सन् १८८५मा भारतको गुजरातमा जन्मी ५५ वर्षको अल्पायुमा संसार छाडेर गएका शिक्षासेवी गिजुभाइको बालबालिका शिक्षासम्बन्धी कथन छ–कुनै कामकुरामा बालबालिकालाई दवाव दिनुहुन्न । उनीहरूलाई प्रताडित गरेर उनीहरूको व्यक्तित्व अस्वीकार गरेमा परिणाम घातक हुन्छ । उनीहरूलाई स्वतन्त्र छाड्नुपर्छ । उनीहरूको उत्सुकता र प्रयासको कदर गरी तिनलाई अभिव्यक्त हुन दिनुपर्छ । आफूले चाहेजस्तो नभई तिनीहरूले बन्ने खोजेजस्तो बनाउन सहयोग पुर्याउनु नै असल आमाबुबाको कर्तव्य हुन आउँछ । उनकै ‘माँ–बापों कि माथापच्ची’ नामक पुस्तकको नेपाली अनुवाद ‘हामी आमाबाबु’ शीर्षकमा सिकाइ समूह, काठमाडौंले प्रकाशन गरेको छ । त्यसमा हामी आमाबाबु अर्थात् अभिभावकहरूले बालबालिकाप्रति गर्नुपर्ने व्यवहारलाई विभिन्न संवादात्मक प्रस्तुतिका साथ रोचक ढङ्गले प्रस्तुत गरिएको छ । त्यसै पुस्तकमा आधारित रही यो लेख तयार पारिएको हो ।
हामी आमाबाबु अर्थात् अभिभावकहरूले बालबालिकाप्रति गर्नुपर्ने व्यवहारको फेहरिस्त यस्तो छ–
हामीले बालबालिकाहरूको सिर्जनशील क्षमताको मुण्टो बटार्ने काम बन्द गर्नुपर्छ । उनीहरूलाई अन्योलमा नराखी पारिवारिक योजना र निर्णयमा सहभागी गराउनुपर्छ । उनीहरूका इच्छा–आकाङ्क्षाप्रति सकारात्मक हुने प्रयास गरी उनीहरूको परिस्थितिलाई राम्ररी अध्ययन गर्नु जरुरी हुन्छ । नगर भनेको कुरा गर्ने उनीहरूको मनोविज्ञान नै हुन्छ भन्ने कुरा बुझेर व्यवहार गरिनु जरुरी हुन्छ । उनीहरूलाई मन नलागेको काम गराउनु आफ्नै मूर्खता सम्झनुपर्छ । बच्चाका हर इच्छा–आकाङ्क्षाको हत्या गर्दिनु भएन । उनीहरूको उत्साह र उत्सुकतालाई सम्मान गरेर अगाडि बढ्नु जरुरी छ । बच्चाले गर्न चाहेको कुरा गर्न दिए उनीहरूको अन्तर्हृदय खुल्छ र परिपक्वता आउँछ जसले गर्दा उनीहरू समाजको वृहत्तर हितमा सहभागी हुन सक्छन् । आफ्नो प्रतिभाको उचित लगानीको अवसर पाउँदा जीवन फुलैफूलको रङ्गशाला बनाउन सक्छ । हामी आमाबाबु अर्थात् अभिभावकहरूले आफ्ना नानीहरूले आर्जन गरेको उपलब्धिबाट सन्तोष भई स्यावासी प्रकट गर्न पछि पर्नु हुँदैन । आश्वासन दिएर मख्ख पारी पूरा नगरेमा उनीहरूको उत्साह मृत्यु हुन्छ । बच्चाहरूको सानोतिनो कमजोरीलाई तिलको पहाड बनाई ज्याजति गरेमा अनिष्टता देखा पर्न सक्छ । उनीहरूको भावनालाई सम्मान गर्न सके प्रतिभा विकसित भएर जान्छ । केटाकेटीको भावनाको ख्याल नगरी काम गर्दा आर्फैले पछुताउनुपर्छ ।
अरूप्रति उदार हुने बालचरित्रलाई बढावा दिनुको साटो सङ्कीर्ण भई बेइमान हुन वाध्य पार्दा कमजोरी आफ्नै हुन्छ र बच्चाको असल चरित्र निर्माण गर्न व्यवधान खडा हुन्छ । बच्चाहरूको हरेक बदमासीमा समेत् ऊध्र्वगामी क्षमता विद्यमान छ, छैन ठम्याएर व्यवहार गर्नु जरुरी हुन्छ । बच्चालाई हरतरहले तर्साएर राख्नाले प्राप्त हुने परिणाम हानिकारक हुन्छ भन्ने हेक्का राख्नु जरुरी छ । उनीहरूले अनावश्यक उपद्रो गर्दा यथार्थवोध गराउन चुक्नुहुन्न । अन्धोप्रेम दर्शाएर गलतकर्मलाई ओट दिएमा त्यो आत्मघात हुन जान्छ । यसले उनीहरूलाई अनुदार, हिंस्रक र बेएमान हुन सघाउँछ ।
