0
गोल्डेन न्यूज संवाददाता
नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा शनिबार ‘पोखरा स्पोर्टस् अवार्ड–२०७२’ हुँदैछ । पोखरा सभागृहमा दिउँसो साढे ३ बजे सुरु हुने समारोहको तयारी पूरा भएको आयोजकले जनाएको छ । पोखरामा पहिलो पटक हुने उक्त स्पोर्टस् अवार्ड ५ विधामा उत्कृष्ट १ जनालाई दिइने मंचका का.वा.अध्यक्ष एवं कार्यक्रम संयोजक संदेश श्रेष्ठले जानकारी दिए । मंचले स्पार्टस् अवार्ड गर्ने भएपछि खेलकर्मीहरु समेत उत्साहित छन् । 
लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । अन्य ४ विधाका ३÷३ जना मनोनयनमा परेका छन् । उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) महिलातर्फ झरना गुरुङ (उसु), मंजु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल), उदीयमान खेलाडीतर्फ अभिषेक बाँस्तोला 
(टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स), उत्कृष्ट प्रशिक्षकमा शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराँते)  मनोनयनमा परेका छन् । 
प्रतिभा छनौटका लागि ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिनेछ । वर्ष खेलाडीमा उत्कृष्ट पुरुष तथा महिलालाई सामसङ मोवाइल पनि दिइनेछ । पोखराको चिप्लेढुंगास्थित वल्र्ड भिजन इलेक्ट्रोनिक्स÷वल्र्ड वाइड कनेक्सनले उक्त मोवाइल प्रायोजन गरेको हो ।
समारोहमा राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव केशवकुमार बिष्टको प्रमुख आतिथ्य रहनेछ । समारोहमा हालै सम्पन्न सागमा नेपालको लागि पहिलो स्वर्ण पदक विजेता उसु खेलाडी नीमा घर्तीमगर प्रमुख आकर्षणको केन्द्र रहने प्रचार संयोजक दीननाथ बरालले बताए । समारोहमा पूर्ण नेपाली, भाष्करध्वज श्रेष्ठ, विनोद बानियाँको सांगीतिक प्रस्तुति रहनेछ । समारोहमा सर्वसाधारणलाई प्रवेश निःशुल्क छ । कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
नेपाल खेलकुद पत्रकार मंच केन्द्रीय समितिको तत्वावधानमा हुने कार्यक्रमको सहयोगी संस्था जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका रहेका छन् । सह–प्रायोजकमा क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखराले सहयोग गरेका छन् । मलेसियाको क्लारा विश्वविद्यालय बाट सम्बन्धन प्राप्त पोखराको महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालिले ६० वटा रिसर्ट सहयोग गरेको छ ।
वर्ष खेलाडी पुरुषका लागि कमल गुरुङ, महिलाको लागि मनोकामना आयाल, वर्ष उत्कृष्ट प्रशिक्षकको जि.एस.आर. कंक्रिट पाइप उद्योग र वर्ष उत्कृष्ट नवप्रतिभाको लागि सहारा क्लब पोखरा टाइटल स्पोन्सर हुन् ।





Post a Comment

 
Top