0
गोल्डेन न्यूज संवाददाता
यात्राको क्रममा पोखरा आएका पर्यटकले बसमा छोडेको सामान ट्राफिक प्रहरीले सम्बन्धित ब्यक्तिलाई जिम्मा लगाएको छ । नयाँ पुलबाट पोखरा आउने क्रममा न ५ ख १६१६ नम्बरको यात्रुवहाक बसमा जर्मन नागरिकले भुलबस छाडेको क्यामेरा शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले फिर्ता गराएको हो । क्यामेरा फेला परेपछि ती पर्यटकहरु खुशी हुँदै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए । विहीवार साझ झण्डै ५ बजे नयाँपुलबाट पोखरा आउने क्रममा जिरो किरोमिटरमा झरेका जर्मन नागरिक फ्लोरियन टाउसरको क्यामेरा बसमै छुटेपछि खोज तलासको क्रममा बस पत्ता लगाएर सामान फिर्ता गराउन सफल भएको ट्राफिक प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । पर्यटकले बसबाट झरेको केहि समयपछि क्यामेरा छुटेको थाहा पाएका थिए । त्यसपछि ओर्लिएको स्थानमा आएपनि बस नभेटेपछि उनले प्रहरीमा जानकारी गराएका थिए । ट्राफिक प्रहरीले नयाँपुल पोखरा सडक खण्ड अन्तर्गत जौवारीमा रहेको चेकपोष्टमा गाडीको इन्ट्री भएको आधारमा बस पत्ता लगाएको हो । प्रहरी सम्पर्कको आधारमा चालक राजकुमार क्षेत्रीले बसमा छुटेको क्यामेरा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ल्याएर बुझाएका थिए । शुक्रवार विहान ११ बजे पर्यटक ट्राफिक कार्यालय आएर क्यामेरा बुझी लगेका हुन् । त्यस्तै काठमाडौंबाट पोखरा आउने क्रममा अष्ट्रेलियन पर्यटकले बसमा छाडेको झोला पनि ट्राफिक प्रहरीले सम्बन्धित ब्यक्तिलाई दिलाएको छ । पोखराको पृथ्बीचोक मा आएपछि बसबाट ओर्लिएका उनीहरुले झोला बसमै बिर्सिएर हिंडेका थिए । केहि समयपछि खोजतलासको क्रममा ना ६ ख २१२९ नम्बरको मिनी बसमा छुटेको सुटकेस जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ल्याईयो र पर्यटकको जिम्मा लगाईयो । ट्राफिक प्रहरीले आफ्नो सवारीमा यात्रा गरेका यात्रुको सामान छुटेमा तत्काल जानकारी गराउन तथा ट्राफिक प्रहरीको जिम्मा लगाउन चालक र सह–चालकलाई आग्रह गरेको छ ।

Post a Comment

 
Top