0
साहित्य सिर्जना जीवन जिउने उच्च कला, सीप वा साधना मध्ये एक हो । दुनियाँलाई साहित्यको रसास्वादन गराई आल्हादित बनाउने काम जसकसले गर्नसक्ने लर्तरो कुरा पनि होइन । जोसँग यो विश्व ब्रम्हाण्ड चराचर जगतलाई बुझ्ने अलौकिक शक्ति, ज्ञान र क्षमता हुन्छ उसको हृदय पनि विशाल, शितल र महान हुन्छ । यस्तो फराकीलो हृदयले मात्र सिर्जनाको मूल फुटाएर जन्मभूमि, पूर्वज र अमर शहीदहरूको ऋण तिर्न सक्छ । यस्तै हृदय बोकेर विगत २२ औं वर्षदेखि निरन्तर साहित्य सेवामा आफूलाई समर्पित बनाउँदै आएका एक सिर्जनशील र प्रेरणादायी साहित्यिक प्रतिभाको नाम हो विष्णु न्यौपाने ।
आफैंमा चिरपरिचित बन्दै गएका यी लोकप्रिय कविको जन्म पिता हरिप्रसाद र माता पदमकुमारी न्यौपानेका कोखका १४ सन्तान मध्ये ९ औं सन्तानका रुपमा धनकुटाको चुङमाङमा वि.सं २०३१ कार्तिकमा भएको हो । जीवन यापनको क्रममा मोरङको लेटाङहुँदै हाल झापाको दमकलाई कर्मथलो बनाई निजी व्यवसाय र विविध सामाजिक काममा सम्लग्न हुनुहुने साहित्यकार न्यौपाने गोरो वर्णको मृदुभाषी हुनुहुन्छ । प्राय नहाँसी नबोल्ने, मिजासी र मिलनसार स्वभावका धनी न्यौपाने वि.स. २०५१ सालदेखि छन्दोबद्ध काव्य साधना गर्दै आउनुभएको छ । वि.सं २०६४ सालमा श्रद्धाञ्जली खण्डकाव्य, वि.सं २०७० सालमा जन्मभूमि कविता सङ्ग्रह र वि.सं २०७२ सालमा सूक्ष्म आकाश हाइकु सङ्ग्रह प्रकाशित गरी एक सशक्त कविको स्थान ग्रहण गरिसक्नुभएको छ भने अर्को एउटा कविता सङ्ग्रह, एउटा बाल कविता सङ्ग्रह, गीत, गजल, र मुक्तकहरू प्रकाशनको तयारीमा हुनुहुन्छ ।
कवि विष्णु न्यौपानेको जन्मभूमि कविता सङ्ग्रह अत्यन्त सुन्दर र प्रखर कविताहरूको एउटा उत्कृष्ट सङ्ग्रह हो । यस सङ्ग्रहको खण्ड ‘क’मा अति प्रचलित र जनप्रिय छन्द शार्दूलबिक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, अनुष्टुप, वसन्ततिलका, तोटक, उपजाति, लगायत झण्डै डेढदर्जन छन्द प्रयोग गरी ३८ वटा छन्दोबद्ध कविताहरू सङ्ग्रहित छन् भने खण्ड ‘ख’मा मुक्त लयका १५ वटा कविताहरू सङ्ग्रहित छन् । कवि न्यौपानेको मूल मान्यता भनेको सिर्जना कालजयी हुनुपर्छ र जसका लागि स्रष्टाले सिर्जनामा आफ्ना सम्पूर्ण मन, मस्तिष्क वा हृदय नै खन्याउनु पर्छ भन्ने हो । यस अर्थ र दृष्टिकोणबाट हेर्दा साहित्यकार न्यौपानेका कविताहरू साच्चै नै कालजयी छन् । कविता लेख्ने त धेरै होलान् तर एक त छन्दोबद्ध त्यसमा पनि अत्यन्तै दमदार शव्दहरूको कुसल संयोजनबाट सिर्जित भावमय कविताहरू कमैका मात्र हुन्छन् । हृदय स्पर्शी सिर्जना जन्माउनु भनेको चानचुने कुरा होइन तर साहित्यकार न्यौपानेको दीर्घ साधना र छन्द प्रतिको गहिरो अभिरुचीले असम्भवलाई सम्भव बनाएको छ । वहाँले