बच्चालाई स्वावलम्बी बनाउन सिकाउने, सघाउने गर्नुपर्छ तर आफैँले गरिदिएर परालम्बी बनाउनु किमार्थ उचित हुन्न । काम गर्न नदिनु परालम्बी बनाउनु हो । बच्चाले काम गर्ने र सिक्ने वातावरण प्रदान गर्नु स्वावलम्बी बनाउनु हो । बच्चाको भावनालाई तिरस्कार हैन सम्मान गर्नसक्नुपर्छ । उनीहरूले गरेका उचित कार्यको प्रशंसा गरी अँझ उत्तम गर्न प्रोत्साहित गर्नुपर्छ । बच्चालाई निर्णय गर्न दिनु र त्यसको यथोचित सम्मान गर्नु जरुरी छ । बच्चामाथि हैकम चलाउने हैन सम्मान गरेर व्यवहार गर्नु श्रेष्यकर हुन्छ ।
बच्चाको लागि फुर्सत निकालेर समय दिनसक्नुपर्छ । आश्वासन दिएर मख्ख पारेपछि त्यसको निर्वाह समेत गर्नुपर्छ । आमाबुबाको विचार र व्यवहारअनुरूप बच्चाको स्वभाव विकसित हुने हुँदा आफ्ना नानी सपार्न पहिले आफैँ सप्रनुपर्छ । नानीहरूको समझलाई कमजोर ठानी व्यवहार गर्नु भूल हुन जान्छ । उनीहरूका जायज क्रियाकलापको रमिते बन्न पनि सक्नुपर्छ । रिसाउनुपर्ने यथेष्ट कारण बोध गराएर मात्र बच्चासँग रिसाउनुपर्छ । बच्चाहरूका कुरा सुनेर भरोसा गर्नसक्नुपर्छ ।
बच्चाहरूको जिज्ञासालाई गम्भीर भएर अवलोकन गर्नुपर्छ जसले उनीहरूलाई उत्साह पैदा गर्छ । राम्रो काम गर्न प्रोत्साहन पुग्छ । उनीहरूका हरेक क्रियाकलापहरूको निरीक्षण गरी कमजोर जति पत्ता लगाई सुधार गर्न भूमिका खेल्नुपर्छ । र, आफ्नो विश्वासको नाजायज फाइदा उठाए नउठाएको हेक्का पुर्याउनुपर्छ ।
हामी आमाबाबु अर्थात् अभिभावकहरूले अरूसँग दाँजेर हत्तोत्तसाही बनाउनुको साटो आफ्ना बच्चाको रुचीक्षेत्र पत्ता लगाई त्यसमै सक्रिय पार्न भूमिका खेल्नुपर्छ । आफ्ना हरेक कामकुराको सूक्ष्म अवलोकनकर्ता आफ्नै नानीहरू हुने हुँदा उनीहरूको बुझाइलाई नजरअन्दाज गर्नु आफ्नै भूल हुन जान्छ । उनीहरूसित सहज र नरम हुनु आवश्यक छ । सही ढङ्गले आफूले नियम पालना गरे त्यसको सिको बच्चाहरूले गर्दछन् । सिद्धान्तअनुसार व्यवहार नगरे त्यसको असर आफूलाई मात्र नपरी बच्चालाई समेत पर्छ । आश देखाएपछि फत्ते गर्नु हाम्रो दायित्व हो । यसबाट पन्छिए त्यसको नकारात्मक असर बच्चाहरूमा पर्छ । उनीहरूको नजरमा आफू असल र महान् देखिन सक्नुपर्छ । आफूले मात्र नानीहरूलाई आदर्शको पाठ पढाउने हैन, उनीहरूले समेत बेलाबेलामा पढाका पाठ आफूले निर्धक्क पढ्न सक्नुपर्छ । हामीले कपट, झुट र ढोंगी विचार र व्यवहार प्रदर्शन गरेमा बच्चामा पनि त्यसैको प्रभाव पर्छ भन्ने बुझ्न जरुरी छ । अन्तहृदय कमजोर हुने गरी बच्चालाई हकार्नु, डर देखाउनु, भूत–प्रेतका कथाकहानी भन्नु किमार्थ उचित छैन । यसले उनीहरूलाई दीर्घकालीन असर गर्छ ।
