अरुण बराल
प्रचण्ड र बादल नेतृत्वका माओवादीवीच पार्टी एकता भइरहँदा बबरमहल आसपास गाडी र मानिसहरुको खचाखच भीड थियो । उत्साह लिएर कार्यक्रममा भाग लिन आएका माओवादी कार्यकर्तामा उत्साहसँगै उत्सुकता पनि थियो । पत्रकारलाई देख्नेवित्तिकै एकजना कार्यकर्ताले सोधिहाले–तपाईको विचारमा यो पार्टी एकताले अब के असर पार्ला ? पार्टी एकता घोषणा कार्यक्रममा सहभागी केही कार्यकर्ताले ६९९ सदस्यीय जम्बो कमिटीप्रति असन्तोष जनाएको सुनियो । उनीहरु भन्दै थिए–‘मणि थापासँग कति नेता होलान् ? पार्टीको नाम भन्न सक्ने तीनजना छन् रे, तर अब ती सबैजना पोलिटब्यूरो सदस्य बन्ने भए । मात्रिका यादवको पनि त्यस्तै हो । चियापसल आसपास भेटिएका एमाओवादी कार्यकर्ताहरु मणि थापा, मात्रिका यादव र बादल समूहलाई हियाएर बोलिरहेका थिए । पार्टी फुटाएर उनीहरुले गल्ती गरेको र आज पार्टीमा विलय हुन बाध्य भएको उनीहरुको बुझाइ थियो । पार्टी एकता भएकोमा उनीहरु खुशी त देखिन्थे, तर पार्टी छाडेर जानेहरुलाई ६९९ सदस्यीय जम्बो टीममा समेट्ने निर्णयप्रति भने रोष देखिन्थ्यो । एमाओवादी नेता राम कार्कीले शायद ठीकै भनेका हुन्( ‘हामी फुटेर कमजोर भएका हैनौं, कमजोर भएर फुटेका हौं । प्रणाली नबनाई विवेकका आधारमा मात्रै चल्न थाल्यो भने त पार्टी बेलुन भएर फुट्छ । अहिले पार्टी हड्डीबाट छुट्टएिको मांसपेशीजस्तो छ । कम्युनिष्ट पार्टी त यसरी चल्दैन, एकदमै इन्ट्याक्ट रहनुपर्छ ।’
एक पाइला अगाडि, दुई पाइला पछाडि
लेनिनले प्रयोग गरेको शब्द हो– एक पाइला अगाडि, दुई पाइला पछाडि । अहिलेको माओवादी एकतालाई यसो भन्न सकिन्छ–यो दुई पाइला पछाडि गएपछि एक पाइला अगाडि सारिएको कदम हो । माओवादी एकता आफैंमा कुनै नयाँ उपलब्धि होइन, विगतमा भएको गल्ती सच्याइएको मात्रै हो । तर, गल्ती सच्याइए पनि गल्तीका कारण पुगेको क्षति भने पूर्णरुपमा परिपूरण हुन सकेको छैन । त्यसैले यो कदमले दुई पाइला पछाडिको क्षति परिपूरण गर्न बाँकी नै छ । एमाओवादी पार्टीमा आएको विभाजनका कारण पहिलो दल बनेको पार्टी तेस्रोमा खुम्चियो । फुटपछि धेरै कार्यकर्ताहरु पलायन भए । कति अरबको खाडीमा पुगेका छन् । देशमै भएका कार्यकर्तामा पनि निराशा र कुण्ठा बढेको छ । पार्टी फुटको फाइदा उठाउँदै कांग्रेस र एमालेले आफूूलाई मजबुद पारेका छन् । माओवादी नेताहरुप्रति जनताको विश्वास र भरोसा गुमेको छ । यस्तो बेलामा ६९९ टाउकाहरुको एकताको घोषणा हुँदैमा माओवादीको पुनरुत्थान विगतकै तहमा हुन निकै गाह्रो छ । दोस्रो समस्या भनेको माओवादीभित्र पदीय झगडा