0
गोल्डेन न्यूज संवाददाता
मोहरिया टोलको हाम्रो संगम पार्क संगै अवस्थित वि.सं.१९७३ सालमा निर्मित बौद्ध चैत्यको दुई दिवसीय “सत्वार्षिकी कार्यक्रम” सम्पन्न भएको छ । मूल आचार्य लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.नरेशमान बज्राचार्यले गौतम बुद्धको प्रतिमामा दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै आचार्य डा.बज्राचार्यले एकसय वर्ष पुरा गरेको मोहरिया टोलको चैत्य नेपालको कानून अनुसार पोखराको मात्र नभइ देशकै सम्पदा बन्न पुगेको हुनाले यस चैत्य प्रति पुरातत्व बिभागको पनि अधिकार रहने र पुरातत्व विभागले पनि यसबारे सरोकार देखाउने जानकारी दिए । बुद्धको जीवन कालमा नै चैत्य बनाउने परम्पराको थालनी भइसकेको प्रसंग उठाउँदै सम्राट् अशोकले चौरासी हजार वटा चैत्य बनाउने लक्ष्य राखेर चैत्य बनाउन थालेपछि चैत्य निर्माणमा ब्यापकता आएको बताए । सो अवसरमा मोहरिया टोलको बौद्ध चैत्यको संरक्षणमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै तुमलादेवी बुद्धाचार्यलाई दोसल्ला र ताम्रपत्र बाट सम्मान गरिएको थियो । कार्यक्रममा दायक सभा धर्मशीला बुद्ध विहारका अध्यक्ष कृष्णमान गुभाजू, सद्धर्म सभा धर्म संघ बुद्ध विहारका अध्यक्ष भरतराज शाक्य र मोहरिया सिंहनाथ टोल विकास संस्थाका अध्यक्ष दुर्गामान बुद्धाचार्यले बोलेका थिए । चैत्य स्थापनाको सय वर्ष पुरा भएको उपलक्षमा मूल आचार्य प्रा.डा. नरेशमान बज्राचार्यको नेतृत्वमा काठमाडांैबाट आएका अन्य चार जना गुरुजू, दुई जना गुरुमा लगायत पोखराका गुरुजू र आजूहरुको सक्रियतामा विहान ७ बजे देखि मध्यान्न १२ बजे सम्म चैत्यको सम्मुखमा सहश्राहुति होम एवम् सप्तविद्यानुत्तर पूजा सम्पन्न भएको थियो । बौद्ध चैत्य सत्वार्षिकी समितिका संयोजक राकेशमान बुद्धाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य पुर्णमान बुद्धाचार्यले स्वागत र विक्रम बुद्धाचार्यले कार्यक्रम संचालन गरेका थिए ।




Post a Comment

 
Top