0
गोल्डेन न्यूज संवाददाता
पोखरामा वैशाख २९ देखि संचालन भइरहेको वृहत महायोग साधना शिविर आइतबार सकिंदैछ । पाँच दिनसम्म संचालन भएको शिविरमा पोखरा आसपासका क्षेत्रबाट ठूलो संख्यामा साधकहरु सहभागी छन् । नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा पोखरा, जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा शाखा र नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले संयुक्तरुपमा आयोजना गरेको शिविरमा महायोगी सिद्धबाबा श्रीकृष्ण दासजी महाराजले प्रत्यक्ष अनुभूत हुनेगरि महायोग साधना गराइरहेको कार्यक्रम संयोजक धर्मराज बराल ‘भोला’ ले गोल्डेन न्यूज दैनिकलाई बताए । हरेक दिन बिहान महायोग साधना अर्थात शक्तिपात महादीक्षा र बेलुका सत्संग कार्यक्रम संचालन भइरहेको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुीले बताए । महायोग साधना गरिरहेकाहरु मध्ये अधिकांशमा साधनाको प्रभाव देखिएको बताइन्छ । महायोगी सिद्धबाबा कृष्णदासले अरु दिनको तुलनामा साधना प्रभावकारी बन्दै गएको र चौथो दिनको साधनामा करिब ८० प्रतिशत साधकहरुमा कुनै न कुनै किसिमको क्रिया उत्पन्न भएको आफूले पाएको जानकारी दिए । महायोग साधनाका क्रममा सद्गुरु तथा महायोगी सिद्धबाबाले साधनाका लागि अपनाउनुपर्ने विधि पूर्ण रुपमा अपनाउने साधकहरुमा त्यस्तो क्रिया देखिने जानकारी दिए । शिविरमा सहभागी हुन कुनै शुल्क नलिइएको र रामानान्दचार्य सेवापीठका अध्यक्ष मदन शर्माले बताए । निःशुल्क रुपमा शिविरको आयोजना गरिएको र केही दिनअघिमात्रै पोखरामा ९ दिने भूसमाधिमा बसेका महायोगी सिद्धबाबा कृष्णदास आफैले प्रशिक्षण र सत्संग गराउने भएकोले बिहान र बेलुका दुवै कार्यक्रममा साधकहरुको चाप निकै बढेको छ । बिहानको शिविरमा प्रदर्शनी केन्द्रको डोममा साधकहरु खचाखच हुन्छन् भने केही साधकहरु बाहिरै चौरमा बस्न बाध्य हुन्छन् ।  







Post a Comment

 
Top