0
गोल्डेन न्यूज संवाददाता
नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा शनिबार (आज) ‘पोखरा स्पोर्टस् अवार्ड–२०७२’ हुँदैछ । पोखरामा पहिलो पटक हुने उक्त अवार्ड समारोहलाई ऐतिहासिक बनाउन आयोजक समितिले तयारी पूरा गरेको जनाएको छ । समारोह पोखरा सभागृहमा दिउँसो साढे ३ बजे सुरु हुने मंचका का.वा.अध्यक्ष एवं कार्यक्रम संयोजक संदेश श्रेष्ठले जानकारी दिए । पाँच विधामा उत्कृष्ट १ जनालाई स्पार्टस् अवार्डबाट सम्मान गरिनेछ । अवार्ड कसको पोल्टामा जाला भन्नेमा सबैजनामा कौतुहलता उत्तिकै छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । उत्कृष्ट वर्ष खेलाडी पुरुष तथा महिला, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडी विधामा अवार्ड दिइनेछ । मनोनयमा परेका ३ मध्ये उत्कृष्टको छनौटका लागि यसअघि नै ५ सदस्यीय प्रतिभा छनौट समिति गठित छ । उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) महिलातर्फ झरना गुरुङ (उसु), मंजु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल), उदीयमान खेलाडीतर्फ अभिषेक बास्तोला (टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स), उत्कृष्ट प्रशिक्षकमा शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराँते)  मनोनयनमा परेका छन् । 
वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिनेछ । वर्ष खेलाडीमा उत्कृष्ट पुरुष तथा महिलालाई सामसङ मोवाइल पनि दिइनेछ । पोखराको चिप्लेढुंगास्थित वल्र्ड भिजन इलेक्ट्रोनिक्स÷वल्र्ड वाइड कनेक्सनले उक्त मोवाइल प्रायोजन गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव केशवकुमार बिष्टको प्रमुख आतिथ्य रहने समारोहमा भाग लिन खेलकुद पत्रकार मंच केन्द्रीय समितिमा नवनिर्वाचित अध्यक्ष महेश आचार्यको टोली शुक्रबार नै पोखरा आइसकेको छ । सागमा स्वर्ण विजेता नीमा घर्तीमगर शनिबार पोखरा आउने प्रसार संयोजक दीननाथ बरालले बताए । समारोहमा पूर्ण नेपाली, भाष्करध्वज श्रेष्ठ, विनोद बानियाँको सांगीतिक प्रस्तुतिसहित अन्य साँस्कृतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ । कार्यक्रम निशुल्क हेर्न पाइने भएकोले आयोजकले सर्वसाधारणलाई भाग लिन आमन्त्रण गरेको छ ।
नेपाल खेलकुद पत्रकार मंच केन्द्रीय समितिको तत्वावधानमा हुने कार्यक्रमको सहयोगी संस्था जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका रहेका छन् । सहप्रायोजकमा क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखराले सहयोग गरेका छन् । मलेसियाको क्लारा विश्वविद्यालय बाट सम्बन्धन प्राप्त पोखराको महेन्द्रपुल स्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालिले ६० वटा रिसर्ट सहयोग गरेको छ ।
वर्ष खेलाडी पुरुषका लागि कमल गुरुङ, महिलाको लागि मनोकामना आयाल, वर्ष उत्कृष्ट प्रशिक्षकको जि.एस.आर. कंक्रिट पाइप उद्योग र वर्ष उत्कृष्ट नवप्रतिभाको लागि सहारा क्लब पोखरा टाइटल स्पोन्सर हुन् ।

Post a Comment

 
Top