0
भूकम्पको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण कार्य र पीडितका लागि आवासको व्यवस्था गर्न नसकेको सरकारले विहिबार दातृ निकायसमक्ष अर्को योजना प्रस्तुत गरेको छ । सहयोगको प्रतिबद्धता जनाउनेले पनि भनेअनुरुप रकम नदिइरहेका बेला सरकारले ‘भूकम्प पश्चातको पुननिर्माण सम्बन्धी पञ्चवर्षिय योजनाको खाका’ दातासमक्ष प्रस्तुत गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा दातृ निकायका प्रतिनिधिको उपिस्थितीमा प्रधानमन्त्री केपी शर्मा ओलीले खाका सार्वजनिक गरेका हुन् । दाता सम्मेलनका क्रममा विभिन्न मुलुक र अन्तर्राष्ट्रिय दातृ निकायले करिब चार खर्ब १० अर्ब रुपैयाँ दिने प्रतिबद्धता जनाएका थिए । यसमध्ये गत चैतसम्म जम्मा एक खर्ब २० अर्ब रुपैयाँ रकम मात्र आउने निश्चित भएको छ । जुन प्रतिबद्धताको ३० प्रतिशत मात्र हो । दाताले प्रतिबद्धता जनाएको रकममध्ये २ खर्ब ६० अर्ब विभिन्न परियोजनाका लागि दिने भनिएको पुरानै रकम पुननिर्माणमा रुपान्तरण गरेका हुन् । पञ्चवर्षिय खाका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुननिर्माणका लागि दातृ निकायले थप सहयोग गर्ने अपेक्षा गरिएको बताए । ‘हामीले विभिन्न दातृ निकायबाट थप सहयोग आउने अपेक्षा गरेका छौ,’ कार्यक्रममा बोल्दै उनले भने । गत वर्ष सरकारले ‘विपद् पछिको आवश्यकता पहिचान’ सार्वजनिक गरेको थियो । तत्काल विपद् पछिको आवश्यकतालाई त्यसले पहिचान गरेपनि विहिबार सार्वजनिक गरिएको खाकाले भने पुनर्निमाणका लागि मार्गदर्शन गर्ने सरकारको दाबी छ । नेपालस्थित अधिकांस राजदुत, नियोग प्रमुख र अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधिलाई बोलाइएको कार्यक्रममा बोल्दै पुननिर्माण प्राधिकरणकन प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले उनीहरुलाई थप सहयोग गर्न आग्रह गरे । ‘पहिले हामीले पुननिर्माणका लागि ६ खर्ब ६९ अर्ब लाग्ने अपेक्षा गरेका थियौ, तर अध्ययन पछि लागत अपुग हुने देखियो,’ दातृ निकायका अधिकारी लाई सम्बोधन गर्दै उनले भने, ‘त्यसलाई पूर्ति गर्न तपाइहरुले सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।’ उनले अब लागत बढेर आठ खर्ब ३८ अर्ब रुपैयाँ पुग्ने भएकाले रकम अपुग हुने बताए । ज्ञवालीले खाकाले नीतिगत अवधकारणा, कार्यान्वयन र आर्थिक व्यवस्थापनका लागि आवश्यक मार्गदर्शन गर्ने भएकाले अब पुनर्निमाण प्रकृया द्रुत गतिमा अघि बढ्ने दाबी गरे । उनले सरकारी, गैर सरकारी निकाय मिलेर पुननिर्माण कार्य अघि बढाउने जानकारी दिए । प्रतिबद्धता जाहेर गरिएको रकम आगामी वर्षमा आउने अपेक्षा गरिएको ज्ञवालीले बताए । कार्यक्रममा दातृ निकायका तर्फबाट बोल्दै विश्व बैंकका नेपाल म्यानेजर ताकुया कामताले भूकम्पका बेलामा नेपालीप्रति जनाएजस्तै ऐक्यबद्धता पुननिर्माण मा पनि गर्ने बताए । उनले पाँच बर्षिय खाका आउनु प्रशंसनिय भएको भन्दै यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए । ‘यसको कार्यान्वयन गर्ने मुख्य जिम्मेबारी सरकारको हो, हामी पारदर्शिरुपमा यसको कार्यान्वयन हुने अपेक्षा गर्छौं,’ उनले भने । दातृ निकायले खाका कार्यन्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत कामताले जनाए ।   कार्यक्रममा सार्वजनिक गरिएको खाकामा भूकम्प पछिको पुननिर्माणका लागि सरकारले आगामी चारवर्षभित्र पाँच खर्ब ४५ अर्ब रुपैयाँ खर्च गर्ने उल्लेख छ ।







Post a Comment

 
Top