0
अफगानिस्तानको राजधानी काबुलनजिक सोमबार बिहान भएको तालेवान विद्रोहीको आतंकवादी आत्मघाती बम विस्फोटमा परी १२ जना नेपालीको हत्या भएको घटनाले अहिले मृतकका परिवार मात्र नभएर सम्पूर्ण नेपालीको मन रोएको छ । उक्त घटनामा सात जना नेपाली घाइते भएका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीहरु क्याम्पबाट काबुलतर्फ जान लाग्दा उक्त घटना घटेको थियो । नेपाल सरकारले उक्त आततायी र अमानवीय घटनाको कडा शब्दमा निन्दा गर्दै अन्तर्राष्ट्रिय आतंकवादविरूद्ध नेपाल निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल सरकारको पहलमा मृतकहरुको शव नेपाल ल्याइएको छ ।  केहीको शव आफन्तको जिम्मा लगाइए पनि केहीको शव आफन्तले बुझ्न बाँकी छ । यस्तै, घाइतेहरुको उपचारलाई प्रभावकारी बनाउन पनि अफगान सरकारसँग अनुरोध गरिएको छ । स्मरणीय छ, केही वर्षअघि इराकमा पनि १२ जना नेपालीको हत्या भएको थियो र त्यसपछि इराक जान नेपालीलाई प्रतिबन्धसमेत लगाइएको थियो । अफगानिस्तान लामो समयदेखि गृहयुद्धमा फसेको मुलुक हो । त्यहाँ तालेवान विद्रोहीले सञ्चालन गरेको आक्रमणमा हजारौँ नागरिकहरु मारिइसकेका छन् र तालेवानतर्फ पनि ठूलो मानवीय क्षति भएको छ । यसरी उक्त मुलुक असुरक्षित गन्तव्य हो भनेर जान्दा–जान्दै पनि भारत र दुबईको बाटो भएर आकर्षक तलब भएका कारण त्यहाँ जाने गरेको पाइएको छ । अब कुनै पनि नेपालीले अफगानिस्तान जाने योजना बनाउनु मूर्खताशिवाय अरु केही हुने छैन । नेपाल सरकारले पनि नेपालीलाई त्यहाँ पठाउन पूर्ण निषेध गर्नु अति जरूरी देखिएको छ । जीवनभन्दा पैसा ठूलो कुरा कदापि हुन सक्तैन भन्ने कुरामा वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपालीले पनि बुझ्नु जरूरी भएको छ । लामो समयदेखि गृहयुद्धमा फसेका मुलुकहरुमा नेपालीहरुको प्रवेशमा पूर्ण रोक लगाउनु अत्यावश्यक भैसकेको छ । घटना घटिसकेपछि रूनु, कराउनुभन्दा पनि असुरक्षित गन्तव्य भनेर चिनिएका मुलुकहरुमा नजानु नै राम्रो हुनेछ । अब अफगानिस्तानमा कार्यरत सयौँ नेपालीहरु आफूलाई असुरक्षित महसूस गरिरहेका छन् । उनीहरुलाई सहजतापूर्वक नेपाल फर्काउन सरकारले आवश्यक कदम चाल्नु अति जरूरी देखिएको छ । यस्तै, वैदेशिक रोजगारीमा जान चाहने सम्बन्धित व्यक्तिले पनि सम्बन्धित मुलुकको वस्तुस्थिति बुझेर मात्र जाने गरेमा यस्ता अप्रिय घटनाहरुको पुनरावृत्ति हुन पाउने थिएन । नेपाल सरकारले स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सकेको भए यसरी पटक–पटक नेपालीले विदेशमा अकाल मृत्यु वरण गर्नुपर्ने थिएन । अब सरकारले स्वदेशी र विदेशी लगानीलाई नेपालमा उद्योग र कारखानाहरु खोल्न प्रोत्साहित गर्न अति आवश्यक देखिएको छ । विदेशी मुद्रा नेपाल भित्रिने प्रलोभनमा सरकार फस्न हुँदैन । मुलुकमा राजनीतिक स्थिरता कायम हुन सक्यो भने वैदेशिक लगानी नेपालमा भित्र्याउन कुनै कठिनाइ हुनेछैन । समग्रमा भन्नुपर्दा द्वन्द्वग्रस्त विदेशी मुलुकहरुमा नेपाली युवायुवतीको प्रवेशलाई पूर्ण रोक लगाइएन भने नेपालीहरुको रगत विदेशमा बग्नेक्रम पनि रोकिने छैन भन्ने कुरा सरकार र सरोकारवाला निकायहरुले पनि बुझ्नु अत्यावश्यक देखिएको छ ।





Post a Comment

 
Top