गोल्डेन न्यूज संवाददाता
नाटक ‘पुलिस र प्यास’ को मञ्चन पोखरामा शुरु भएको छ । नाटक मञ्चन आज शनिबार पनि हुनेछ । पञ्चामृत नाट्य समूह पोखराको संयोजनमा मञ्चन गरिएको नाटक हेर्न पोखरेली दर्शकको ओइरो लाग्दा आयोजक लाई व्यवस्थापन गर्न मुस्किल परेको थियो । हलको सबै सिट भरिएपछि सयौं दर्शक उभिएरै सवा घण्टाको नाटक हेरेका थिए । नाटक हेर्ने दर्शकले खुलेरै कलाकारलाई समर्थन समेत गरे । पोखरामा नाटक देखाउनका लागि छुट्टै हलको व्यवस्था नहुँदा प्राविधिक त्रुटि हुनु स्वभाविक हो । नाटक मञ्चनका क्रममा पनि त्रुटि दोहोरिरह्यो । उक्त त्रुटिलाई दर्शकले कुनै प्रवाह गरेनन् । आज शनिबार बिदाको दिन भएकोले दर्शकको सहभागिता अझै बढ्ने अपेक्षा आयोजकको छ । कृष्ण उदासीको लेखन÷निर्देशन रहेको नाटकमा परिवर्तन कार्की, दिलप्रसाद गुरुङ, सवु पाठक, आशिष अधिकारी, विवश बाबु, मुना गुरुङ, शितला अधिकारी, मनिषा गौतम लगायतको अभिनय छ । नाटकमा चोर, जँड्या, जुवाडे, यौनकर्मी, पुलिस र पागलको अभिनयमार्फत समाजमा भइरहेको विकृति र यसको निराकरण बारे सन्देश दिन खोजिएको छ । ‘यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यसको निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ’–नाटककार कृष्ण उदासीले भने । उदासीको यो १०३ औँ नाटक हो । यस अघि उनले १०२ वटा नाटकमा उनले विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका थिए । परिवर्तनको संयोजन र व्यस्थापन रहेको नाटक पुलिस र प्यासमा सूत्राधार अश्रुलता बाँस्तोला, मञ्च संयोजन तथा व्यस्थापन प्राञ्जल, साउन्ड तथा प्रकाश व्यवस्थापन एस.के साउन्ड, कोरियोग्राफी मुना गुरुङ, संगीत संयोजन रविभूषण पराजुलीको रहेको छ । विषयवस्तुका दृष्टिकोणले आफ्ना अन्य नाटकमा भन्दा फरक पन यसमा पाइएकोले दर्शकहरु उत्साहित भएको नाटककार उदासी बताउँछन् । नयाँ कलाकार भएपनि उनीहरुले आफ्नो अभिनयमार्फत नाटक पारखीहरुले नाटकको प्यास मेटाएकोे उदासीको दावीे छ । पोखरामा नाटक हेर्ने दर्शक रहेकोले नाटकमार्फत अगाडि बढ्न खोज्नेलाई पोखरा उत्तम रहेको नाटकले देखाएको उनले बताए । नाटकको संयोजनको जिम्मा लिएको पञ्चामृत नाट्य समूहमा परिवर्तन, प्राञ्जल, दिपक पराजुली, रामचन्द्र आरसी र रविन शर्मा रहेका छन् । नाटक हेर्ने दर्शकको उत्साहले समूहको भविष्य निर्धारण गर्ने भएकोले पनि समूहले छुटेका दर्शकलाई शनिबार नाटक हेरेर प्रतिक्रिया दिन सबै आग्रह गरेको छ । यो नाटक मञ्चनले पोखरामा छुट्टै नाटक घरको आवश्यकता महसूस समेत गराएको छ ।
Post a Comment