र गुटबन्दी केन्द्रदेखि स्थानीय तहसम्मै छ । अहिले भएको पार्टी एकता गुटबन्दीको एकीकरण पनि हो । यो एकीकरणले गुटबन्दी घटाउने नभई बढाउने काम गरेको छ । अब माओवादी पार्टी गुटहरुको महासंघ बन्न पुगेको छ । यसले पार्टीलाई दिशाविहीन र कमजोर बनाउने खतरा बढाएको छ । तेस्रो, विचार र कार्य्दिशाको हिसाबले पनि माओवादीभित्र ठूलो अन्तरविरोध छ । सरकारमा सहभागी केही माओवादी मन्त्रीहरु घुस र कमिसनका लिप्त रहेको चर्चा छ । घुस नखाने मन्त्रीहरु पनि प्रभावकारी भूमिकामा प्रस्तुत हुन सकेका छैनन् । बादल, मणि थापा र मात्रिका यादवहरु पार्टीलाई यही अवस्थामा सरकारमा राखिरहन र एमालेको छायाँ बनाउन चाहँदैनन् । मन्त्रीको स्वाद पाएकाहरु भने सहजै सिंहदरबार छाड्न चाहँदैनन् । यो दोहोरो स्वार्थको टकरावमा पार्टीको भावी यात्रा निकै चुनौतिपूर्ण देखिन्छ । सबैभन्दा ठूलो झगडा त अब ६९९ जनामा को–को पर्ने भन्नेमै देखिन्छ । यसमा १ सय सीट पछि आउनेहरुका लागि खाली राखेर तत्काल ५९९ सीटमा भर्ती गर्ने बताइएको छ । पार्टीभित्र उपाध्यक्षदेखि उप–महासचिव सम्मका पदहरु थप गरिने भएको छ । आवश्यकताका लागि भन्दा पनि व्यक्तिको व्यवस्थापनका लागि यसरी पदहरु सिर्जना गर्न लागिएको छ । तर, जति नै पदहरु बढाए पनि पार्टीभित्र एकमना एकताको सम्भावना कमै देखिन्छ ।
वैद्य, बाबुराम र विप्लवलाई प्रहार
पार्टी एकतालाई महान उपलब्धिका रुपमा चर्चा गरिरहेका बेला भावावेशमा आएर माओवादी केन्द्रका नेताहरुले अब केही दिन मोहन वैद्य, बाबुुराम भट्टराई र विप्लवलाई चर्को दबाव पुग्ने सम्भावना छ । विप्लव समूहबाट तिलक परियारलगायतका नेताहरु मूलघरमा फर्किएको अवस्था छ । अब यही होहल्लामै अरुलाई पनि तान्ने र विप्लवलाई रुख्याउने थप काम हुन सक्छ । अन्तिममा विप्लव पनि गलेर मूलघरमै फर्किन्छन् भन्ने विश्वास कतिपय नेताहरुमा छ ।
त्यसैगरी डा. बाबुराम भट्टराई समूहमा लागेका नेता कार्यकर्ताहरु पनि ठूलो घरमा फर्किने आशा नेताहरुले गर्न थालेका छन् । नयाँ शक्तिमा लाग्ने क्रम रोकिने र उतातिरको भेल आफूतिर फर्किने प्रचण्ड र बादल समूहका नेताहरुको अनुमान हुन सक्छ । पार्टी एकतामा सामेल नभएका मोहन वैद्य पनि एक्लै धेरै समय बस्न नसक्ने विश्लेषण मूलधारका माओवादीहरुले गरेका छन् । प्रचण्ड र बादल समूहभित्र भावना र उत्तेजना बढी देखिए पनि वैचारिक राजनीतिक प्रष्टता र कार्यदिशा भने स्पष्ट देखिँदैन । एमाले भन्दा माओवादी कुन अर्थमा फरक छ भनेर पुष्ट्याइँ गर्ने अवस्थामा प्रचण्ड नेतृत्वको पार्टी अहिलेसम्म उभिन सकेको