भूगोलमा सानो आकार भएको नेपालमा हालै धेरै ठूलो आकारको १०९९ सदस्यीय केन्द्रीय कमिटी र महाधिवेशन आयोजक कमिटी भएको नेकपा माओवादी केन्द्र नामको राजनीतिक पार्टी जनतामाझ अहिले चर्चाको शिखरमा रहेको पाइन्छ । जनताका महान् साम्यवादी नेता माओत्सेतुङको जन्मभूमि र कर्मभूमिमा पनि यति ठूलो केन्द्रीय कमिटी भएको वामपन्थी पार्टी नहुन सक्छ । त्यतिमात्र नभएर सम्भवतः विश्वकै सबभन्दा ठूलो केन्द्रीय कमिटी भएको यो पार्टीका अध्यक्ष हुन्, यसअघिको एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड । समयको कालखण्डमा विगतमा माओवादीबाट फुटेर अनेक पार्टी बनेको समूहलाई आफ्नो पार्टीमा एकीकृत गराएर प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकपटक फेरि शीर्ष स्थानमा पु¥याएर सत्तामा पुग्ने पूर्वाभ्यास यो भएको अनुमान राजनीतिक विश्लेषकहरुले अहिले गरिरहेका छन् । तर, आकार ठूलो हुँदैमा गुणस्तरमा पनि सुधार आउने कुराको प्रत्याभूति भने हुन सक्तैन । राजनीतिक दर्शन, नीति र सिद्धान्त तथा सक्षम नेतृत्वले मात्र कुनै पनि दललाई अग्रस्थानमा पु¥याउँछ । उदाहरणका लागि विगतको संसदीय निर्वाचनमा एक नम्बरमा पुगेर सत्ता चलाएको पार्टी एमाओवादी अर्को संसदीय निर्वाचनमा कसरी तेस्रो स्थानमा झर्न पुग्यो भन्ने कुरा नै ताजा समीक्षाको विषय हुनसक्छ । तसर्थ, ठूलो भीड हुँदैमा परिणाम सकारात्मक आउँछ भन्ने निश्चित हुँदैन । अध्यक्ष प्रचण्ड र उनी नेतृत्वको यो भीमकाय पार्टीले सर्वप्रथम आफ्ना गल्ती र कमीकमजोरीहरु सच्याउने र आत्मसमीक्षा गर्ने काम गर्नु उचित हुनेछ । त्यति ठूलो हात्तीलाई यौटा माहुतेले तह लगाएर हिँडेको जीवन्त दृश्य देखेका हामी चितवनवासीले भीडमा मात्र विश्वास गर्न हुन्न भन्ने कुरा राम्रोसँग जानेका र बुझेका छौँ । यौटा सुखद् संयोग के हुन गएको छ भने सो पार्टीका अध्यक्ष प्रचण्ड र महासचिवका लागि चर्चामा रहेका रामबहादुर थापा बादल दुवै जना चितवनवासी हुन् । तसर्थ, अहिले एकीकरण भएको यो पार्टीले विश्वबाट विलय हुन लागेको कम्युनिस्ट आन्दोलनलाई नेपालमा कुशल नेतृत्व दिएर जनतामाझ स्थापित गराउन नेतृत्व वर्गले निकै मेहनत गर्नुपर्ने आवश्यकता देखिएको छ । जनता अब लाटा छैनन् र उधारो आश्वासनमा मात्र विश्वास गर्दैनन् भन्ने कुरा पनि पुनर्ग्ठित यो पार्टीले बुझ्नु जरूरी देखिन्छ। कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिएर विश्वलाई नै सन्देश प्रवाह गर्न नेतृत्व वर्गका लागि यो एक अवसर सावित हुनेछ । शिक्षा र जनचेतनाको अभावमा दिनहुँ तराईमा दाइजो दिन नसकेको कारण या त हत्या गर्ने काम भइरहेको छ, त्यो नभए आत्महत्या गर्न नवविवाहित दुलहीहरु बाध्य भइरहेका छन्। परिवर्तित नेपालको राजनीतिले समाजमा विद्यमान यस्ता विकृति र कुरीतिहरुको अन्त्य गर्न पनि गाउँगाउँमा पुगेर जनचेतनामूलक कार्यक्रमहरु मात्र गर्न सकियो भने पनि त्यो एक उपलब्धि नै सावित हुन सक्नेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment