0
गोल्डेन न्यूज संवाददाता
पोखरामा प्रधान कार्यालय रहेको कास्की फाइनान्स लिमिटेड पोखरामै प्रधान कार्यालय रहेको कामना विकास बैंकमा विलिन भएको छ । कास्की फाइनान्ससंग मिलेपछि कामना विकास बैंक क्षेत्रीयस्तरको विकास बैंक भएको छ । अब बैङ्कको चुक्तापूँजी ६६ करोड १६ लाख रुपैयाँ पुगेको छ । ६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप रहेको बैङ्कको कर्जा लगानी ५ अर्ब ९३ करोड रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले गोल्डेन न्यूज दैनिकलाई बताए । बैङ्कले २१ वटा शाखा, ९ ओटा एटिएम काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । बैङ्कले काठमाडौं लगायतका स्थानमा छिट्टै थप शाखा विस्तार गर्ने बताएको छ । मर्जर पश्चात अध्यक्ष कामनाबाट राजेन्द्रनिधि कोइराला र सिइओ कास्कीका फाइनान्सबाट तोयाराज अधिकारी र लोगो भने कास्की फाइनान्सको प्रयोग गर्ने सहमति भएको छ । कामनाका वर्तमान सिइओ उमेशकुमार आचार्य मर्जपछि डेपुटी सिइओ हुने भएका छन् । यसैगरी सञ्चालक समितिमा दुवै संस्थाबाट चार÷चार र विशेषज्ञ एक जना रहनेछन् ।  सोमबार एक कार्यक्रमबीच बैंकको उद्घाटन गर्दै राष्ट्र बैङ्कका गभर्नर चिरञ्जिवी नेपालले बैङ्कलाई बलियो र प्रतिस्पर्धी बनाउन मर्जर सबैभन्दा उत्तम विकल्प रहेको भन्दै बैङ्कको पूँजी बृद्धिका लागि मर्जर उत्तम विकल्प बनेको स्पष्ट पारे । गर्भनर नेपालले साना–साना पुँजी भएका वित्तिय संस्था हँुदा जनताको बचत खतरामा पर्ने देखे पछि मर्जरको नीति ल्याएको बताए । उनले अहिले पनि ११ वटा वित्तिय संस्था समस्याग्रस्त रहेको भन्दै समस्यागस्त रहेको वित्तिय संस्थालाई राष्ट्र बैंकले नै हेर्दै आएको बताए । उनले ठूला लगानी कर्तालाई ऋण दिन बाणिज्य बैंक र साना ऋणिलाई ऋण दिन लघुवित्तले काम गरेको बताए । फाइनान्स र विकास बैंक ठूला बैंक बन्दै जाँदा लघुवित्तको संख्या पनि बढेको बताए । उनले ४० वटा लघुवित्तले अनुमति पाइसकेको बताउँदै ६० वटाले सञ्चालनका लागि अनुमति मागेको स्पष्ट पारे । राष्ट्र बैङ्क पोखरा शाखाका निर्देशक चिरञ्जिवी चापागाईंले ग्रामीण क्षेत्रमा अझैपनि बैङ्किङ पहुँच नपुगेको र यसतर्फ वित्तीय संस्थाको ध्यान जानुपर्ने बताए । कार्यक्रममा उद्योगपति हरि पाण्डे, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।



Post a Comment

 
Top