0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथमा स्थापना गरिएको ईलाका प्रशासन कार्यालयले लेखनाथ नगरपालिका सहित आसपासका ६ गाविसमा सेवा प्रदान गर्ने भएको छ । शुक्रबार बसेको सर्वदलीय बैंठकले लेखनाथको खुदी ढुङ्गेपाटनमा स्थापना गरिएको कार्यालयको कार्यक्षेत्र निर्धारण गरेको हो । निर्णय अनुसार लेखनाथ नगरपालिका सहित थुम्की, सिद्ध, हंशपुर, देउराली, माझठाना र रुपाकोट गाविसका वासिन्दाले ईलाका प्रशासन कार्यालय मार्फत जिल्ला प्रशासनको सेवा प्राप्त गर्नेछन् । कार्यालय प्रमुख दिपेन्द्र पौडेलले दिएको जानकारी अनुसार शुक्रवारको बैंठकले पछि कार्यक्षेत्र बढाउन पनि सकिने निर्णय समेत गरेको छ । त्यस क्षेत्रका नजिक पर्ने, वरपरका गाविसलाई भौगोलिक दुरी, क्षेत्रका हिसावले पायक पर्ने र सेवा लिन सहज हुने देखिएमा तथा त्यस क्षेत्रमा स्थानिय वासिन्दाबाट पुन माग भई आएमा आवश्यकता हेरी पुनःकार्यक्षेत्र तय गर्न सकिनेछ’ सर्वदलीय बैठकको निर्णयमा भनिएको छ । कार्यालय ब्यवस्थापन को काम पूरा भएको र कार्यक्षेत्र पनि तोकिएपछि अब सेवा सञ्चालन गर्न मात्रै बाँकी छ । क्षेत्रीय प्रशासक बुद्धजयन्ती समारोहको लागि लुम्बिनीमा रहेकाले फर्किएपछि औपचारिक कार्यक्रमको विच सेवा सुरुवात गरिने पौडेलले बताए । ईलाका प्रशासन कार्यालयको सेवा सुरुवातसँगै कास्कीको लेखनाथ नगरपालिकासहित ६ वटा गाविसका बासिन्दा जिल्ला प्रशासनबाट लिने सेवाकै लागि पोखरासम्म धाउन नपर्ने भएको छ । कार्यालयका लागि स्वीकृत दरबन्दी अनुसारका कर्मचारी पनि आइसकेका छन् । इलाका प्रशासन कार्यालय लेखनाथमा तेस्रो श्रेणीका अधिकृतको नेतृत्वमा १० जना कर्मचारी रहनेछन् । तेस्रो श्रेणीका एक जना शाखा अधिकृत, चार जना नायब सुब्वा, एक जना सह लेखापाल, सहायक कम्प्युटर अपरेटर एक जना तथा करार सेवाबाट दुई जना कार्यालय सहायक र अर्का एक गरी १० जना कर्मचारी कार्यालयमा रहनेछन् । कार्यालयमा चार वटा शाखा रहनेछन् । स्थानीय प्रशासन तथा शान्ति सुरक्षा, नागरिकता, राहदानी, गुनासो तथा द्वन्द व्यवस्थापन लेखा शाखा गरी चार शाखा स्थापना गरी इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन लागिएको हो । कार्यालय ब्यवस्थापन सँगै कर्मचारीको तलवको लागि तत्काल १७ लाख रुपैयाँ बजेट आएको प्रमुख पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले स्थानीयको आवश्यकता अनुसार कार्यालय स्थापना गरिएको भन्दै सेवाग्राहीले सहज सेवा पाउने विश्वास ब्यक्त गरे । गृह मन्त्रालयले गत बर्षको कार्तिक २९ गतेनै इलाका प्रशासन कार्यालय संचालनका लागि स्वीकृत प्रदान गरेपछि सामान्य प्रशासन मन्त्रालयले दरबन्दी स्वीकृत गरी पठाएको थियो । 
कार्यालयबाट नागरिकता, राहदानी लगायत जिल्ला प्रशासनबाट दिने सामान्य सेवाहरु प्रदान गरिनेछ । इलाका प्रशासन कार्यालय संचालनमा आएपछि पोखरास्थित जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप कम हुने विश्वास लिइएको छ ।







Post a Comment

 
Top