0
गोल्डेन न्यूज संवाददाता
 पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौंको सामाखुसीमा शाखा विस्तार गरेको छ । २७ औं शाखाको रुपमा स्थापित सामाखुसी शाखाको शुक्रवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरे । ‘पहाडदेखि तराईसम्म, शहरदेखि गाउँसम्म’ भन्ने नाराका शाखा विस्तारलाई तीब्रता दिइएको हो । उद्घाटन कार्यक्रममा पौडेलले बैंक तथा वित्तीय संस्थाले संस्थागत सुशासन कायम राख्दै सामाजिक अवस्था सुधार सहितको वित्तीय सेवा प्रवाह गर्नु पर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकलाई विकास बैंकमा सबै भन्दा उत्कृष्ट बैंक बनाउन आफुहरु लागि परेको बताए । ‘निलगिरी विकास बैंकसंग मर्जर पुरा गरि शुभेच्छा विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको बैंकलाई मर्जरबाटै विकास बैंकहरुमा उत्कृष्ट बैंक बनाउँछौं’–प्रमुख कार्यकारी अधिकृत ढकालले भने । बैंकर्श एशोसिएसन का अध्यक्ष कृष्णराज लामिछानेले ग्रामिण क्षेत्रबाट राजधानीमा शाखा खोलेर बैंकले उदाहरणिय रुपमा वित्तीय सेवा बिस्तारको काम गरेको बताए । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई सक्षम बन,क्षमता बढाउ, ठुलो बन अनि जोखिम वहन क्षमता बढाउ भने पनि खुलेर कारोबार गर्न नदिएको उनले बताए । उनले २ अर्बको पूँजी भएका अहिलेको वाणिज्य बैंकले गर्ने काम २ अर्ब ५० करोड पूँजी हुने विकास बैंकले किन गर्न नपाउने भन्दै विकास बैंकलाई सरकारी निर्माण ठेक्काको ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था, एलसी कारोबार र रेमिट्यान्स कारोबार गर्न दिनुपर्नेमा जोड दिए । वित्तीय पहुँच बिस्तारको अभियानमा सघाउन स्याङजाको वालिङबाट सेवा सुरु गरेको गरिमा विकास बैंकले गत सोमवार मात्रै स्याङ्जाको चापाकोटमा २६ औं र बैशाख २० गते बागलुङको बुर्तिबाङमा २५ औं शाखाबिस्तार गरेको थियो । राष्ट्रव्यापी सञ्जाल बिस्तारको क्रममा जेठ ११ गते नवलपरासीको बर्दघाटमा २८ औं शाखा बिस्तार गर्ने कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।
२०६४ साल असोज २४ गते ३ जिल्लामा वित्तीय सेवाका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको गरिमा विकास बैंक ८ वर्षमा राष्ट्रियस्तरको विकास बैंकमा स्थापित हुन सफल भएको हो । बैंकको स्याङ्जामा ५ , कास्कीमा ४, पाल्पा, रुपन्देही र बागलुङमा २र२ शाखा छन् । त्यस्तै म्याग्दीमा ४, बर्दघाट शाखा सञ्चालनमा आएपछि नवलपरासीमा ३ शाखा, पर्वतमा ३ र कपिलवस्तु, तनहु र काठमाडौंमा एक एकशाखा गरि कुल शाखा संख्या २८ पुग्नेछ । अहिले ५ वटा एटीएम काउण्टर संचालनमा रहेको बैंकले मुख्य कार्यालय काठमाण्डौंको नक्सालमा स्थानान्तरणका लागि नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाईसकेको छ । २२ करोड ७३ लाख रुपैंया चुक्ता पूँजी भएको सुभेक्षा विकास बैंकसँग गत बैशाख ८ गते मर्जर सम्झौता गरेको गरिमा विकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्तापूँजी रहेको छ । यसै आर्थिक वर्ष भित्रमा मर्जर पुरा गराउने लक्ष्य सहित काम भैरहेको र मर्जर पुरा भएपछि बैंकको चुक्तापूँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्ने कार्यकारी अधिकृत ढकालले जानकारी दिए । २०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्ता पूँजी पु¥याउनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पूँजी बिस्तार गर्दै लगिने उनले बताए । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने उक्त अवधिमा १४ करोड ६६ लाख ४७ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ ।







Post a Comment

 
Top