यस संग्रह भित्र सीमा नाघेपछि, जन्मभूमि, छिमेकी, नेपाली युवाको पीडा, कर्मजीवी बनौं, स्वदेश चिनौं जस्ता अत्यन्त सुमधुर कविताहरू प्रस्तुत गर्नुभएको छ । यस सङ्ग्रह मार्फत कवि न्यौपाने हाम्रो समाजमा विध्यमान रहेको अन्याय, अत्याचार, थिचोमिचो र विकृति विसङ्गतिलाई तीखो व्यङ्य प्रहार गर्दै आजको सङ्कीर्ण सोचको मान्छेलाई नैतिक सुधारको सन्देश दिनुहुन्छ । जसलाई यी कविताका सुन्दर काव्यमय पक्तिहरूले पनि पुष्टि गर्दछन् ः
आयो हावा शिशिर युगमा बर्सँदै आस नौलो
फर्की जाग्यो घरहरूतिरै दब्दबे त्यो तुवाँलो ।
जागे झुप्रा सलह जसरी एकताबद्ध बन्दै
भागे सारा घरहरू उठी दाग काला नियाल्दै ।।
विष्णु न्यौपाने एक सशक्त राष्ट्रवादी चेत भएका, प्रकृति प्रेमी स्रष्टाको नाम हो । वहाँका कविताहरूमा राष्ट्र र प्रकृति प्रेम, जन्मभूमि प्रति नतमस्तक भाव र देश प्रतिको जिम्बेवारी तथा अगाध माया पाइन्छ । वहाँको जन्मभूमि कवितामा कवि सिद्धिचरण श्रेष्ठले वखलढुङ्गा कवितामा देखाए जस्तै आफ्नो जन्मथलो प्रतिको अगाध श्रद्धा र असीम माया यसरी देखाउनु भएको छ ः
आफ्नै बस्ती वरिपरि बसी वास मीठो निदाइ
मोती जस्तै तरर पसिना झार्छु माटो भिजाई ।
यौटा मात्रै सुख चयनको वासको देश मेरो
नेपालै हो जगत भरिको आसको देश मेरो ।।
कवि न्यौपानेले छन्दोबद्ध कविता ‘छिमेकी’ मार्फत एउटा छिमेकीले असल छिमेकी बन्न नसकेको कुरा कोट्याउँदै सबैलाई असल छिमेकी बन्न सन्देश दिनुभएको छ । जुन छिमेकी कविता हाम्रो छिमेकी देशलाई पनि कटाक्ष गर्न काफी छ । यसरी नै साहित्यकार न्यौपानेका कविताहरूमा प्रकृतिलाई विम्ब र प्रतीकका रुपमा सुन्दर र सहज ढंगले प्रस्तुत गरेको पाइन्छ । कतै प्रकृतिको मानवीकरण गरी कवि प्रकृतिसँग हृदय बहलाउन पुग्नुहुन्छ भने कतै प्रकृतिमै लीन भएर भावमय हरफहरूमा विलिन बन्न पुग्नुहुन्छ ः
वासना छरी फूलले डाक्ता भमरा हाँसेझैं
नेपाली हाँसुन् देशले डाक्ता माधुर्य गाँसेझैं
कवि न्यौपाने राष्ट्रप्रेमी, देशभक्त कवि हुनुहुन्छ । देशले सहेको वेदनामा कविको मन र हृदय नराम्ररी कुँडिन्छ, अमिलिन्छ । यो राष्ट्र त टुक्रिने नै भयो होइन ? भन्ने कुराले स्रष्टालाई पिरेको छ । युग युगसम्म एउटा सुन्दर र शान्त देश हेर्न लालायित स्रष्टाको अखण्डता कवितामा देशभक्ति भावना यसरी छताछुल्ल भएको छ ः
कदापि चाहिँदैन भो कि खण्ड खण्ड देश यो
अखण्ड राष्ट्र मात्रले भविष्य बोक्न सक्छ यो ।
म भित्र बोल्छ भावना समष्टि मात्र राष्ट्र हो
म जन्मभूमि खिच्तछु अखण्ड राष्ट्र मात्रको ।।