समस्या ठीकसँग बुझाए उनीहरूले बुझ्छन् । अन्तर्नि्हित प्रतिभालाई फुल्न र फक्रन दिनका लागि समेत बालबालिकाको सिकाए लय अनुसार हामी आमाबाबु अर्थात् अभिभावकहरू हिँड्न सक्नुपर्छ । आफ्ना बालबालिकाहरूमा विकसित सद्गुणको कदर गर्न सके हाम्रो बिग्रँदो मति पनि ठिक हुन्छ । बच्चालाई हरदम कचकच नगरी सम्झाएर काममा लगाउनु पर्छ । बच्चालाई आफैँसँग सामाजिक कार्यमा सरिक गराउन सके प्रतिफल उत्तम हुन्छ । उनीहरूले विद्यालयमा हाँसखेल गर्दै रमाइलो मान्दै पढ्ने वातावरण हुनुपर्छ ।
शिक्षकले पहिले विद्यार्थीलाई पढ्नुपर्छ अनि ऊ कुन बाटोबाट सिक्न सक्छ, पत्ता लगाई आफू नै उसको बाटोमा हिँड्न राजी हुनुपर्छ । बच्चाको गलत कार्यका लागि खेदो नगरी सहज तवरले समाधान निकाल्नुपर्छ । बच्चाहरूको हाउभाव र अभाषिक क्रियाकलापको भाषा बुझेर व्यवहार गर्नुपर्छ । नाजायज मागलाई ठीक–बेठीकको कसीमा घोटी बुझाएर र फकाएर मात्र अस्वीकार गर्नुपर्छ । सहजै अस्वीकार गरिएमा कारणको खोजीमा बच्चाको मन अन्यत्रै दगुर्न थाल्छ । र, बच्चामा नकार प्रवृतिको हालिमुहाली हुने सम्भावना बलियो बन्छ ।
सिद्धहस्त लेखक, वरिष्ठ पत्रकार तथा शिक्षासेवी शरच्चन्द्र वस्तीद्वारा अनुवादित ‘हामी आमाबाबु’ पुस्तकको चुरो कुरा यत्ति नै हो । उनका अनुसार– ‘दिवास्वप्न’ पुस्तकको चुरो शिक्षण–सिकाइ प्रकृयामा शिक्षकको भूमिका सिर्जनात्मक र प्रभावकारी हुन सक्छ भन्ने थियो । ‘हामी आमाबाबु’ पुस्तकले भने हामी आमाबाबु अर्थात् अभिभावकहरूको भूमिका शिक्षककोभन्दा अँझ गहन र महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ । उनले अठार पूराणको सार ‘जुन व्यवहार आफूलाई प्रतिकूल लाग्छ, त्यो अरूसँग नगर्नू’ भन्ने कथन प्रस्तुत ‘हामी आमाबाबु’ पुस्तकमा लागू हुने वताएका छन् ।
प्रस्तुत ‘हामी आमाबाबु’ पुस्तकमा कुनै ठूला कुरा गरिएको छैन । हामीले व्यवहारिक जीवनमा भोग्दै र व्यवहार गर्दै आएका सानातिना कुराहरूलाई नै सहज ढङ्ले प्रस्तुत गरिएको छ । पुस्तकका प्रत्येक संवादले हामीलाई चिन्तन गर्न वाध्य तुल्याउँछ । आफ्नो व्यवहारको लेखाजोखा स्वय म गर्न झकझकाउँछ । हामी अभिभावकले बालबालिकाप्रति गर्दै आएको व्यवहार परिवर्तन गर्न वाध्य तुल्याउँछ । भाषिक प्रस्तुतिकरण नेपाली माटो सुहाउँदो र वर्तमानलाई सम्बोधन गर्न सक्षम छ तर वर्ण्विन्यास (पदयोग–पदवियोग सम्बन्धी, चन्द्रविन्दु–अनुस्वर सम्बन्धी, श, ष, स सम्बन्धी र कतैकतै ह्रस्व–दीर्घ सम्बन्धी) प्रयोगमा कमजोरी भने विद्यमान छँदै छ । आगामी संस्करणमा सुध्रने नै छ भन्ने विश्वास राख्नुको विकल्प छैन ।
अन्तमा शिक्षा क्षेत्रमा ‘हामी आमाबाबु’ महत्वपूर्ण उपलब्धि हो । हरेक अभिभावकले यस पुस्तकको सहारा लिएर व्यवहार गरे भावी पिढींलाई सही तवरले मार्गनिर्देश गर्न सक्छन् । हाम्रै कमजोर र जड विचारले निर्दे्शित व्यवहार प्रदर्शनले आजका पिढीँलाई निरासतातिर धकेल्दै गएको परिप्रेक्ष्यमा हाम्रो मानसिकतामा सकारात्मक ऊर्जा पैदा गर्न प्रस्तुत ‘हामी आमाबाबु’ पुस्तकले अहम भूमिका खेल्न सक्छभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
Post a Comment