0
राजाराम पौडेल÷गोल्डेन
नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रको मुख्य आकर्षण मानिने लोकदोहोरी गीत प्रतियोगिता आयोजना हुने क्रममा कमि आएको छ । त्यसो त यदाकदा फाट्टफुट्ट रुपमा आयोजना हुने यस्ता प्रतियोगितामा सहभागी हुने टिमको संख्या समेत घटेको छ । प्रतियोगिता आयोजना गर्दा कार्यक्रम खर्च बढ्ने तथा सोचे अनुसारको सहभागिता नदेखिएकोले आयोजकहरुमा लोक दोहोरी प्रतियोगिता गर्ने साहसमा कमी आएको यसै क्षेत्रमा स्थापित बनिसकेका कलाकारको भनाइ छ । आफ्नो प्रतिभा प्रत्यक्ष रुपमा दर्शक माझ प्रस्तुत गर्दै दर्शकको मायाका अलावा आफ्नो प्रस्तुतिमा निखारता प्रदान गर्ने लक्ष्यका साथ अधिकांश पुराना कलाकारको यो क्षेत्रमा आगमन भएको थियो । तर पछिल्लो पुस्तामा प्रविधिको प्रयोगले बनाइदिएको सहजताको कारण प्रतिस्पर्धाबाट आफ्नो प्रस्तुतिमा निखारता प्रदान गर्नू भन्दा एक दुई गीत रेकर्ड गरी यो क्षेत्रमा हालीमुहाली गरिरहेका कलाकारको नजरमा परि स्थापित हुने गलत सोचको विकास हुँदा यस्तो अवस्था आएको हो भन्नेहरुको संख्या समेत बाक्लो देखिन्छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने पहिला–पहिला लोकदोहोरी प्रतियोगिताका ठूला–ठूला कार्यक्रममा भाग नलिई कलाकार बन्न नसकिने हुँदा प्रतियोगितामा भाग लिनेको संख्या उल्लेख्य हुने गरेको बताउँछन् । हाल आयोजना हुने प्रतियोगितामा निश्चित तोकिएकाले भाग लिने र तिनीहरुले नै जित्ने हुदाँ नयाँ प्रतिभा प्रतियोगिता मार्फत आउन नसकेको उनले बताए । ‘खेलमा सहभागी नहँुदा खेलाडी उत्पादन नभए जस्तै प्रतियोगितामा भाग नलिदा नयाँ प्रतिभाको आगमन हुन सक्दैन’–उनले भने । ‘गीतको मर्म बुझ्ने कलाकार र दर्शक दुवै नभएकोले ठाडा प्रकृतिका गीत केबल मनोरञ्जनका लागि गाउने प्रचलन बढेको छ’–उनले गुनासो गरे ।यता राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य तारापती सुवेदी लोकदोहोरी गीत प्रतियोगितामा भाग लिनेहरुको संख्या घटेको स्वीकार गर्दछन् । नयाँ कलाकारको आगमन दोहोरी प्रतियोगितामा हुने तर यसको चाम हाल घटेकोले प्रतियोगिताबाट खारिएका कलाकार यो क्षेत्रमा आउने क्रममा कमी आएको उनी दावी गर्दछन् । पहिला–पहिला प्रतियोगिता छ भन्ने सुनेपछि भाग लिनेको भिड लाग्थ्यो तर अहिले फोन गरेर बोलाउँदा पनि आउँदैनन्’–उनले गुनासो गरे । स्वर नभएपनि प्रविधिको फाइदा लिंदै एल्बममा लगानी गरेर आउनेक्रम बढेकोले कलाकारमा अहंमता बढ्दा यस्तो अवस्था आएको उनले बताए । