0
अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्ने अनुपम म्युजिक अवार्ड यस वर्ष गायक कर्णदासलाई प्रदान गरिने भएको छ । त्यसै गरी, हरेक वर्ष प्रदान गरिने अनुपम सङ्गीत सम्मान सङ्गीतकार नवराज बराल र गीतकार रेशम रचकलाई सम्मान गरिने भएको छ । साहित्यकार दीपक समीपको संयोजकत्वमा गायक रामभक्त जोजिजू र समाजसेवी वीरेन्द पालिखे सदस्य तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिशमा तीन जना प्रतिभालाई सम्मान गर्न लागिएको हो । अनुपम म्युजिकद्वारा आगामी जेठ १५ गते दिउँसो पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित तेस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा उक्त अवार्ड र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । यसअघि अनुपम म्युजिक अवार्डबाट गायक कर्म ग्याल्छेन र गीतकार कृष्णहरि बराल तथा अनुपम सङ्गीत सम्मानबाट गायिका इन्दिरा जोशी, गीतकार होमनाथ न्यौपाने, गायक रामभक्त जोजिजू र सङ्गीतकार वसन्त सापकोटा सम्मानित भइसकेका छन्। पोखराबाट मध्यान्ह ब्याण्डका माध्यमबाट साङ्गीतिक क्षेत्रमा चर्चा कमाएका गायक कर्णदास १० वर्षको अमेरिका बसाइँपछि हालै नेपाल आएर साङ्गीतिक क्षेत्रमै लागिरहेको छ । जिन्दगीको के भरोसा, पुरानो डुङ्गा, ठूला–ठूला महल हैन, फर्किआऊ शान्ति तिमी लगायत १२ सयभन्दा बढी गीतका गायक कर्णदासका मध्यान्ह भाग १, २, ३, व्यर्थै फेरि, आधा सपना, पुरानो डुङ्गा र प्रीत एल्बमहरु बजारमा आएका छन् । यस्तै, दुई दशकदेखि पोखरामै रहेर सङ्गीत प्रशिक्षणलाई पेसा बनाइरहेका सङ्गीतकार नवराज बराल हालै रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक सङ्गीत सम्मेलनमा सङ्गीततर्फ उत्कृष्ट भएका थिए । नेपाल आमा, किसानको आवाज, किसानी जिन्दावाद, बाँच्ने रहरलगायतका एल्बममा एकल सङ्गीत दिएका बरालले रचना गरेका ३ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनले भजन गङ्गा (भजन सङ्ग्रह) र मेरो गीत–मेरो सङ्गीत (गीत सङ्ग्रह) गरी दुई ओटा किताब पनि लेखेका बराल त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक हुन् । त्यसैगरी, गीतकार रेशम रचकले रचना गरेका दर्जनौँ आधुनिक र लोकगीतहरु चर्चामा छन् । उनका गोधूलिको साँझ, आरम्भ (भाग १ र २), हाम्रो माया, बैना रुमाल लगायतका सुगम सङ्गीत र लोक दोहोरी गीतका एल्बमहरु स्रोतामाझ आइसकेका छन् । जेठ १५ गते हुने कार्यव्रmममा गायक कर्णदास, कर्म ग्याल्छेन, भविन ढुङ्गाना, रामभक्त जोजिजू, इतु जाजिजूलगायत पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारको साङ्गीतिक प्रस्तुति सहित नृत्य पनि प्रस्तुत गरिने कार्यव्रmम संयोजक अनुराग अधिकारीले जानकारी दिए ।


Post a Comment

 
Top