0
गोल्डेन न्यूज संवाददाता
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा मंगलबार तनहुँको दमौलीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयनको अवस्था विषयक टेलिभिजन संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत सम्पन्न टेलिभिजन संवाद कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवाला निकायले जनताको पक्षमा निरन्तर सेवा गर्ने प्रतिबद्धता जनाए । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गराईएको बताउँदै शिक्षक र शिक्षण संस्थालाई श्रोत साधन सम्पन्न बनाउने कार्यक्रम अनुसार दरबन्दी अनुसारको शिक्षक व्यवस्था गर्ने काम सुरु भएको बताए । जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले सरकारको नीति बमोजिम जिल्लामा एक गाउँ एक उत्पादनको कार्यक्रम सुरु भएको र तरकारी, सुन्तला र माछाको उत्पादनलाई प्राथमिकता दिईएको बताउँदै युवाहरुलाई कृषिमा अनुदानको व्यवस्था गरिएको जानकारी दिए । जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत ऋषिभक्त वाग्लेले सबै विषयगत कार्यालयहरुसँग समन्वय गरि काम अगाडी बढाईएको बताए । उनले केही गाविसका सचिवले दोहोरो जिम्मेवारी लिनु पर्दा जनतालाई असुविधा भएको हुँदा त्यसको समाधान चाँडै हुने बताए । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.मानबहादुर पुनले दुध, मासु र अण्डामा जिल्लालाई आत्मनिर्भर बनार्ईको बताए । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले स्वास्थ्य सेवाको प्रगतिको अवस्था जिल्लामा सन्तोषजनक भएको बताउँदै भुकम्प र नाकाबन्दीको कारण औषधीको आपूर्तिमा केही समस्या देखिए पनि जिल्लामा उचित व्यवस्थापन गरिएकोले कुनै समस्या नभएको बताए । महिला विकास अधिकृत रमा अधिकारीले जिल्लामा महिला सशक्तिकरण र आय आर्जनको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेको बताउँदै हिंसामा परेका महिलाहरुको उद्धार पुनस्र्थापनामा सबैसँग समन्वय गरेर काम गरेको बताइन् । इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले जनताको मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।  मानवअधिकार निगरानी समूहका अध्यक्ष गोविन्द पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शिवदत्त ढकाल, गैसस महासंघका अध्यक्ष रामलिला सुवर्णकार, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामजी लौडारी, सेतो गुराँस बालविकास समाजका अध्यक्ष रामनाथ भट्टराई, पत्रकार महासंघका सचिव उज्वल पौडेल, क्रियाशिल पत्रकार महिलाकी अध्यक्ष सोनी खनीया, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष कला पुन, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष देवनीधि पन्त, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष एसवी नेपाली, नेपाल आदिवासी जनजाती महासंघकी सचिव बसुन्धरा घर्तीलगायतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा सम्बन्धित कार्यालय जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए ।









Post a Comment

 
Top