0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस इकाईको आयोजनामा  क्याम्पस प्राङ्गणमा आँखा शिविर आयोजना सम्पन्न भयो । शिक्षाको लागि ज्योति भन्ने मूल नाराका साथ आयोजना गरिएको शिविरमा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक, कर्मचारी एवं ४ सय बढि विद्यार्थीहरुको आँखा परीक्षण गराएको नेविसंघ क्याम्पस इकाइले जनाएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरको उद्घाटन गर्दै नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाईले विद्यार्थीहरु राजनीतिक दलका मुद्धामामात्र सीमित नभई शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीको शैक्षिक विकासमा टेवा पुग्ने रचनात्मक कार्यमा लाग्नुपर्ने मा जोड दिए । उनले कुनैपनि विद्यार्थी संगठनको मूल्याङ्कन चर्को भाषण र संख्यात्मक गणनामा नभई आर्दश र व्यवहारमा हुने भन्दै सचेत युवाहरुले राज्य चलाउनेहरु जिम्मेवार नभएको अवस्थामा खवरदारी गर्न समेत पछि हटन नहुनेमा जोड दिए । वर्तमान शैक्षिक प्रणाली सैद्धान्तिक मात्र भएकाले उच्च शिक्षा हासिल गरेपनि वेरोजगारीको कारण लाखौं युवाहरु विदेश पलायन हुन बाध्य भएको भन्दै उनले  व्यवहारिक शिक्षाकका लागि विद्यार्थीहरुले राज्यलाई दवाव दिनुपर्ने खाँचो औंल्याए । नेपाली काँग्रेस कास्कीका महासमिति सदस्य देवराज चालिसेले वर्तमान सरकार जनताप्रति  जिम्मेवार नरहेको र सस्तो लोकप्रियताका लागि दुई छिमेकी राष्ट्र वीचको सन्तुलित सम्वन्ध कायम गर्न नसकेका कारण जनताले दुख पाएको वताउदै विद्यार्थीहरु त्यसतर्फ सचेत रहनुपर्नेमा जोड दिए । कार्यक्रममा पृथ्वी नारायण क्याम्पसका क्याम्प्स प्रमुख प्रा.डा. देवेन्द्र लामिछानेले क्याम्पसमा नेविसंघ इकाईले रचनात्मक कार्य गर्दै आएको र यस किसिमका कार्यको सबै विद्यार्थी संगठनले अनुशरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रजातन्त्रवादी प्रध्यापक संघ पृथ्वी नारायण क्याम्पस इकाईका अध्यक्ष दिपेन्द्र पराजुली, सचिव वोधराज ढकाल, नेविसंघ स्याङ्गजा जिल्ला अध्यक्ष अजित क्षेत्री, क्याम्पसका भौतिक शास्त्र विभागका प्रमुख हुतराज शर्मा, जनप्रिय क्याम्पस नेविसंघ इकाईका अध्यक्ष प्रविण पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । नेविसंघ पृथ्वी नारायण क्याम्पस इकाईका सभापति दिपक शर्माको सभापतित्वमा भएको कार्यक्रममा सह–सचिव वावुराम चालिसे, कोषाध्यक्ष रक्षा गिरी र इकाई सदस्य सदीक्षा आचार्य स्वगत एवं सचिव रेशम हमालले कार्यक्रम संचालन गरेका थिए ।







Post a Comment

 
Top