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल प्रतियोगितामा आएको कमिलाई ध्यान दिंदै प्रतिष्ठानको पहलमा लोकदोहोरी प्रतियोगिता राख्ने गरेको बताउँछन् । लोक दोहोरी कलाकार सीता केसी यस्तो अवस्था आउनुमा अग्रज कलाकारको हात केहि भएपनि नव कलाकारले जोखिम मोल्न नचाहेकोले यस्तो अवस्था आएको बताउँछिन् । ‘नयाँ कलाकार जोखिम लिन चाहन्नन्, एउटा गीत त्यो पनि अरुको लगानीमा गाएर राष्ट्रिय कलाकार बन्न खोज्ने प्रवृति यहाँ छ’–उनले भनिन् । स्थापित भैसकेको कलाकारले समेत दोहोरी प्रतियोगिताका लागि माहोल बनाउन नसकेको दुःखेसो उनको छ । लोकदोहोरी कलाकार राजेन्द्र सुवेदी भने लोकदोहोरी क्षेत्रमा राजनीति हावी हुँदा समस्या परेको बताउँछन् । ‘खर्चको बिषयमा स्वयं कलाकरमा नै सबै मिलेर बाँडेर खाउ भन्ने भावना छैन ट्रयाक बजाएर काम चलाउँदा वाद्यवादक बनेर कला क्षेत्रमा योगदान दिनेहरु को संख्या घट्दो छ’–उनले भने । संस्कृतिको संरक्षण भन्दा व्यवसायिक बन्न खोज्नु अर्को कारण रहेको उनले बताए । अर्की लोकदोहोरी गायिका मधु चापागाइँ एउटा एल्बम बजारमा ल्याएपछि आफूलाई वरिष्ठ सम्झेर भाग नलिनु कलाकारकै कमजोरी भएको बताउँछिन् । ‘दोहोरी प्रतियोगितामा भाग लिन्न भन्ने हामी कलाकारकै मुख्य कमजोरी हो, त्यसपछि आयोजकको हो’–उनले भनिन् । लोकदोहोरी गायक राजन सुवेदी ठेकेदारीले गर्दा यस्तो भएको दावी गर्दछन् । ‘लोकदोहोरी गीतको परिचय गाएर त के कापीमा लेख्न नजान्नेहरु निर्णायक रे’, आक्रोशित हुँदै उनले भने–‘पाँच लाखमा ठेक्का लिएर एक लाख पचास हजारमा खर्च सकेर तीन लाख पचास हजार झ्वाम पारेपछि कसरी हुन्छ हित ?’ राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका सचिव सुरेन्द्र गुरुङका अनुसार प्रतियोगिता राख्दा कार्यक्रम खर्चिलो हुने भएकोले प्रतियोगिता हुनेक्रम घटेको छ । ‘आज भोलि प्रतियोगितामा सहभागी हुन कोहि पनि ईच्छुक देखिंदैनन्, देखिए पनि केटा ले केटी साथी पाउँदैनन्’–नले भने । जताततै फोन गरेर कलाकार जम्मा पार्दा समेत १० टीम भन्दा नहुनेको र फोन गरेर कन्र्पmम गरेका कलाकार नआउने गरेको अनुभव आफूसँग भएको उनले बताए । ‘कुनै कार्यक्रममा नव प्रतिभाहरुको स्वर सुन्दा मन छुन्छ, कसै ले त धुरुकै रुवाउँछन, यस्ता लुकेर रहेको प्रतिभा धेरै छन्,’ उनले थपे–‘अहिलेसम्म भएका कमि कमजोरीलाई समीक्षा गरि राम्रो योजना बनाएर लाग्दा राम्रो हुन्छ। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका सदस्य राजन कार्की पनि गुरुङको भनाइमा सहमत छन् । अर्का कलाकार जय कुमार परियार नेपाली लोक संगीत क्षेत्रलाई मजाकको रुपले लिइएकाले  यो स्थिति सिर्जना भएको बताउँछन् । ‘पहिलाका लोक गीत संगीतमा रस हुने, सरलता हुने र सन्देश समेत दिन्थे । अहिले लोक गीतमा मादल, खैजडी, सारंगी, सनाई, ढोलकी बज्नै छाड्यो अहिले त