0
वासुदेव पौडेल
भूकम्प र नाकाबन्दीका कारण लामो समय मारमा परेका पोखरा क्षेत्रमा सञ्चालित उद्योग अझै पूर्ववत् अवस्थामा फर्कन सकेका छैनन् । उद्योगका लागि आवश्यक इन्धन तथा कच्चा पदार्थ सहज बन्दै गए पनि विगतमा परेका प्रभावका कारण भूकम्पअघिको अवस्थाजस्तै बजार लिन अझै पनि नसकिएको उद्योग व्यवसायी बताउँछन् । भूकम्प र नाकाबन्दीको मारसँगै लगभग डेढ महिना उद्योग बन्द गर्नुपरेको र कच्चा पदार्थका साथै इन्धनको चरम अभाव भए पछि बजारमा मागअनुसारको आपूर्तिसमेत गर्न नसकेको उद्योग व्यवसायीको भनाइ छ । पोखरामा विगत लामो समयदेखि सञ्चालनमा आएको हिमश्री फुड्स प्रालिका उत्पादन प्रमुख लक्ष्मण गौचन भूकम्प र नाकाबन्दीपछि केही समययता उद्योग सञ्चालन सहज बन्दै गए पनि अझै पूर्ववत् अवस्थामा फर्काउन नसकिएको बताउछन् । भूकम्प र नाकाबन्दीले पारेको असर केही मात्रामा अझै कायम छ,”उनले भने–“विगतमा परेको असरको प्रभावका कारण पूर्ववत् अवस्थामा अझै पुग्न सकिएको छैन, अझै १० प्रतिशत प्रभाव रहेको छ ।” प्रालिका तर्फबाट रारा, आहा, फेवा, रुपा, एवन जस्ता विभिन्न खाद्यवस्तुको उत्पादन भइरहेको उनले जानकारी दिए । गौचनजस्तै फिस्टेल डेरी बजार अधिकृत विजय सापकोटा नाकाबन्दी अघिको अवस्था उद्योग व्यवसायमा अझै पनि आइनसकेको तर्क गर्छन् । नाकाबन्दी अघि दैनिक आठ हजार लिटर दूध बजारमा पठाउने गरिएकामा हाल ६ हजार ५०० लिटर दूध मात्र पठाउने गरिएको छ । नाकाबन्दीका अवस्थामा भने पाँच हजार लिटर दूध दैनिक बजारमा पठाइएको उनको भनाइ छ । हामीले दूध, दही, घ्यू, पनिर, आइसक्रिमजस्ता विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्ने गरेका छौँ,”उनले भने–“ विगतमा उत्पादनको मात्रा घट्नु, माग अनुसारको आपूर्ति गर्न नसकिनु जस्ता धेरै कुराले उद्योग व्यवसायलाई प्रत्यक्ष प्रभाव पारेका कारण अझै पूर्ववत् अवस्थामा फर्काउन सकिएको छैन ।” पोखरा फुड्स प्रालिका नायब महाप्रबन्धक अमित थापा भूकम्प र नाकाबन्दीको प्रभावमा परेको उद्योग व्यवसाय विस्तारै पूर्ववत् अवस्थामा फर्किन लागेको बताउछन्। “उत्पादन कम हुनु, मागअनुसार आपूर्ति गर्न नसक्नु जस्ता कुराले बजारमा पारेको प्रभावका कारण त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन समस्या भएको हो,”थापाले भने–“अब विस्तारै पूर्ववत् अवस्थामा फर्किने विश्वास लिएका छौँ ।” नाकाबन्दीको असर खाद्यवस्तु उत्पादन गर्नेमा मात्र नभएर अन्य सबै प्रकारका उद्योगमा परेको छ । कालीगण्डकी अक्सिजन ग्यास प्रालिका कार्यकारी निर्देशक माधव बस्ताकोटी विगतमा नराम्रोसँग खस्केको व्यापार विस्तारै पूर्ववत् अवस्थामा फर्किन लागेको बताउछन् । आफूहरूले उत्पादन गर्ने अक्सिजन अस्पतालमा ३० प्रतिशत र अन्य मेटल कम्पनी तथा हाइड्रोपावरहरूमा ७० प्रतिशत खपत हुने गरेको बताउँदै उनले नाकाबन्दीको समयमा उद्योग व्यवसाय प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर आफूहरूले बेहोर्नु परेको स्पष्ट पारे । “नाकाबन्दीका कारण कात्तिक÷मङ्सिरको समयमा निकै गाह्रो महसुस भए पनि पछिल्लो समयमा बजारका लागि भने हामीलाई खासै समस्या छैन,” वस्ताकोटीले थपे–“भूकम्प र नाकाबन्दीले पारेको असर विस्तारै न्यून हुँदै गएको छ ।”
चौबिसैँ घन्टा बत्ती भएका अवस्थामा कम्पनीले प्रतिमहिना १० हजार सिलिन्डर अक्सिजन उत्पादन गर्नसक्ने भए पनि हाल प्रतिमहिना चार हजार सिलिन्डर उत्पादन गरिरहेको बताइएको छ । पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग विस्तारै पूर्ववत् अवस्थामा फर्किन लागेको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र प्रबन्धक नेपालभूषण वैद्यले बताए । विसं २०३१ असोजमा स्थापित पोखराको औद्योगिक क्षेत्रभित्र कुल ८५ वटा उद्योग रहेकोमा हाल ७१ वटा चालु अवस्थामा, निर्माणाधीन छ वटा र बन्द उद्योग आठ वटा छन् । औद्योगिक क्षेत्रमा रु दुई अर्ब तीन करोड निजी उद्योगले लगानी गरिसकेका छन् भने गत वर्षको तथ्याङ्कअनुसार एक हजार ९ सय ८३ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।







Post a Comment

 
Top