सय ८१ जना, दुई भन्दा माथिदेखि २.४ जीपीएमा ९४ हजार सात सय १६ र १.६ भन्दा माथिदेखि २.४ जीपीएमा एक लाख चार हजार दुई सय ७८ जना उत्तीर्ण भएका छन् । १.६ भन्दा तलको अंक ल्याउने परीक्षार्थी अनुत्तीर्ण नभए पनि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ मा भर्ना लिने निर्णय नगरेकाले व्यवहारत यसलाई उत्तीर्णको संख्यामा राख्नुको कुनै अर्थ हुनेछैन । यद्यपि योभन्दा कम अंक ल्याउनेहरु अनुत्तीर्ण पनि नभएकाले उनीहरु निराश हुने र आत्महत्यासम्मका घटना यो वर्ष हुने छैनन् । सरकारले यो वर्षदेखि एसएलसीमा नयाँ अभ्यास शुरु गरेको छ । यद्यपि अब शिक्षा ऐन आठौं संशोधनसंगै राष्ट्रियस्तरको एसएलसी नै नहुने भएको छ । क्षेत्रीय वा प्रादेशिक तहमै भए पनि आगामी दिनमा यही पद्धतिद्वारा विद्यार्थीको मूल्यांकन गरिनेछ । कूल नौ तहमा विभाजन गरेर विद्यार्थीको क्षमता मूल्यांकन गर्न शुरु गरिएको छ । अक्षर पद्धतिद्वारा मूल्यांकन गरिने भएकाले यसलाई अक्षरांकन विधि पनि भनिएको छ । नतिजा सार्वजनिक गर्ने बेलासम्म आउँदा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) पद्धतिद्वारा नतिजा सार्वजनिक गरिएको छ । विद्यार्थीको औशत क्षमता मूल्यांकन गरेर सकेसम्म सहजरुपमा उच्च शिक्षातर्फ प्रवेश गराउने उद्देश्यले यो विधि अबलम्बन गरिएको थियो । तर, यो विधि अंगीकार गरिएकै वर्ष शिक्षा ऐन संशोधन भएर विद्यालय तहको पुनर्संरचना गरिएकाले यो लामो समयसम्म लागु हुने अवस्था रहेन । क्षेत्रीय वा प्रादेशिक तहमा कक्षा १० को परीक्षामा यो विधि लागू गरिएला तर पनि अब यो विधिपछि विद्यार्थीहरु उच्च माध्यमिक तहमा प्रवेश गर्ने अवस्था रहेन । अब कक्षा १२ सम्म माध्यमिक तह हुने र त्यो पनि विद्यालय संरचनाभित्रै आइसकेपछि अब कक्षा १० को परीक्षाको खासै प्रभावकारिता रहने छैन । तर पनि पहिलो पटक लागू गरिएको विधि भएकाले यसको प्रभावकारिता परीक्षण गर्नु आवश्यक छ । यो विधिको अर्को उद्देश्य भनेको विद्यार्थीहरुमा त्रास र निराशा कम गर्नु पनि हो । अघिल्लो वर्षसम्म एसएलसी विद्यार्थीको त्रासको उत्कर्षकाल मानिन्थ्यो । कतिले त यसलाई फलामे ढोका भनेर यो पार गर्न निकै मुस्किल हुने हल्ला पनि चलाउँथे । जसले गर्दा विद्यार्थीहरु त्रसित हुने र सिर्जनशीलभन्दा घोकन्ते शिक्षामा जोड दिने परिपाटीको विकास भएको थियो । यी समस्या नयाँ विधिले पूरै हल गरिहाल्छ भन्ने त होइन तर यो विधिले अब नेपालको शिक्षा क्षेत्रमा एउटा नयाँ अभ्यासको थालनी गराइदिएको छ । यसका कमजोरी पनि उत्तिकै छन् । यो विधि लागू हुनेबित्तिकै विद्यार्थीहरुमा नपढेरै उत्तीर्ण भइन्छ भन्ने हल्ला चलेर धेरै विद्यार्थीहरु अल्छी हुन थालेका खबर पनि नआएका होइनन् । पछिल्लो समयमा भएको उच्च माध्यमिक शिक्षा परिषद्को निर्णयसम्म आउँदा माथिल्लो तह अध्ययनको मापदण्ड निर्धारण गरिएको छ । कम्तिमा १.६ जीपीए अर्थात डी प्लस ल्याउने विद्यार्थी मात्र कक्षा ११ मा भर्ना हुन पाउनेछन् । यसका लागि कूलमा तीसदेखि चालिस प्रतिशत अंक ल्याउनुपर्छ भनेर अनिवार्य चार विषयमा डी प्लस अनिवार्य ल्याउनुपर्छ । यो प्रावधानले कमजोर विद्यार्थीलाई कक्षा ११ प्रवेश रोक मात्र लगाएको छैन घुमाउरो तरीकाले कूल तीस प्रतिशत नल्याउने विद्यार्थी व्यवहारतः अनुत्तीर्ण नै हो भन्ने देखाउँछ । यसअघि ३२ प्रतिशतलाई उत्तीर्ण मानिन्थ्यो भने अब घुमाउरो तरीकाले ३० प्रतिशतलाई उत्तीर्ण मानेको छ । यसबाट पनि शैक्षिक गुणस्तर कायम राख्न सहयोग पुग्ने सरकारको अपेक्षा देखिन्छ । यो विधि पहिलेको भन्दा विकसित र वैज्ञानिक नै छ । अब सहज र सरल मूल्यांकन विधिबाट शैक्षिक गुणस्तर बढाउनेतिर ध्यान दिनु जरुरी छ ।



Post a Comment

 
Top