छैन । पार्टी एकता पनि ढोल बजाएर गरिएको छ, तर राजनीतिक कार्यनीतिक स्पष्टता देखिँदैन । माओवादी नेता मोहन वैद्य जडसूत्रवादी एवं अव्यवहारिक अवश्यै हुन्, तर उनी राजनीतिक अन्तरविरोधको आँकलन र विश्लेषण गर्न नसक्ने नेताचाँहि होइनन् । अब प्रचण्डले नेतृत्व गरेको माओवादीको भविश्य के हुन्छ भन्ने कुरा मोहन वैद्यले पक्कै बुझेका छन् ।
अहिले कार्की प्यालेसमा देखिएको तामझामबाटै हौसिने र सतहकै घटनालाई देखेर बहकिने नेताका रुपमा मोहन वैद्यलाई कसैले बुझेको छ भने त्यो सही बुझाइ होइन । सम्झवतः वैद्यले प्रचण्ड नेतृत्वको माओवादीको भविश्य त्यति गतिलो देखेनन् र यही कारणले उनी एकता प्रक्रियामा सहभागी भएनन् । मोहन वैद्यजस्तै डा. बाबुराम भट्टराई पनि कमजोर नेता होइनन् । पार्टी एकताबाट रौसिएका केही कार्यकर्ताले अब बाबुरामले पश्चाताप गर्ने र पार्टीमा र्फकने अनुमान लगाए पनि डा. भट्टराई अलि परसम्म हेर्न सक्ने विश्लेषक हुन् । उनलाई पनि कमजोर आँकेर प्रचण्ड समूहले बाबुराम, वैद्य र विप्लवलाई फिका बनाउँछन् भनेर विश्लेषण गरिहाल्न गाह्रो छ । नेत्रविक्रम चन्द विप्लव महत्वाकांक्षी नेता भएकाले उनीचाँहि मूलधारमा र्फकन सक्ने कतिपयको अनुमान देखिन्छ । मोहन वैद्यभन्दा फरक देखिन र क्रान्ति गर्नका लागि पार्टी फुटाए पनि विप्लवले केही गर्न सकेका छैनन् । बरु क्रान्तिका नाममा उनको समूहका धेरै नेताहरु आर्थिक संकलनमा लागेको गुनासो सुनिने गरेको छ । के उसोभए अब विप्लव, वैद्य र बाबुराम भट्टराई एक ठाउँमा आउलान् त ? यस्तो भयो भने त्यो असैद्धान्तिक एकता हुनेछ । किनभने लाइनको हिसाबले यी तीन नेताहरु फरक धरातलमा उभिएका छन् ।
जिऊज्यानको हिसाबले प्रचण्ड नेतृत्वको माओवादी मूलधार जस्तो देखिए पनि उसमा देखिएको एमालेपरस्तता मुख्य समस्या हो । यो हिसाबमा बाबुराम नेतृत्वको नयाँ शक्ति प्रचण्डका लागि अझै पनि चुनौती बन्ने खतरा छ । बाबुराम समूहले जेठको अन्तिममा राष्ट्रिय भेलाको तयारी गरिरहेको छ, त्यतिबेलासम्म सम्भवतः कार्की पार्टी प्यालेसको तरंग सेलाइसकेको हुनेछ र पदको लुछाचुँडी सुरु भइसकेको हुनेछ ।
अन्त्यमा, माओवादीहरु एक भएका र जुटेका बेलामा उनीहरुभित्रको चुनौतीबारे चर्चा गर्नु भनेको हनिमुनको साँझ मृत्युका विषयमा प्रवचन दिएजस्तै असान्दर्भिक हुन सक्छ । दलहरु चोइटिनुको साटो एकतावद्ध हुनु सकारात्मक विषय नै हो । तर, जीवनको सत्य त हो पनि हो कि हामीले शरीरमा देखिनसक्ने रोगहरुका बारेमा चर्चा गर्नैपर्छ र त्यसबाट जोगिनका लागि सचेत गराउनैपर्छ ।
Post a Comment