डिस्को हो कि पप हो कि लोक गीत हो कि चिन्नै गाह्रो छ । केही भन्यो भने समय परिवर्तन भयो भनेर टार्छन’–उनले गुनासो गरे  । विगत १० वर्षदेखि लोकदोहोरी क्षेत्रमा संर्घषरत कलाकार पदम थापा मगर लोकदोहोरी प्रतियोगिताको आयोजना गर्दा खर्च बढी लाग्ने भएकोले प्रतियोगितामा कमी आएको दावी गर्दछन्् । ‘एउटा प्रतियोगिता गर्नलाई ठूलो खर्च हुन्छ, फेरि महोत्सव अचेल जसले नि गर्न थालेको छ । खर्च कम गर्न खोज्छ । त्यो हुनाले पनि प्रतियोगिता कम भएको हो’–उनले भने । लोकदोहोरी कलाकार तारानाथ आचार्यका अनुसार प्रतियोगिता राख्दा कलाकारलाई भत्ता, बजाउने वाद्यवाधकहरुको खर्च धेरै हुन्छ भनेर प्रतियोगिता आयोजना गर्ने क्रम घटेको हो । आयोजक र भाग लिने सहभागी र कार्यक्रम संयोजक सबैको कमजोरीको कारण यस्तो अवस्था आएको उनले बताए। सञ्चारकर्मी समेत रहेका कलाकार सन्तोष बस्यालले भैरहेका प्रतियोगितामा निष्पक्षताको कमि, आफन्तको हाली–मुहाली अनि साझेदारी परिस्थितिले लोक संस्कृतिमा नै धक्का पुग्न गएको दावी गरे । यसका लागि सबै मिलेर प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । लोकदोहोरी गायक केशव घिमिरे यस्तो अवस्था आउनुमा सबैको गल्ती, कमजोरी रहेको बताउँछन् । उनले निर्णायक पनि दक्ष नहुने राम्रो भन्दा पनि हाम्रो हेर्ने चलन अनि आयोजकहरु खर्च धेरै लाग्ने हुनाले यस्ता कार्यक्रममा रुचि नदेखाउने भएकाले पनि आज भोलि दोहोरी कार्यक्रममा कलाकारको सहभागिता कम हँुदै गएको बताए। लोकदोहोरी गायक निश्चल दवाडी प्रतियोगिता व्यवस्थित ढंगले सञ्चालन नहुँदा सहभागिता घटेको बताउँछन् । ‘पन्ध्र सय खर्च गरेर जाँदा मुस्किलले एक हजार भत्ता दिन्छन्, कलाकार पनि केहि सिक्छु भन्ने सोच नराखी प्रतियोगितामा हारिन्छ किन जाने भन्ने गर्छन्’–उनले भने । लोक दोहोरी कलाकार करण तामाङ नयाँ कलाकारलाई पुराना कलाकारले उचित सल्लाह सुझाव नदिँदा यस्तो भएको दावी गर्दछन् । प्रतियोगितामा स्वच्छ प्रतिष्पर्धा नहुने अर्का एक कलाकारको आरोप छ । ‘यहाँ महिला कलाकारको आवाज भन्दा स्कीन हेरिन्छ । दोहोरी गीत प्रतियोगितामा पनि स्वच्छ प्रतिष्पर्धा हुदैन । आजकाल प्रतियोगितामा टीम घट्दै जानुको कारण यो पनि हो’–उनले भने । त्यसैले यो क्षेत्रमा उत्कृष्ट कलाकारको जन्म गराउने हो भने यो क्षेत्रमा क्रियाशिल संघ–संस्था र स्थापित कलाकारले प्रतियोगिता आयोजन गर्न सबैलाई झक्झकाउनु पर्ने बेला आएको छ । नयाँ कलाकारले प्रतियोगितामार्फत जोखिम मोल्न नचाहनु र पुराना कलाकारले प्रतियोगिता सञ्चालन गर्ने वातावरण नबनाइदिएको कारण लोकदोहोरी क्षेत्र धराषयी बन्दै गएको स्रोत बताउँछ ।


Post a Comment

 
Top