0
गोल्डेन न्यूज संवाददाता
राँगाको बली चढाएपछि देवी रमाएर पानी पारेको भन्दै कास्कीको वारचोक गाउँका बासिन्दा अहिले खुशियाली मनाउँदै छन् । लामो खडेरीले बालिनाली सुक्न थालेपछि छटपटाएका कास्कीको सैमराङ गाउँ विकास समिति स्थित वारचोकका बासिन्दा गाउँ माथिकी लम्तरी देबीलाई राँगाको बली चढाउने निर्णयमा पुगेका थिए ।
गाउँमा लामो समयदेखि पानी नपर्दा मकै र काउनो तथा अन्य लहरे बाली ठाड सुक्दै थिए । तर गाउँकै बुढापाकाको सल्लाह र सुझाव अनुसार गाउँमाथि रहेकी लम्तरी देबीलाई बिहीबार विहान राँगोको बली चढाइएको भारतीय सेनाका पूर्व सुब्दार एवं लम्तरी माई मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष रामप्रसाद गुरुङले बताए । राँगो बली दिएपछि गाउँमा पानी परेको छ, हामी धेरै हर्षित छौं, स्थानीय पारु गुरुङले भनिन् । आठ दशक उमेर पार गरेका गाउँकै धनराज गुरुङले बली दिएपछि पानी पर्ने सुझाएपछि नौ हजार रुपैयाँमा राँगो किनेर बली दिएको र साँझ घनघोर पानी परेको उनले बताइन् । कास्कीको सैमराङ र भाचोक गाउँ विकास समितिको सिमानामा पर्ने लम्तरी देवीको शक्ति माथि गाउँलेहरुले औधी विश्वास गर्ने गरेका छन् । लम्तरी देबीकै शक्तिले ३९ वर्ष अघि म भारतीय सेनामा भर्ती भएँ, रामप्रसादले भने, छोरा नवीन गुरुङ पनि लम्तरी भाकेपछि सात वर्ष अघि वेलायती सेनामा भर्ती भयो ।
कास्कीको वारचोक गाउँ सैमराङ गाउँ विकास समितिको वडा नम्बर तीन र चारमा पर्छ । यहाँ गुरुङ समुदायको बाक्लो बसाई रहेको छ । गाउँमा चालिस भन्दा बढी घरहरु रहेका छन् । तर लामो समय पानी नपर्दा यो गाउँका बासिन्दाले धानको वीउ समेत राख्ने हिम्मत गरेका थिएनन् । पानी नपरेपछि बाँझो फुटाउन पनि समस्या, वीउ उम्रने पनि कुरा भएन, वारचोककै बासिन्दा समेत रहेका रामप्रसादले भने, अव भने हामी धेरै खुसी भएका छौं । पानी परेसँगै गाउँलेहरु खेतीपातीमा जुटेको स्थानीय युवा मिलन गुरुङले जानकारी दिए ।
लम्तरी देवीको शक्ति माथि गाउँलेहरु विश्वास गरेर नै हरेक वर्षको चैत र साउन महिनामा विशेष पूजा समेत गर्ने गरेका छन् । भाकल लिनेहरु अन्य महिनाहरुमा पनि पूजाका लागि पुग्छन् । लम्तरी देवीको भाकल लिएकै कारण स्वदेशी वा विदेशी कुनै पनि सेनामा भर्ती भएका वारचोक बासि कसैको पनि निधन नभएको रामप्रसादले सुनाए । देबीस्थानको संरक्षणका वारचोक र छिमेकी भाचोक बासि मिलेर अहिले लम्तरी माई मन्दिर संरक्षण तथा विकास समिति गठन गरेर काम अगाडि बढाउँदै छन् ।
वारचोक गाउँ माथि गुफाको थाप्लोमा दुई वटा प्वाल परेको एउटा ढुंगा रहेको छ । दायाँ प्वालमा मुख राखी फुक्दा शंख बजेको आवाज वरपरको जंगलभरी गुञ्जन्छ । यहाँ आउने सबैजसो पुरुषहरु प्वालमा फुकी मजासँग बन नै थर्कने गरी आवाज निकाल्छन् तर महिलाहरु भने सुन्छन् मात्र, शंख फुक्दैनन् ।
‘हामीले शंख फुक्दा आवाज लम्तरी माईले सुनिन् भने राम्रो हुँदैन,’ गाउँबाट दुई घण्टा माथि रहेकी देवीको चरित्रबारे बताउँदै वारचोककी युवती कुमारी गुरुङले भनिन्–‘लम्तरी देवी बहिरो छिन् भनिन्छ, तैपनि हामीलाई शंख फुक्न डर लाग्छ ।’ यो क्षेत्रका बासिन्दाले लम्तरी देवीलाई बहिरी नागको रुपमा मान्ने गरेको र आफ्नो भाषामा नादा भनेर पुकार्ने गरेका छन् । आँटेताकेको पुगोस्, हावा, पानी र असिनाबाट जोगिन तथा बालबच्चा र वस्तुभाउ विरामी नहोउन् भनेर लम्तरी माईको पूजा गर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । दुई हजार ५६ मिटर उचाईमा रहेको लम्तरी थानको संरक्षण र विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ यहाँ पर्खाल बनाएर घेरा बनाउने, पुजास्थल अगाडि ढुंगाका छपनी विच्छाउने, पानीको व्यवस्था गर्ने र मन्दिर बनाउने योजना रहेको छ । स्थानीय वृद्ध धनवहादुर गुरुङका अनुसार लम्तरीमा बाइसे चौवीसे राज्यको समेत अवशेष रहेको छ ।
ङारा नामका राजाले यहाँ राज्य गरेको विश्वास गर्ने गाउँलेहरुका अनुसार यहाँ जोगीको कुटी, दरवारको पर्खालभित्र दुई वटा घडेरी, ढिकीका चारवटा ढुंगे ओखल, जाँतोहरु छन् । लम्तरीको नाम लिए पर्दै गरेको असिना समेत रोकिने उनले दावी गरे । माघे संक्रान्तिमा विशेष मेला लाग्ने यहाँ राँगो, बोका, कुखुरा, हाँस, परेवा र नरिवलको बलि दिइन्छ ।

Post a Comment

 
Top