0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १८ निवासी स्व. क्षेत्रबहादुर के.सी.को स्मृतिमा स्व. क्षेत्र के.सी. स्मृति प्रतिष्ठान तदर्थ समिति गठन गरिएको छ । शनिवार पोखरा –१८ सामुदायिक भवनमा भएको एक कार्यक्रममा समिति गठन गरिएको हो । स्व. के.सी. ले वडा नं. १८ का वडाध्यक्ष, राप्रपा कास्कीका जिल्ला अध्यक्ष, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष लगायत विभिन्न संघ संस्थाको नेतृत्व लिई पोखराको समग्र विकासमा योगदान गरेका थिए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष जिल्ला अध्यक्ष एवं पूर्व मेयर कृष्ण थापाले स्व. के.सी. मिलनसार, दूरगामी व्यक्तित्व भएको भन्दै उनको निधनले पोखराको दीर्घकालीन विकासमा बाधा पुगेका बताए । साथै थापाले उनको हत्या के–कसरी भयो भन्ने कुरा सत्य निरुपण आयोगमा निवेदन दिएमा भोलीको समयमा ढिलै भए पनि यथार्थ पत्ता लगाउन सकिने समेत बताए । कार्यक्रममा राप्रपा कास्कीका जिल्ला अध्यक्ष जे.वी. कुँवर र राप्रपा नेपालका जिल्ला अध्यक्ष जयलाल पुनले स्व. के.सी. आँखामा राखे पनि नबिझाउने नेता भएको भन्दै डिलै भए पनि उनको सम्झनामा प्रतिष्ठान गठन गर्ने कार्य गरेकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानको कार्यलाई निरन्तरता दिन आग्रह गरे । स्व. क्षेत्रबहादुर के.सी.की धर्मपत्नी सुनिता के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी बोधबहादुर कार्की, रोमबहादुर कार्की,  ललित बहादुर बानियाँ, ज्ञानबहादुर घिमिरे, जगन्नाथ तिमिल्सिना, शिव पोखरेल, नारायणप्रसाद भण्डारी लगायतले बोलेका थिए । स्थानीयबासी रामजी जि.सी.ले सञ्चालन गरेको कार्यक्रममा स्व. क्षेत्रबहादुर के.सी.को जीवनी एवं प्रतिष्ठान गठनका बारेमा सामाजिक व्यक्तित्व एवं स्व. के.सी.का घनिष्ट मित्र डा. महेन्द्र कार्कीले प्रकाश पारेका थिए । भेलाले स्व. क्षेत्रबहादुर के.सी. स्मृति प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा ई. अवित के.सी., उपाध्यक्षमा विनय थापा, सचिवमा ललितबहादुर बानियाँ, कोषाध्यक्षमा टिका कार्की र सदस्यहरुमा दीपेन्द्र के.सी., सोममाया वि.क., मिलन के.सी., मोहन कार्की, रेशम जि.सी., राधा कार्की र रामजी जि.सी. चयन गरेका छ ।

Post a Comment

 
Top