कवि न्यौपाने कतै कविता मार्फत अग्रज साहित्यकारहरू प्रति श्रद्धाभाव प्रकट गर्न पुग्नुहुन्छ भने वर्तमान नेपाली युवा वर्गको वेरोजगारी पीडाको घाउमा मलमपट्टि गर्न हतारिनुहुन्छ । कतै स्वच्छ र हार्दिक प्रेमको विजारोपण गरी थाङ्ग्रो लगाउनुहुन्छ भने मांसल प्रेमको उछित्तो काढ्नुहुन्छ । कतै वुढ्यौलीका कुरा कतै दर्शनशास्त्री झैं पोटिला र झरिला कवितात्मक भाव अभिव्यक्त गर्नुहुने न्यौपाने मान्छेलाई कर्मवादी र पौरखी बन्ने सन्देश दिँदै ढोगी आडम्बरी धर्मलाई सिस्नुपानी लगाउनुहुन्छ ।
रगत बोलिरहेछ, रविकी आमा, आकाश, भयवाद, समयका पानाहरू लगायत जन्मभूमि कविताको खण्ड खमा जम्मा १५ वटा कविताहरू साहित्यकार विष्णु न्यौपाने ज्यूले लिपिबद्ध गर्नुभएको छ । यी कविताहरूमा गरिबीको पीडा (रविकी आमा), बेसहारा भरियाको कारुणिक जीवन गथासो, नेताहरूले जनता र राष्ट्रमाथि दोहन गरेको कुरालाई समेत कटाक्ष यसरी गर्नुभएको छ ः
टाउकोमा हुस्सु बोकेको
दानवीय झुण्ड झुण्ड कुहिरो
पालो फेरो देश चुसिरहन्छ
बिना जिम्मेवार, विना अधिकार
दासताको घोर निशा भित्र धकेलिरहन्छ
मेरो देशको दुरुहता अँझै नङ्ग्याउने परिवेशमा ।
यसरी नै कवि फूल चुँडेर मृत्यु पुज्नेहरूलाई जीवन बुझ्ने सल्लाह दिनुहुन्छ भने मान्छेको कुकृत्यले हिमालको प्राकृतिक स्वरुप र संरचनामा आएको ह्रास प्रति कोमल व्यङ्य प्रहार गर्दै हिमाल बचाउँने नैतिक दायित्व उजिल्याउनुहुन्छ । प्रकृतिको अनुपम सौन्दर्य, इतिहास वेद पूराणका पात्रहरूलाई पनि प्रयोग गरी प्राकृतिक छटाको स्वरुप वर्णन गर्नुभएको छ ।
कवि विष्णु न्यौपाने जसरी सुन्दर भावले लचकयुक्त छन्दोबद्ध कविता लेख्नुहुन्छ त्यसरी नै ती कविताहरूलाई गति, यति, लय मिलाएर श्रोतालाई मन्त्रमुग्ध बनाउनेगरी वाचन पनि गर्नुहुन्छ । वहाँको स्वर सुमधुर छ । वहाँले खिपेर सारङ्गीका तारझैं खिरिला बनाएका कविताका श्लोकहरू वहाँकै कण्ठले सस्वर वाचन गर्दा एउटा उस्तादले बजाएको सारङ्गीको धुनझैं लठ्ठ बनाउँदै बज्न थाल्छन् । त्यसैले त कविको पाइला जुन मञ्चमा उक्लन्छ त्यो मञ्चले प्रथम स्थानको माला वहाँलाई नै पहिर्याउँछ ।
समग्रमा भन्नुपर्दा साहित्यकार न्यौपानेका छन्दोवद्ध र मुक्त दुवै प्रकृतिका कविताहरू अत्यन्त सुन्दर र सशक्त छन् । सुकोमल पद र पदावलीको सुन्दर संयोजन, लालित्यमय, परिष्कारयुक्त भावाभिव्यक्ति, युग सापेक्ष चिन्तन, विषयवस्तुगत विविधता र व्यापकता, शीर्षक केन्द्रित आत्मप्रकटीकरण तथा विम्ब र प्रतीकहरूको यथोचित प्रस्तुतिकरणले सम्पूर्ण कविताहरू उत्कृष्ट बनाएका देखिन्छन् । केही व्याकरणिक कमी कमजोरीलाई मानवीय स्वाभावका रुपमा लिँने हो भने कवि न्यौपाने यो राष्ट्रका उच्चकोटीका कविहरू मध्येका एक हुन भन्नु अत्युक्ति हुँदैन । अन्त्यमा, साहित्यकार न्यौपानेको उत्तरोत्तर प्रगतिको कामना गर्दै साधुवात टक्र्याउँछु ।










Post a Comment

 
Top