प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन दिनरात कसरत गरेर आखिरमा उनले केही समयको लागि भएता पनि आफ्नो अलोकप्रिय सत्ताको आयु जसरी लम्ब्याए, त्यसरी नै हुम्लाका विकट ग्रामीण बस्तीका जनतालाई रोग र भोकसँग लड्न त्यति सजिलो भएको छैन । वैशाख लागेदेखि नै रूघाखोकी र अन्य विभिन्न प्रकारका रोगहरुबाट थलिएको हुम्लाले ओखती र खाद्यान्न पाउन निकै संघर्ष गरिरहेको छ । पीडित व्यक्तिहरुले जिल्ला सदरमुकाम आएर आफूहरुले भोग्नु परेका विविध जटिल समस्याप्रति प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले रोग र भोकले गाउँका ज्वलन्त समस्याहरुप्रति स्थानीय राजनीतिक दलहरुको पनि ध्यानाकर्षण गराएका छन् । गत बिहीबार जिल्ला सदरमुकाम सिमीकोटमा भेला भएर आफूले भोगिरहेका गम्भीर समस्याहरु अवगत गराएका थिए । हुम्लामा औषधि र दक्ष स्वास्थ्यकर्मीको ठूलो अभाव छ र त्यहाँ एक महिनाको अवधिमा २५ भन्दा बढी नागरिकको अकालमा ज्यान गइसकेको छ । यति ठूलो मानवीय क्षति भइसक्दा पनि सरकारको ध्यान त्यसतर्फ जान नसक्दा त्यहाँका बासिन्दाहरु आक्रोशित र आतंकित भएका छन् । सत्ताको आयु लम्ब्याउन मात्र व्यस्त देखिएका प्रधानमन्त्री ओलीले अझै पनि हुम्लाको रोग, भोक र अभावप्रति दृष्टि पु¥याउन नसक्नु आफैँमा दुःखद र विडम्बनाको विषय हो । लामो खडेरीले खेतीपाती हुन नसकेको मात्र नभई यसले गम्भीर प्रकृतिका रोगहरु निम्त्याएर उपचार नपाएपछि मानिसको ज्यान जानेक्रम निरन्तर जारी रहेको समाचार सञ्चारमाध्यममार्फत शनिबार सार्वजनिक भएको छ । स्वास्थ्य केन्द्रहरुमा औषधिको अभाव एकातिर छ भने अर्को्तिर खटाइएका स्वास्थ्यकर्मीहरु त्यहाँ हाजिर हुन गएका छैनन् । हुम्लामा खाद्यान्नको अभावले पनि जटिल समस्या सिर्जना गरेको कारण अहिले उनीहरु दिनहुँ सरकारलाई ज्यान बचाइदिन गुहार गरिरहेका छन् । यातायातको सुविधा नभएको र चारैतिर अभावै–अभावले जेलिएको हुम्लामा मानवीय क्षति हुन थालेको एक महिना बितिसक्दा पनि त्यहाँ सरकारको ध्यान जान सकेको छैन । विकट ग्रामीण बस्तीका बासिन्दाहरु सरकारसँग आफ्नो ज्यान जोगाइदिन दिनहुँ आग्रह गरिरहेका छन् । तर, पीडितहरुको आर्तनादलाई सिंहदरबारमा बस्ने सरकारले अझै पनि देख्न सकेको छैन । जिम्मेवारी र उत्तरदायित्व बोध गर्न नसक्ने यो लाचार सरकारले जनताको ज्यान जोगाउन सक्ने सम्भावना घटेर गएको छ । हेलिकप्टरमा भ्रमण गर्न पाउने हैसियत भएका प्रधानमन्त्रीले आफैँ त्यहाँ गएर पीडित जनताको वास्तविक स्थिति बुझ्न र त्यहाँ रोग र भोकको निदान गर्न हामी आग्रह गर्दछौँ । आफू बिरामी हुँदा स्वदेशमा प्रशस्त अस्पतालहरु हुँदाहुँदै पनि विदेशमा उपचार गर्न जाने संस्कार र प्रवृत्ति भएका वर्तमान सरकारका मन्त्रीहरुले दुर्गम ग्रामीण भेगका जनताको जीवनरक्षा गर्न पनि तयार हुनुपर्दछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment